‘शहर’ जेठ ३१ देखि, दोस्रो संस्करण निर्माणको घोषणा

गण्डकी खबर / एचकेनेपाल डट कम –
पोखरा, २८ जेठ। फलानो क्रियशनले निर्माण गरेको टि.भी फिल्म ‘शहर’ को दोस्रो संस्करण पनि निर्माण गर्ने घोषणा गरेको छ। बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराइएको हो।

‘शहर’ को पहिलो संस्करण यही जेठ ३१ गते देखि प्रशारण हुदैछ । पत्रकार सम्मेलनमा पहिलो संस्करण प्रशारणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएको छ । पोखराको गण्डकी टेलिभिजन मार्फत हरेक शनिबार राती ९ः४५ बजे साप्ताहिक रुपमा आगामी छ महिना सम्म ‘शहर’ प्रशारण हुनेछ । पोखरामा पनि व्यवसायिक टि.भी फिल्म निर्माण सम्भव भएको बताउँदै ‘शहर’ का लेखक तथा निर्देशक अपिल त्रिपाठीले दोस्रो संस्करण निर्माण गर्ने औपचारीक घोषणा गरेका हुन । निर्देशक त्रिपाठीले भने–‘पोखरामा केही चुनौतिका बाबजुत टि.भी फिल्म निर्माणका थुप्रै संभावना देखेका छौं, त्यसैले ‘शहर’ को दोस्रो संस्करणमा जाने निर्णयमा पुगेका हौ।’

शहरका सामान्य मानिसका कथा भन्ने ‘शहर’ को प्रस्तुतिमा दर्शकले स्थानीयता पाउने निर्माण पक्षको भनाई छ । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक युनाइटेड रेफरेन्स ल्याब्रोरेटरीका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले टि.भी फिल्म ‘शहर’ ले शहरका मानिसको जीवनशैली कलात्मक ढंगले प्रस्तुत गर्ने बताउँदै फलानो क्रियशनसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। ‘शहर’ टेलिभिजनका दर्शकका लागी राम्रो खुराक बन्ने उनको भनाई थियो । सोही पत्रकार सम्मेलन मार्फत ‘शहर’ को प्रोमो र शीर्ष गीतको औपचारीक सार्वजनिक गरीएको थियो।

कार्यक्रममा बोल्दै संचारकर्मी संजय मल्लले प्रोमो र गित राम्रो बनेको बताउदै बिषयबस्तु र प्रस्तुतिका हिसाबले ‘शहर’ फरक रहेको बताए। गण्डकी मिडिया हाउसका प्रबन्धक राज शर्माले ‘शहर’ मनोरञ्जनका साथै नागरिक सचेतनाको लागी समेत सहयोगी हुने धारणा राखे। कार्यक्रममा कलाकारहरु निरज पन्त, दीपक परियार, रामचन्द्र राई लगायतले बोलेका थिए।

गण्डकी टेलिभिजनसंगको सहकार्यमा निर्माण भएको टि.भी फिल्म ‘शहर’ मा सरोज अधिकारीको छायाङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ। ‘शहर’ मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, दीपक परियार, सन्तोष परियार, रामचन्द्र राई, सजीना क्षेत्री, ध्रुव थापा, आकाश दाहाल, संजिता खनाल, निरज कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।





Comments

comments

44