दपूक्षे तमुधिं लण्डनको एमिग्रेशन सम्बन्धी जानकारी सभा

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। दिनांक ०७ मार्च २०१५को दिन वुलविच, लण्डन स्थित थेम्स अकादमीको सभाहलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले एमिग्रेशन सम्बन्धी जानकारी तथा संस्थाको साधारण सभा सम्पन्न गरेका छ।

एमिग्रेशन सम्बन्धी विस्तृत जानकारी संस्थाका कानूनी सल्लाहकार, सोलिसिटर दिपक भट्टराईले पावरप्वाईन्टको माध्यमबाट त्यहाँ उपस्थित लगभग सय जनाजतिका सहभागीहरुलाई जानकारी दिएका थिए। संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई संस्थाका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो। प्रथम चरणको कार्यक्रमलाई दिपक भट्टराईले बेलायतमा प्रोपर्टी किन्दा ध्यान राख्नुपर्ने जानकारीहरु अर्थात कन्भेयान्सीङदेखि भर्खरै गोरखा भूतपूर्व सैनिकहरुका सन्तानहरु ल्याउन पाउने नयाँ कानूनबारे विस्तृत जानकारी दिएका थिए। सहभागीहरुबाट उब्जेका जिज्ञासाहरु उपर प्रस्ट्याउँदै एमिग्रेशनबारे जानकारी दिएका थिए।

झण्डै डेढघण्टा लामो प्रथम चरणको कार्यक्रमपछि फेरि दोश्रो चरणको कार्यक्रम तत्काल शुरु गरिएको थियो। कार्यक्रम सफलतापूर्वक सञ्चालन भएकोमा संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङले सोलिसिटर दिपक भट्टराईलगायत सबैलाई आफ्नो मन्तव्य प्रकट गर्नेक्रममा आभार तथा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा आमा समूहको तर्फबाट चियापानी तथा बिस्कुटको प्रबन्ध रहेको थियो। महासचिव सुमन गुरुङले दोश्रो चरणको कार्यक्रममा पछिल्लो साधारण सभामा छलफल भएको बुँदाहरु संक्षिप्तमा प्रकाश पारेका थिए त्यसपछि बुँदागत रुपमा दोश्रो चरणको सभा अघि बढेको थियो जसमा समाजको कोष बृद्धि र सञ्चालन, च्यारिटी डिनर, स्थानीय काउन्सीलमा प्रोजेक्टहरु प्रस्तुत गरेर फण्ड निकासा गर्ने, समाजको मुखपत्र, ल्होछार आदिको बारेमा बृहत छलफल भएको थियो।

सबैभन्दा बढि अब मई महिनाको ४ तारिखका दिन सम्पन्न हुन गईरहेको बुद्ध जयन्तीबारे बृहत छलफल गरिएको थियो। बुद्ध जयन्ती २०१५का संयोजक सुमलकुमार गुरुङले दक्षिणपूर्व लण्डन क्षेत्रमा पहिलोचोटी यस पटकको बुद्ध जयन्तीलाई शान्ति पदयात्राबाट थालनी गरेर पूजा स्थलमा विद्वान धर्मगुरुहरुबाट पूजापाठ तथा प्रवचन गरेर समापन गरिने कुरा सभालाई सम्बोधन गरेका थिए।

यस कार्यक्रमका लागि उनले प्लेकार्ड, ब्यानरहरु, व्यवस्थापन, सम्बन्धित निकायबाट मञ्जुरी, शान्ति पदयात्राको बाटो, स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि सबै समाजका जिम्मेवार व्यक्तिहरुको जिम्मेवारी समेत सुनाएका थिए। प्रायोजकको रुपमा सबैभन्दा पहिले पानीको व्यवस्था समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङले जिम्मा लिएका थिए।

कार्यक्रमका लागि सभाकै दौरान चियापान र खाजाको व्यवस्था तथा केहि रकम समाजका आमा समूहले जिम्मा लिने कुरामा मञ्जुरी दिएको थियो। लामा गुरुहरु तथा थप प्रायोजकहरुलाई उत्साहित गर्न समाजका विशेष व्यक्तिहरुको नाम संयोजकले दिएका थिए। अन्तमा आगामी सभा १९ अप्रिलको दिन, बुद्ध जयन्ती भन्दा केहि हप्ताअघि सम्पन्न गरिने निर्णयसहित सभा समापन गरिएको थियो।





Comments

comments

4933