जटिल बन्दै एनआरएन युकेको विवाद

एचकेनेपाल डट कम –
रोशन मेवाहाङ्ग
लण्डन। विधानमै उल्लेख नभएको ‘चक्रीय प्रणाली’मार्फत् महेन्द्र कँडेललाई अध्यक्ष घोषित गरिएपछि सुरु भएको एनआरएन युकेभित्रको विवाद झनै बढ्दै गएको छ। उक्त अवैधानिक कार्यविरुद्ध आवाज उठाउँदै आएको नेपाली युवा समूह बेलायतको समर्थनमा बेलायतमा क्रियाशील विभिन्न संघ–संस्थाहरु र केही स्वतन्त्र वुद्धिजीवीहरु अगाडि आएका छन्।


फाइल फोटोः महेन्द्र कंडेल

शंकरमणी नेपाल
बुध्दिजीवी

संस्था विधानसम्मत नचल्नु, एक पक्षीय हिसाबले आफ्नो मात्र सोच लागू गर्न खोज्नु, संस्थाभित्र आर्थिक पारादर्शिता नहुनसजस्ता कारणहरुले संस्थाहरुमा विवादको जन्म हुन्छ। एनआरएन बेलायत पनि यिनै कमजोरीका कारण विवादित देखिएको छ। यस्तो नहुनु थियो, भैसकेको छ । यो हुनु भनेको बेलायतबासी हामी सबैको दुर्भाग्य हो । कुनै विकल्पको खोजी गरेर जति सक्दो चाँडो यस विवादलाई अन्त्य गर्न राम्रो हुन्छ र यो हामी सबैको दायित्व पनि हो। हुन त संस्थााको विधान हामीले बनाएका हुन्छौं तर हामी आफैले बनाएको विधान नमान्नु लज्जास्पद कुरा पनि छ । संस्था विधानभन्दा बाहिर गएर कुनै पनि काम गर्छ भने स्वतः अवैधानिक हुन्छ। त्यसरी गरेको निर्णयलाई मान्यता दिनु हुन्न।

योगकुमार फगामी
निवर्तमान महासचिव, एनआरएन बेलायत

बेलायत एनआरएनको विवाद यो कार्य समितिको कारणबाट मात्र सुरु भएको होइन। पूर्वकार्य समितिहरुको नेतृत्वको जुँगाको लडाइँका कारण विवादको विजारोपण भएको थियो । आज आएर संस्था विधानसम्मत ढंगले नचल्दा विवादले झन् ठूलो रुप लिएको छ। केन्द्रको निर्देशनअनुरुप विशेष साधारणसभामा उपस्थित सबैको राय लिएर बहुमतको समर्थनलाई कदर गरेर मात्र नेतृत्व हस्तानतरण गर्ने भन्ने थियो तर उक्त सभामा बहुमत उपस्थित सदस्यहरुले चक्रीय प्रणालीलाई अवैधानिक भनी विरोध गर्दागर्दैं पनि रेष्टुरेन्टमा सिमित व्यक्तिहरु गई पद हस्तान्तरण गर्नु ठूलो भूल गरे। यो अवैधानिक छ। रेष्टुरेन्टमा बनेको अध्यक्षको कुनै अर्थ छैन। एउटा सर्वमान्य साझा संस्थाभित्र सभामा उपस्थित बहुसंख्यकले अवैधानिक कार्य गर्न हुन्न भन्दै चर्को विरोध गर्दागदै पनि जबरजती विधानलाई कुल्चिएर अध्यक्ष घोषणा गर्न खोजेको हुनाले नैतिकताको आधारमा मैले महासचिवको पदबाट राजीनामा दिएको हुँ।

