नाटक ‘अर्को ओरालो’ मञ्चनको तयारी अन्तिम चरणमा

मेन खबर / एचकेनेपाल डट कम –
पोखरा, २८ जेठ । यूथ क्रियशन थिएटरले नाटक ‘अर्को ओरालो’ पोखरेली रंगमञ्चका लागि नयाँ आयाम हुने दाबी गरेको छ। विषयवस्तु र प्रस्तुतीको हिसाबले नाटक भिन्न रहेको उल्लेख गर्दै पोखरेली रंगमञ्चको विकासमा यो नाटकको भूमिका महत्वपूर्ण रहने उसको भनाई छ। नाटक ‘अर्को ओरालो’ असारको ५ देखि ७ गतेसम्म उद्योग वाणिज्य संघको हलमा मञ्चन हुँदैछ।

पोखरेली संचारकर्मीहरुलाई बुधबार थियटरले नाटक ‘अर्को ओरालो’को रिहर्सलसमेत देखाएको थियो। ‘मल्टिमिडिया प्रयोग, कलाकारहरुको स्टेप, साल्सा डान्स, पोस्चर, मिरर ईफेक्ट जस्ता नौला प्रयोगहरु हामीले यो नाटकमा एकसाथ समावेश गर्ने भएका छौँ।’ थियटरका व्यवस्थापक सौगात पोखरेलले भने–‘विषयवस्तु अलिक भिन्न भएपनि दर्शकले नाटक हेरुन्जेल भरपूर मज्जा लिन सक्नेछन्।’

पोखरा नागढुंगास्थित बाजेको सेकुवाको हलमा हाल कलाकारहरु रिहर्सलमा व्यस्त छन्। ‘रिहर्सल अन्तिम चरणमा पुगिसक्यो, हामीले अब मञ्चनको तयारी पनि अन्तिम चरणमा पु¥याईसकेका छौँ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘पोखरेली दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ।’ नाटक ‘अर्को ओरालो’मा रेम बिक, कपिल शर्मा, शर्मिला बस्नेत, रोहन नेपाली ‘शिब’ र उर्मिला कार्कीले अभिनय गर्दैछन्। नाटकलाई नाटककार पुरु लम्सालले निर्देशन गरिरहेका छन्।

एक वर्ष अगाडि गठित यूथ क्रियशन थिएटरले लामो समयपछि पोखरामा नाटक मञ्चन शुरु गरेको हो। यसअघि उसले नाटककार कृष्ण उदासीको निर्देशनमा पोखरासहित काठमाण्डौँमा समेत ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ मञ्चन गरिसकेको छ। यो पटक मञ्चन हुन लागेको ‘अर्को ओरालो’मा समेत ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’का केहि कलाकारहरु दोहोरिएका छन्।

थिएटरले यो बिचमा नाटककार कृष्ण उदासीकै दुईवटा कवितालाई समेत मञ्चन गरिसकेको छ भने अभिनय कार्यशालाहरु चलाईरहेको छ। कलाकार उत्पादनसंगै व्यवसायिक रंगमञ्चिय क्रियाकलापलाई अगाडि बढाउने योजनासहित थियटर लागिरहेको छ। यो पटक मञ्चन हुन लागेको नाटक ‘अर्को ओरालो’बाट उठेको रकम उसले थियटर हल निर्माणमै खर्च हुने जानकारी दिएको छ।





Comments

comments

46