पोखरा र चितवनका पत्रकारबीच अन्तरक्रिया

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, २७ असार। पोखरा र चितवनका पत्रकारबीच शुक्रबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरा भ्रमणमा आएका चितवनका पत्रकारलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम भएको हो।

भ्रमणमा २७ जना पत्रकार सहभागी थिए। दुई जिल्लाको पत्रकारिता, सञ्चारमाध्यम तथा पत्रकारहरुविच आपसी सम्बन्ध कायम हुनुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका थिए। पत्रकार महासंघ चितवनको नेतृत्वमा पत्रकारको टोली पोखरा आएको थियो। पर्यटनका हिसाबले पोखरा र चितवन देशमा राम्रो ठाउँ भएकाले विकासको लागि पनि पत्रकारले भूमिका खेल्नुपर्नेमा सो अबसरमा औंल्याईएको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्टले मोफसलको मिडिया र पत्रकारको हितमा केन्द्रले सक्दो कार्य गर्ने बताए। उनले पत्रकार महासंघका शाखाहरुविच एकआपसमा राम्रो सम्बन्ध हुनुपर्ने जोड दिए। ‘मोफसलका मिडिया र पत्रकारहरुको अवस्था कमजोर छ’ भट्टले भने, ‘महासंघ केन्द्रले मोफसलको हितमा कार्य गर्ने विश्वास दिलाउदछु।’

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरी पोखरेलले चितवनको पत्रकारिताको अवस्थाको जानकारी दिए। उनले महासंघको भवन निर्माणमा लागिरहेको बताए। चितवनबाट दैनिक पत्रिका ५ वटा, टिभी ६ वटा र एफएम रेडियो १२ वटा सञ्चालनमा रहेको पोखरेलको भनाई थियो। युएनडिपिको सहयोगमा द्धन्द्ध रोकथाम विषयमा चितवनका पत्रकारले पोखरामा दुई दिने तालिम लिएका थिए । उनीहरु शुक्रबार चितवन फर्केका छन्।

प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले पोखराको पत्रकारिताको अवस्थाबारेमा जानकारी दिएका थिए। उनले पोखरामा हाल १ दर्जनभन्दा बढि दैनिक पत्रिका, झण्डै २ दर्जन रेडियो र २ वटा टिभी सञ्चालन भएको बताए । कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरी शर्मा गैरे र पर्यटन व्यवसायी सुन्दर श्रेष्ठले पर्यटन विकासमा पत्रकारिताको ठुलो भुमिका भएको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ कास्कीका कार्याबाहक अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव त्रिभुवन पौडेलले गरेका थिए । सो अबसरमा पत्रकार महासंघ कास्की शाखाको भवन निर्माण लगायतको बिषयमा जानकारी गराईएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

437