भारतबाट फर्केका ५ जनालाई स्वाइन फ्लु, भारतमा ८ सय बढीको मृत्यु

काठमाडौं, फागुन ११– सरकारले रोकथाम र सचेतनाका लागि दर्जनौं कार्यक्रम सञ्चालन गरेको दाबी गरिरहेका बेला यस वर्ष नेपालका पाँचजनामा स्वाइन फ्लु (एच१ एन१ पेन्डामिक ०९ भाइरस) संक्रमण पुष्टि भएको छ।

कडा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको स्वास्थ्य जाँच गर्दा शनिबार पाँचजनामा स्वाइन फ्लु संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए।

भारतको नयाँदिल्ली र राजस्थान घुमेर फर्किएका दुईजना र अन्य तीनजनामा संक्रमण पुष्टि भएको हो। बिरामी सबै काठमाडौंका पुरुष हुन्। उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गरिएको थियो।

‘हामीले रोकथामका लागि पहल गर्दागर्दै पनि उनीहरूमा स्वाइनफ्लु पुष्टि भयो’, मरासिनीले आइतबार भने, ‘भारतमा त्यति सावधानी अपनाएको पाइएन। त्यसैले संक्रमण फैलिने जोखिम बढ्यो।’ संक्रमण पुष्टि भएपछि उनीहरूलाई चिकित्सकको निगरानीमा राखिएको छ।

भारतका विभिन्न स्थानमा दुई महिनायता फैलिएको स्वाइनफ्लु संक्रमणबाट आठ सयजना भन्दा बढीको ज्यानको गइसकेको छ भने ११ हजार बढी संक्रमित छन्। स्वाइन फ्लुबाट भारतको उत्तरी राजस्थान सबैभन्दा प्रभावित छ।

स्वाइन फ्लु तीव्र रूपमा फैलिए पनि सरकारले आवश्यक औषधि वितरण गर्न नसकेको आरोप छ। भारतबाट स्वाइन फ्लुको संक्रमण नेपालमा फैलिए पनि पूर्वसतर्कता अपनाइएको छैन। सीमावर्ती क्षेत्रमा झन् बढी जोखिम छ। यसअघि महाशिवरात्रिमा भारतबाट दर्शनार्थी नेपाल आएका बेला पनि स्वाइन फ्लु फैलिनसक्ने आशंका गरिएको थियो।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकले खुला सिमाना र सीमामा स्वास्थ्य जाँच गर्ने व्यवस्था नभएकाले भारतबाट स्वाइन फ्लु नेपाल भित्रिन सक्ने बताए। गत वर्ष स्वाइन फ्लुबाट एक सहसचिवसहित तीनजनाको ज्यान गएको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।

संक्रमण पुष्टि भएपछि महाशाखाले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन आइतबार निर्देशन दिएको छ। ‘हामीले संक्रमण नियन्त्रण र जनचेतनाका लागि केन्द्र, क्षेत्रीय र स्थानीय स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेका छौं’, डा. मरासिनीले भने, ‘सबै अस्पतालले पनि ध्यान दिनुपर्छ। आशंका लागेका बिरामीलाई तत्काल स्वाइन फ्लुको जाँच हुने स्थानमा पठाउनुपर्छ।’

स्वाइन फ्लु मौसम बदली हुँदा देखिने सरुवा रोग हो। सन् २००९ मा मेक्सिकोमा पहिलोपटक देखापरेको यो संक्रमण संसारमा तीव्र रूपमा फैलिन थालेको छ। विकसित मुलुकमा स्वाइन फ्लुको संक्रमण रोक्न खोपको व्यवस्था भए पनि नेपालमा उक्त सेवा सुरु गरिएको छैन।





Comments

comments

4574