दुई माओवादीबीच एकताको पहल, वार्ता टोलीमा को को छन्?

काठमाडाैं, चैत्र २ – पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकरणका लागि औपचारिक वार्ता सुरु गरेका छन्। एकताका लागि दुवै पार्टीले आइतबार शीर्ष नेतृत्व संलग्न वार्ता टोली घोषणा गरेका छन्।

लाजिम्पाटस्थित दाहाल निवासमा एकीकरण पहलका लागि पुनः छलफल सुरु भएको दुवै माओवादीले जनाएका छन्। सबै माओवादी एवं सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूका बीचमा पार्टी एकता आवश्यक रहेको अनुभूत गरेर एकीकरणका लागि दुवै पक्षको वार्ता समिति गठन गरिएको उनीहरूले जनाएका छन्। वार्ता टोली एमाओवादीका तर्फबाट ५ जना र माओवादीका ४ जना छन्। टोलीमा एमाओवादीबाट अध्यक्ष दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् भने माओवादीबाट अध्यक्ष वैद्यसहित सिपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ छन्।

वैद्य नेतृत्व माओवादीबाट सचिव नेत्रविक्रम चन्द नेतृत्वमा अलग पार्टी गठन भएको तीन महिना पछि दुई पार्टीबीच एकीकरणको औपचारिक प्रयास भएको समाचार नागरिक दैनिकले छापेको छ। दुवै पार्टीले सोमबार ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ को संयुक्त घोषणा सभा पनि आयोजना गर्दैछन्।

‘पार्टी एकताका लागि वैचारिक, राजनीतिक र सांगठनिक विषय मिलाउन व्यवस्थित बहस सुरु गर्ने र अन्य माओवादी शक्तिलाई पनि एकीकरण प्रक्रियामा आउन पहलकदमी गर्ने साझा निर्णय भएको छ,’ बैठकपछि एमाओवादी महासचिव महराले भने।

प्रतिगमन हाबी र क्रान्तिको उपलब्धिमाथि खतरा उत्पन्न हुँदै गएकाले त्यसलाई जोगाउन माओवादी केन्द्रहरूबीच एकीकरणको प्रयास सुरु गरिएको उनको भनाइ छ।





Comments

comments

5078