कोरियामा फूल बेचेर नाम र दाम कमाउंदै नेपाली

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम-
सउल, कोरियामा एक नेपाली फूलको ब्यवसायले नाम र दाम दुवै कमाउन सफल भएका छन्। मोरङ्ग ईटहरीका जीवन थापा उक्त व्यवसायबाट कोरियामा नाम र दाम दुवै कमाउन सफल भएका हुन्।

व्यवसाय भिसामा सन २००७ मा कोरिया छिरेका थापालाई सुरुमा कुन व्यवसाय गर्ने भन्ने कुराले सताएको थियो। धरै नेपालीहरूले गर्ने गरेको व्यवसाय गर्न उनले चाहेनन्। थापा भिन्न किसिमको व्यवसाय गर्न चाहन्थे। विकल्पमा फूलको उतपादन र ब्यापारलाई उनले रोजे।

कोरियाको राजधानी सउल भन्दा करीव सय किलोमिटरको दूरीमा रहेको ईल्सान शहरमा दुई हेक्टर जमिन भाडमा लिएर थापाले फूलको उत्पादन सुरु गरे। उत्पादनसँगै बजार कहाँ पाईएला भन्ने चिन्ता पनि कोरियन सरकारी नीतिले उनलाई व्यवस्था गरिदियो। कोरियामा कृषि संबन्धी सहयोगी नीति भएका कारण उनले ती सबै सहयोग सरकारबाट पाउदै गएको थापा बताउछन्।

कोरियामा फूलको उत्पादन व्यवसायमा पहिलो नेपालीका रूपमा चिनिएका थापा अन्य बिदेशीहरुमा दोस्रो स्थानमा रहेका छन्। सफल ब्यवसायीका रूपमा स्थापित थापा कोरियनहरुबीच जीवन महाशय (जीवन आजसि)ले चिनिने गर्छन्। उक्त क्षेत्रको कृषि संबन्धि सबै सरकारी कार्यक्रममा थापाको उपस्थिति रहने गरेको थापाको भनाई छ। सोही क्षेत्रको नगरपालिका र कृषि विभागबाट सम्मान, प्रशंसा पत्र र विभिन्न पुरस्कारहरु थापाले पाईसकेका छन्।

थापाले हाल कोरियन र विदेशी गरी दश जनालाई रोजगार दिदै आएका छन्। मासिक आम्दानी तीनदेखि पांचलाख रुपैयाँसम्म हुने गरेको थापाले बताए। थापाले कोरियाकै अर्को शहर फेन्थेकमा रेष्टुरेण्ट व्यवसाय पनि सञ्चालन गर्दै आएका छन्।

दाम र नामसँगै थापा कोरियामा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन्। आपत् बिपतमा परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था सहितको सेल्टर निर्माणमा थापा जुटेको बताउंछन्। उनले आफ्नै लगानीमा कोरियाको फेन्थेक क्षेत्रमा उक्त सेल्टर निर्माण गर्न लागेका हुन्।





Comments

comments

4055