शुरु भयो प्रथम बेगनास फिस फेस्टिवल

नवराज सापकोटा / एचकेनेपाल डट कम –
२२ फागुन, लेखनाथ। आन्तरिक तथा बाहिय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रथम बेगनास फिस फेस्टिवल २०७१ शुक्रबारदेखि बेगनासतालमा भव्य शुरू भएको छ।

बेगनासताल जाऔं माछाका परिकारमा रमाऔं, भन्ने मुलनाराका साथ आयोजना गरिएको महोत्सवको लिवर्डका अध्यक्ष कृष्णप्रसाद बरालले बेगनासतालमा माछाका भूरा छाडेर उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै, बरालले बेगनास र रुपाको जलाधार क्षेत्रमा जैविक विविधताको प्रचुर संभावना रहेको उल्लेख गरे। बरालले लेखनाथको विशेषता जैविक विविधतामै रहेको उल्लेख गर्दै, यसको संरक्षण मात्र गर्न सके, पर्यटकीय गतिविधि बढाउन अरु क्रियाकलाप गर्न नपर्ने बताए। लोपउन्मुख अवस्थामा रहेका जंगली धान, सुनगाँभा र दुर्लभ चराचुरुङ्गीको क्षेत्र भएकाले पनि विश्व सम्पदाको सूचीमा राखेर लेखनाथका जलासय तथा वेट ल्याण्डको संरक्षण गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउनका लागि सिजनल गतिविधिमा मात्रै जोड नदिई दिर्घकालिन योजना निर्माण गर्नु पर्नेमा जोड दिए। नगरपालिकाले प्रमुख पर्यटकीय केन्द्रका रुपमा बेगनासताललाई विकास गर्न लागेको उल्लेख गर्दै, झण्डै एक करोडको लागतमा बराह क्षेत्र तथा मन्धरे पार्कलाई सुधार गरिएको बताए। ताललाई मानविय अतिक्रमणबाट जोगाउन आग्रह गर्दै तालविनाको बेगनास क्षेत्रको जीवन परिकल्पना गर्न नसकिने बताए।

फेस्टिवल होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजना र वेगनास डुङगा व्यवसायी समिती, स्थानीय सामाजीक संघ सस्था,युबा क्लब तथा आमा समुहको सहभागीतामा बेगनासताल किनारमा फागुन २४ गतेसम्म संचालन हुने छ ।

करिब एक लाख दर्शकलले अवलोकन गर्ने अपेक्ष्या गरिएको फेस्टिबलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु, मह तथा कफी प्रर्दशनी, जडीबुटी प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी साथै स्थानिय सांस्कृतिक कार्यक्रमहरु, भेषभूषा तथा झांकी प्रर्दशनी, खुल्ला पौडी प्रतियोगिता, वाल उद्यान र चिडिया घर लगायतका कार्यक्रमहरु रहेका छन्।

प्रवेश निशुल्क रहेको फेस्टिवलमा दर्शकहरुका लागि माछाका विभिन्न परिकार तथा आला माछा समेत खरिद गरेर लैजान सकिने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । बेगनासताल बसपार्कदेखि मन्धरेपार्कसम्म करिव १ किलो मिटरको क्षेत्रसम्म रेष्टुरेण्ट व्यवसायीले सडकमै खाने बस्ने व्यवस्था मिलाएका छन् भने बेगनासताललाई झकिझकाउ गरी सजाईएको छ।





Comments

comments

4872