कतार आइन् चरीमाया

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतार। आगामी शुक्रबारका दिन नेपाली महिला समाज कतारले आयोजना गर्न लागेको १०५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको प्रमुख अतिथि शक्ति समूह नेपालकी संस्थापक संयोजक चरीमाया तामाङ कतार आईसकेकी छन्।

प्रमुख अतिथि तामाङ गतहप्ताको अप्रत्यासित हवाई उडानको अनिश्चितताको कारण नेपालबाट कतार आउन नसकेकोले नेपाली महिला समाजले मार्च ६ मा तय गरेको कार्यक्रम मार्च १३ शुक्रबार पुन आयोजना गर्न लागेको छ।

दुई चरणमा आयोजना गर्न लागेको कार्यक्रममा पहिलो चरणमा “नेपाली महिलाहरुको चुनौती, यसको सामना र समाधान” विषयक, अन्तरक्रिया कार्यक्रम र यसमाथि टिप्पणी, दोस्रो चरणको कार्यक्रम “सांगीतिक माहौलमा १०५औं अन्तर्राष्ट्रिय नारी दिवस” कार्यक्रम रहेको छ।

नोज्मास्थित सालिमार रेष्टुरेण्ट हलमा आयोजना हुन लागेको सो कार्यक्रममा प्रमुख अतिथि तामाङ्गद्धारा अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत र १०५औं अन्तर्राष्ट्रिय नारी दिवसमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम समेत रहेको छ।

नेपाली महिला समाज कतारको निम्तोमा कतार आइसकेका शक्ति समूह नेपालकी संस्थापक संयोजक चरीमाया तामाङ पटकपटक मरेर बाँचेको तितो अनुभव, सिमान्त तहमा समेत अबहेलनाको सामनालाई शक्तिको रुपमा बदल्न हिम्मत कसेर आफूलाई बेच्ने अपराधीहरुविरुद्ध काननुी कारवाहीका लागि हिम्मतका साथ लागि परेर अपराधीहरुलाई सजाय दिलाउन समेत सफल भएकी एक साहसी नारी हुन्। उनी अन्य महिलाहरुका लागि एक बाँच्ने प्रेरणा दिने शक्तिका स्रोतसमेत हुन। उनी एक संघर्षशिल नारी हुन् जसले महिला वेचविखनको विरुद्धमा महिलाहरुलाई सचेत गर्दै यसको उन्मुलनको लागि सन् २००१ मा आफूजस्तै अन्य १५ जना शसक्त महिलाहरु मिलेर शक्ति समूह नामक संस्था स्थापना गरेकाछन्।

महिला वेचविखन विरुद्धको शशक्त अभियानको सम्मान गर्दै शक्ति समूहलाई सन् २००७ (विसं २०६४) मा नेपाल सरकारले राष्ट्रिय सम्मान दिएको थियो। सन् २००८ (विसं २०६५) मा चरीमाया तामाङलाई नेपाल सरकारले सम्मान गरेको थियो। महिला वेचविखन विरुद्धको शशक्त अभियानकोे लागि लागिपरेका स्वयम् चरिमाया तामाङ र शक्ति समुहको विश्वभरी कदर र सम्मानको दृष्टि हेरिदै आएको छ।

सन् २०११ मा “ २०११ हिरो एक्टिङ्ग टु इन्ड मोर्डन डे स्लेभरी अवार्ड” द्धारा चरीमाया तामाङलाई अमेरीकी सरकारका तर्फबाट तत्कालिन अमेरिकी विदेश सचिव हिलारी क्लिन्टनद्धारा सम्मान गरियो भने २०१३ मा शक्ति समूहका संयोजक स्वयं चरिमाया तामाङ र अध्यक्ष सुनिता दनुवारले एशियाको नोवेल पुरस्कार भनिने म्यागासेसे पुरस्कार फिलिपिनो राष्ट्रपतिको हातबाट ग्रहण गरेका थिए।

सन् २००९ मा नेपाल सरकारद्धारा गठित मानव वेचविखन विरुद्धको राष्ट्रिय समितिमा पनि चरीमाया तामाङ्ग सक्रिय रुपमा कार्यरत छिन्।





Comments

comments

4791