मास्टर राष्ट्र राई
सल्लाहकार एनआरएन बेलायत एवं समाजसेवी

एनआरएन युके एक लाख ५० हजार नेपालीहरुको मूल संस्था हो । यसले बेलायतमा भएका हरेक संघ–संस्था र सम्पूर्ण बेलायतबासी नेपालीहरुको निम्ति एउटा अभिभावकीय भूमिका खेल्न सक्नु पथ्र्यो । केहि महत्वकाँक्षीहरुको कारण उद्देश्यभन्दा धेरै फरक ढंगले संस्था चलिरहेका अवस्था छ । विधानको कुनै हैक्का छैन, आर्थिक आय–व्यायको कुनै हिसाब–किताब छैन । एक कार्य समितिले अर्को कार्य समितिलाई अगाडिका कार्यकालहरुबाट आर्थिक आयव्याय बुझाईएको पनि देखिदैन । यस्तो गतिविधी संस्थाका निम्ति दुर्भाग्य निम्त्याउनु हो। बेलायत एनआरएनका निम्ति अवैधानिक अध्यक्ष बनेका कडेलजी ले ७ हजार सदस्यहरुको फारमको सदस्यता शुल्क (१० पाउण्डको दरले) ७० हजार पाउण्ड बुझाउनु पर्नेमा १० हजार पाउण्ड खर्च देखाउँदै जम्मा २० हजार पाउण्ड बुझाएको देखिन्छ । एनआरएन बेलायतभित्र आर्थिक हिसाब डामाढोल छ । एनआरएन युकेका सल्लाकार कमल गुरुङको संयोजकतामा आर्थिक छानविन समिति गठन भएको छ । म पनि सदस्य छु । हामी पूर्वकार्यसमितिदेखिकै आर्थिक छानविन गरिरहेका छौं । कसैले आर्थिक हिसाबको सत्य–तथ्य विवरण बुझाउन सकेन भने हामी कानुनी प्रक्रियामा जाने छौं। बेलायत एनआरएनले बोलाएको बिशेष साधारण सभामा केन्द्रको निर्देशन बमोजिम उपस्थित सदस्यहरुको भावनालाई कदर गरी निर्णय गर्न नखोजिएकोले नैतिकताको आधरमा तत्कालीन अध्यक्ष योगेन्द्र क्षेत्रीजीले राजीनामा दिएका थिए। सभामा उपस्थित सतप्रतिसतको विरोधका कारण सभा स्थगित गरेर रेष्टुरेन्टमा गई अध्यक्ष घोषणा गर्नु केन्द्र र केन्द्रीय प्रतिनिधिको ठूलो गल्ति हो। यो पूर्ण रुपमा अवैधानिक छ । यसको कुनै औचित्य रहँदैन । यसको विरोधमा युवा समूह युके र अधिकांश सदस्यहरुले उठाएको विरोधलाई मलगायत सल्लाहकार समितिको बहुमतको समर्थन रहेको छ।

सुरेन्द्र इङ्नाम
प्रधान सम्पादक, संघीय मासिक

एनआरएन सिंगो नेपालीहरुको साझा संस्था हो। यस्तो संस्थाभित्र सिमित व्यक्तिले आफ्नो मनोपोलीमा स्वार्थगत निर्णय गराउन खोज्नु संस्थालाई विखण्डनतिर धकेल्नु हो। संस्था चलाउनेहरु संस्थाप्रति पूर्ण जिम्मेबार हुनुपर्छ। वर्तमान परिप्रेक्षमा नेतृत्व नै गैरजिम्मेबार देखिएको छ । विधानमै नभएको चक्रीय प्रणालीको आधारमा कसैलाई पनि संस्थाको अध्यक्ष बनाइनु हुँदैन । कुनै पनि संघ–संस्थाभित्र विधानलाई वेवस्था गरिन्छ र आर्थिक पारादर्शिता रहँदैन भने ठूलो होस् या सानो संस्था, विवादरहीत बन्न सक्दैन । एनआरएन युकेको त्यही कमजोरीले अहिले विवाद सिकार पुगेको छ । विधानभन्दा बाहिरबाट गरिएको निर्णयले समाजलाई स्वास्थ्य राख्न सक्दैन।

