भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्ने घलानको निधन

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ।

मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएराति निधन भएको हो। घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ।

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुन्। वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए।

जीवनभर २५ गाडी बोक्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए। उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए।

फाइल फोटो

राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे। थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए। आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए।

एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै आराम गरिरहेका थिए। उनका दुई छोरा र तीन छोरी छन्।

रासस





Comments

comments

39740