शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नेपाल सरकार शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघबीच मंगलवार नेपालमा खुला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने सम्वन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो समझदारी पत्रले २०१० मा काठमाडौंमा र २०१२ मा सिडनि अष्ट्रेलियामा भएका पूर्व समझदारीहरुलाई कार्यान्वयनमा ल्याउन मार्ग प्रसस्त गर्ने भएको छ। नेपालमा खुला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने सम्वन्धमा तत्सम्बन्धि कानुनी खाका तयार भईरहेको सन्दर्भमा सो कामलाई प्राथमिकताका साथ अगाडि वढाउने निर्णय भएको छ।

समझदारीका अनुसार नेपाल सरकार मन्त्री परिषदले गठन गरेको नेपाल खुला विश्वविद्यालय पूर्वाधार विकास समिति अन्तर्गत नेपाल सरकार शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र गैरआवासीय नेपाली संघको सहभागितामा एक अधिकार सम्पन्न प्राविधिक एकाई खडा गरिने छ। एकाईले नेपाल सरकार, गैरआवासीय नेपालीहरु र अन्तर्राष्ट्रिय समुदायको पहललाई एकत्रित गरी खुला विश्वविद्यालयको स्थापना र कार्यक्रम सञ्चालनको कार्यलाई सहज र छरितो पारिने छ।

नेपाल सरकार र गैरआवासीय नेपाली संघ दुवैले यस कार्यका लागि आ–आफ्ना तर्फवाट भौतिक र बौद्धिक लगानी गर्ने छन्। समझदारी पत्रले गैर–आवासीय नेपालीहरुको ज्ञान, सिप, अन्वेषण र प्राविधिक पहुँचलाई नेपाल भित्र्याउन सहज पारेको छ।

कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयका तर्फवाट मन्त्री चित्रलेखा यादव, सचिव विश्व प्रकाश पण्डित, प्रवक्ता महाश्रम शर्मा, महानिर्देशक डा. लवदेव अवस्थीलगायतका व्यक्तिहरुको उपस्थिति थियो। गैरआवासीय नेपाली संघका तर्फवाट अध्यक्ष शेष घले, खुला विश्वविद्यालय कार्यदलका अध्यक्ष डा. प्रमोद ढकाल कार्यकारी निर्देशक राजेश शम्शेर राणाको उपस्थिति रहेको थियो।

मंगलवार नै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री डा. राम शरण महतलाई भेटेर खुला विश्वविद्यालय सम्बन्धि ऐनलाई संसदमा पेश गर्न अर्थ मन्त्रालयको सहमतिका लागि भेट वार्ता गर्यो। भेटमा मन्त्री महतले त्यस्तो सहमति प्रदान गरी खुला विश्वविद्यालयको स्थापनालाई सहज पार्ने प्रतिवद्धता प्रकट गरे।





Comments

comments

40