श्रीप्रसाद लिम्बु
अध्यक्ष, आदिवासी जनजाति महासंघ बेलायत

एनआरएन युके सबैको साझा बन्न सकेको छैन । केहि सिमित व्यतिmहरुको मातहातमा चलिरहेको देखिन्छ । संस्थाभित्र पैसावाला हाबी छ । युकेभित्र जातीय र क्षेत्रीय आधारमा बनेका ठुल्ठूला संघ–संस्थाहरु पनि धेरै छन् । एनआरएनले यस्ता संघ संस्थाहरुलाई समेट्न सकिरहेको छैन । यस्ता संघ–संस्थाहरुले दिएका सान्दर्भिक सल्लाह सुझाबलाई वास्ता नै गरिदैन । संस्थाभित्र आर्थिक पारदर्शिता राखिन्दैँँन, बहानाबाजीमा जथाभाबी खर्च गरिन्छ। एनआरएन युकेको पाँचौं महाधिवेशन हुन अगावै जिम्मेवार व्यतिmहरुले दुई समूह हुनबाट रोक्नु पथ्र्यो । यो नेतृत्वको कमजोरी हो । २९ सेप्टेम्बर २०१४ का दिन नेपाली राजदूताबास लण्डनमा बेलायतका एनआरएनका संरक्षक सदस्य डा. सूर्य सुवेदीको उपस्थितिमा गोप्य छलफल हुँदा तत्कालीन अध्यक्ष योगेन्द बहादर क्षेत्रीले छुट्टै समिति बनाएका महेन्द्र कँडेलसँग अवैधानिक हिसाबले चक्रीय प्रणालीमा सहमति गर्नु हुन्नथ्यो । रेष्टुरेन्टमा केन्द्रीय प्रतिनिधिसहित सिमित व्यक्तिहरुको माझमा भएको अध्यक्षको हस्तान्तरण अवैधानिक र गैरजिम्मेवार कदम हो।

पदम राई
अध्यक्ष, किरात राई यायोक्खा बेलायत

एनआरएन युके यहाँ बसोबास गरिरहेका हामी नेपालीहरुको एउटा सर्वमान्य साझा सामाजिक संस्था हो । तर, स्थापना कालदेखि नै नेतृत्वले संस्थालाई साझा रुप दिन नसकेको छैन । केहि सिमित जाति र वर्गबाट सञ्चालित भैरहेको छ । पूर्णसमावेसी बनाउने व्यवहारिक प्रयत्न गरेको पाइदैन। संस्था विधान र नियमावलीभित्र रहेर सञ्चालन हुनुपर्छ। अर्को कुरा, यस्तो ठूलो संस्थाभित्र आर्थिक पारदर्शिता हुनुपर्छ । अघिल्ला कार्य समितिहरुबाट नै यस्ता कमजोरी हुँदै आएकोले आजसम्म श्रृंखलावद्ध रुपमा विवाद चलिरहेको छ। संस्थाको अधिवेसनबाट बनेको अध्यक्ष योगेन भाइले नेपाली राजदूतावास लण्डनमा डा. सूर्य सुबेदीले फाल्टै समिति बनाएका महेन्द्र भाइसँग अवैधानिक गोप्य सहमति गर्नु हुन्न थियो । यसले विधान र नियामावलीभन्दा माथि उठेर काम गर्ने प्रवृत्तिलाई थप बल प्रदान गरेको छ । यहाँ नेपालीहरु माझ थुप्रै समस्याहरु छन् । यस्ता समस्या हल गर्न एनआरउनले सहयोग प¥याउनु पर्छ। युवाहरु भनेको परिवर्तनको सम्वाहक शक्ति हो । यहाँका युवाद्वाराले केहि ढिलो भए पनि सही कार्यको थालनी भएको छ । यो अभियानमा हाम्रो पूर्ण समर्थन रहने छ । विधानविपरित भएको निर्णयलाई प्रतिकार गर्नुको विकल्प छैन।

