भैरहवाभन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ।

अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ।

विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ।

फाइल फोटो

आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सातओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधारमा फिनिसिङको काम जारी छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । विमानस्थलमा जडान हुने ५० प्रतिशतभन्दा बढी उपकरण आइसकेको र बाँकी पनि केही समयभित्रै आइसक्नेछन् । ती सामग्री आएको ६ महीनाभित्रै जडानको काम सकिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन्।





Comments

comments

39925