महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, फागुन ५- महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपालभर मनाइँदैछ।

हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ।

शिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिमा भक्तजनहरुको ठूलो घुँइचो लागेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिविर-कमान्ड पोस्ट स्थापना गरेको छ। पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट र पिकेड/कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ।

भक्तजनको सुरक्षाका लागि आवश्यक स्थानमा ‘वाकथ्रु गेट’ तथा सिसिटिभी जडान गरी करिब चार हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको छ। वाग्मती नदीको पश्चिम करिडोर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चार शिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था कोषले गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4443