काजिमान याक्सो लिम्बु
अध्यक्ष, याक्थुङ चुम्लुङ बेलायत

एनआरएनलाई युकेभित्रको एउटा प्रमुख संस्थाको रुपमा हामी हेर्छौं। तर दुखदायी कुरा स्थापनाकालबाट आजको दिनसम्म पनि यो संस्था पूर्ण समावेसी बन्न सकेको छैन । केही जातीय, क्षेत्रीय संस्थाहरुलाई मात्रै समेटिएको छ । युकेको नेपाली समाज जातीय विविधताले भरिएको समाज छ । मधेशी, दलित, अल्पसंख्यक र युवाहरुको उपस्थिति छैन । आदिवासी जनजाति र महिलाहरुको पनि सिमित प्रतिनिधित्व छ। एनआरएनमा पैसावलहरु मात्रै हाबी छ । यस्ता व्यक्तिहरु समाजका लागिभन्दा आप्mनो पहिचान र आर्जनका निम्ति तलिन देखिएको छ । जबसम्म यस्ता ब्यक्तीहरुको हातबाट यो संस्था मुक्त हुँदैन र स्वच्छ छवि र सामाजिक सोच भएका व्यक्तिको नेतृत्व आउँदैन तबसम्म संस्था विवादरहीत बन्न सक्दैन । एनआरएनलाई समावेशी र साझा बनउन आवज उठाउनै पर्ने अपरिहार्यता देखेको थिएँ । त्यसका निम्ति युवाहरुको तर्फबाट आवज उठेको छ यो सही हो । अवैधानिक ढंगबाट जो अध्यक्ष बनेको छ यो मान्य हुने छैन । वैधानिकताका निम्ति युवाहरुले चालेको कदमप्रति पूर्ण सहयोग रहनेछ।

दूत पुन
अध्यक्ष, मगर संघ बेलायत

एनआरएनको अहिलेको विवादका मुख्य तीन कारण देखिएको छ । पहिलो, एनआरएन बेलायत व्यापारीहरुको माताहातमा सिमित रहनु र समाजसेवी ढंगबाट नचल्नु । दोश्रो, नेपालमा राजनीतिक नियुक्ति गरेजस्तो एनआरएन केन्द्रको दबाबमा अध्यक्षजस्तो गरिमामय पदमा नियुक्ति दिनु। र तेस्रो, दुईचारजना महत्वाकाँक्षी र पैसावालहरुका कारण स्वच्छ छवि भएको व्यक्तिहरुले नेतृत्व गर्न नपाउनु। एनआरएन आफैमा पवित्र र स्वच्छ संस्था हो । बेलायतमा रहेका हामी नेपालीहरुका निम्ति यो एउटा अभिभावकीय संस्था पनि हो । तर, यो संस्था विगत दिनबाटै समावेसी प्रक्रियाबाट चलेको छैन । यहाँ क्रियाशील विभिन्न संघ–संस्थाले दिएको सल्लाह सुझाबलाई आत्मसात नगर्नु एनआरएन बेलायतको निम्ति दुर्भाग्यपूर्ण रह्यो। डेढ लाखको हाराहारी संख्यामा यहाँ रहेका नेपालीहरुको साझा र अभिभावकीय संस्थाको नेतृत्व विधानमा नभएको चक्रीय प्रणालीमा विशेष साधारणसभाबाट अध्यक्ष बन्न खोज्नु र सभामा विरोध भएपछि रेष्टुरेन्टमा गएर पदको लेनदेन गर्नु बेलायतवासी सम्पूर्ण निष्ठावान र ईमानदार नेपालीहरुको निम्ति लज्जास्पद कुरा हो । केन्द्रको निर्णय पूर्ण अवैधानिक छ, यो निर्णयप्रति हाम्रो आपत्ति छ। युवाहरुले उठाएको कदमप्रति हाम्रो संस्थाको तर्फबाट पूर्ण समर्थन छ।

