नेपालका सामान चीनतिरै अड्किए, अर्बौं लगानी डुब्ने जोखिम

काठमाडौं, सिन्धुपाल्चोक र त्रिशूली – नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्।

नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत अड्केको हो। चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन। ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।

फाइल फोटो

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपु¥याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो। रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर जान पाउँथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने।

पौडेलका अनुसार चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ। मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन्। त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भित्र्याउँदै आएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा राजेश बर्मार, देवचन्द्र भट्ट र युवराज पुरीले लेखेका छन्।





Comments

comments

39119