रामचन्द्र गुरुङ
अध्यक्ष, तमुधी युके

बेलायत एनआरएनको पाँचौ अधिवशनबाट आएको कार्यसमिति योगेन्द्रजी र उनको समिति नै हो। योगेनजी दुई कार्यकाल सल्लाहकारको रुपमा मात्र संस्थामा काम गर्नु भयो, महेन्द्रजी दुई कार्यकाल उपाध्यक्ष भएर संस्थामा काम गर्नु भो । संस्थामा काम गरेको हिसाबले महेन्द्रजी पनि अध्यक्ष बन्न सक्नु हुन्थ्यो तर निर्वाचन समितिले सदस्यता दर्ताको निम्ति दिएको समयअवधिमा नबुझाएर उहाँले गल्ती गर्नु भो। २१ सेप्टेम्बरमा डा. सूर्य सुबेदीले नेपाली दूतावासमा योगेनजी र महेन्द्रजीलाई चक्रीय प्रणालीबाट एक–एक वर्ष अध्यक्ष पद खाने भनी सहमती गराइएको अनुरुप योगेन्द्रजीले राजिनामा दिए प्रश्चात रिक्त पदमा महेन्द्रजी नै अध्यक्ष बन्नु पर्ने हो तर यसरी बन्नु विधानसम्म छैन यो गल्ति भएको छ।

श्री लिम्बु
आश्फोड सगरमाथा नेपाली समाज

एनआरएन युकेभित्र सबैभन्दा ठूलो समस्या राजनीतिक चलखेलको कारण गुट उपगुटको हाबी भएको छ। समाजसेवीको खोेल ओढेर केहि व्यक्तिहरु समग्र नेपाली समाजको निम्तिभन्दा आफ्नो स्वार्थ पुर्तिका निमित्त जोड दिएको देखिन्छ। यस्ता नेपालीहरुको प्रमुख संस्थाभित्र यसरी गलत गतिविधि हुनु हामी बेलायतबासी नेपालीहरुको दुर्भाग्य हो। एक–एक वर्ष विधानमा उल्लेख नभएको चक्रीय प्रणालीमा मनोखुशी अध्यक्ष बनाउनु केन्द्रको गलत निर्णय हो। यो हामीलाई मान्य हुँदैन।

श्रीधन चन्द
मेडइस्टोन नेपाली समाज

युकेमा बस्ने हामी नेपालीहरुको एनआरएन युके प्रमुख संस्था हो। यस्तो ठूलो संस्थाभित्र विधानलाई नै वास्ता गरी सिर्जित विवादलाई अवैधानिक हिसाबमा सहमति गर्ने÷गराउने कार्य गलत छ । एनआरएन केन्द्रले पनि अवैधानिक सहमतिलाई स्वीकारर्नु पनि गैरजिम्मेवार कदम हो। यस्ता अवैधानिक कदम हामीलाई स्वीकार्य हुने छैन।

राजेन्द्र राई
अध्यक्ष, ईलाम सोसाइटी

कुनै पनि सामाजिक संस्था विवादरहीत बन्नका निम्ति संस्थाका नेतृत्व र जिम्मेवार व्यक्तिहरु निष्ठावान र इमानदार हुन अपरिहार्य रहन्छ। जब संस्था विधानसम्मत चल्दैन र संस्थाभित्र आर्थिक पारादर्शिता कायम गर्न सक्दैन त्यसपछि निश्चित रुपमा संस्था विवादित बन्छ। एनआरएन बेलायतमा पनि यही कुराबाट चुक्दा अहिले विवादित बनेको छ। एनआरएन बेलायतको विधानमा नभएको चक्रीय प्रणालीबाट सुटुक्कै बनेको अध्यक्षको कुनै औचित्य रहँदैन र मान्य पनि हुँदैन। वैधानिकताको पक्षधर नेपाली युवा समूह र बहुसंख्यक नेपालीहरुले उठाएको आवजलाई हाम्रो पूर्ण समर्थन रहन्छ।

रिचर्ड गुरुङ
युवा समूह युके

एनआरएनजस्तो बेलायतबासी नेपालीहरुको साझा र प्रमुख संस्था अवैधानिक चल्न खोज्छ भने हामी युवा समूह युकेलाई मान्य हुने छैन। युकेभित्र क्रियाशील विभिन्न संघ–संस्थाहरुले हाम्रो वैधानिकताको मागलाई जायज भनी समर्थन गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं।

– रोशन मेवाहाङ राई

यो पनि हेर्नुहोस्
चरम विवादले एनआरएन युकेको साधारणसभा स्थगित





Comments

comments

5226