रानीबारी हत्याकाण्डका अभियुक्त गुरुङको आर्जन: १४ वर्षमा १५ करोड

नेपाल पत्रिकाबाट साभारः
अपराधको आर्जन १४ वर्षमा १५ करोड
मनराज गुरुङको आपराधिक घटनामा संलग्नता, आर्थिक हैसियत र अभिजात्य जीवनशैली प्रहरीका लागि पनि आश्चर्यजनक

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनराज गुरुङ, ३०, र प्रमेश चौहान, ३२, लाई २९ फागुनमा पक्राउ गरेपछि १२ वर्ष पुरानो चर्चित रानीबारी हत्याकाण्डको रहस्य त सुल्झियो । तर, हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकामध्ये मनराजको पृष्ठभूमि, आपराधिक घटनामा संग्लग्नताको शृंखला र आर्थिक हैसियतले प्रहरीलाई नै आश्चर्यमा पारििदएको छ।

दोलखाको उत्तरी गाउँ खारे-६ को विपन्न परविारमा जन्मेका मनराजसँग अहिले करबि १५ करोड रुपियाँ बराबरको चलअचल सम्पत्ति छ । कुनै व्यापारकि घरानाको भन्दा कम छैन, उनको जीवनशैली । बजारमा भित्रिएका महँगा गाडीमा हुँइकिन्छन् । २६ लाख रुपियाँ पर्ने डुकाटी मोटरसाइकल छ। लक्जरयिस सेग्मेन्टमा पर्ने बीएमडब्लू, ल्यान्ड क्रुजर र ग्रान्ड भिटराजस्ता गाडी फेरीफेरी कुदाउँछन्।

कुनै रेस्टुराँ छिर्दा भीआईपी अतिथिको जस्तो स्वागत पाउँछन् । क्यासिनो र तारे होटलका हेल्थ क्लबहरूमा पनि नियमित पुग्छन् । बाहिरबाट झट्ट हेर्दा मनराजको जीवनशैली लोभलाग्दो देखिन्छ । तर, यसको स्रोत खोज्दै जाँदा डरलाग्दो पाटो उघि्रन्छ।

रानीबारी, काठमाडौँमा ३१ असार ०५९ मा कम्प्युटर इन्जिनियर हेमन्त श्रेष्ठ दम्पतीको हत्यामा मनराजको प्रमुख भूमिका रहेको प्रहरी दाबी छ । तर, घटना भएको १२ वर्ष ७ महिनासम्म उनले निरपराधजस्तै खुला जीवनयापन गरे । राजनीतिक दलदेखि प्रहरी र प्रशासनसम्म सम्बन्ध विस्तार गरेर उनले निर्धक्क एक दशकभन्दा बढी अवैध आर्जन गररिहे । बेलाबेलामा गुन्डागर्दी र अन्य हत्याका घटनामा संलग्नताको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका मनराज रानीबारी हत्याकाण्डमा संलग्नताको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । “यति सम्पन्न र सानदार जीवनशैली बाँच्ने आधार के हो ? उनको कमाइको स्र ोतबारे पनि हामी अनुसन्धान गर्छांै,” सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक -डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, “यसका लागि तुरुन्तै अन्य निकायसँग समन्वय गरेर अनुसन्धान गर्छौं।”

गुन्डागर्दीबाट सुरु भएको मनराजको अवैध असुलीको धन्दा पछिल्लो समय वैदेशिक रोजगार व्यवसायीलाई धम्क्याएर रकम असुल्ने, व्यक्तिगत लेनदेनमा फसेको रकम उठाइदिएर कमिसन लिने र एउटा पक्षबाट रकम -सुपारी) लिई अर्को पक्षको हत्या गर्नेसम्म रहेको प्रहरी अनुसन्धानका क्रममा फेला परेको छ । प्रहरीका अनुसार रानीबारी हत्याको मुख्य तारो इन्जिनियर दम्पतीकी घरबेटी गीता खड्का थिइन्, जो वैदेशिक रोजगार व्यवसायमा संलग्न थिइन्।

मनराजको उदय
कम उब्जाउ हुने सीमित जमिनका भरमा जीवन गुजारा गररिहेको परविारमा खानलाउन धौधौ पथ्र्यो । त्यसैले उनले औपचारकि शिक्षा पनि लिन पाएनन् । १४ वर्षको उमेरमा उनी ०५५ तिर राजधानी छिरे । उनलाई नजिकबाट चिन्ने एक आफन्तका अनुसार राजधानी छिरेपछि मनराज नयाँ बजारको एउटा धागो पसलमा दुई वर्ष मजदुरी गरेपछि लाजिम्पाटको माझघर डान्सबारमा बाउन्सर भए । माझघर छोडेपछि उनले त्रिपुरेश्वरस्थित रोयल किचेन डान्स बारमा बाउन्सरकै काम पाए । मुनलाइट डान्सबार, १९०९ रेस्टुराँमा समेत उनले रोजगारी पाएको रानीबारी हत्याकाण्डमा अनुसन्धान गररिहेका सीआईबीका प्रहरी नायब उपरीक्षक -डीएसपी) भीम दाहाल बताउँछन् । भन्छन्, “यतिबेलासम्म उनी सामाखुसी र चक्रपथ क्षेत्रमा टोले गुन्डा बनिसकेका थिए।”

उनी राजधानी छिर्नुअघि उनका सौतेला दाजु उमेश गुन्डागर्दीमा नाम चलेका कुमार श्रेष्ठ ‘घैँटे’को समूहमा सामेल थिए । दाजुमार्फत उनले घैँटेसँग घनिष्टता बढाए र घैँटे समूहको भरपर्दा लडाकू बने । “०६० सम्म मनराजको आर्थिक हैसियत सामान्य थियो । मोटरसाइकलमा तेल हाल्ने पैसासमेत हामीसँग माग्थ्यो,” कुनै समय उनीनजिक रहेका एक व्यापारी भन्छन्, “अहिले करोडपति भइसकेको छ।”

काठमाडौँ छिरेको तीन वर्षपछि अपराधको दुनियाँमा प्रवेश गरेका मनराज छोटो समयमै घैँटेका खास मान्छे भए । महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्, “घैँटेका मुख्य हिटर नै गुरुङ दाजुभाइ थिए ।” तर, दाजु उमेश ०५९ सालमा सुन्धाराको बेबीलोन डिस्कोका सञ्चालक राकेश लिम्बूको हत्या अभियोगमा जेल परे । उनी तीन महिनाअघि मात्र जेल सजाय भुक्तान गरेर बाहिरएिका छन्।

त्यसो त मनराज पनि वैदेशिक रोजगार व्यवसायी लीलामाया गिरीको हत्या अभियोगमा जेल चलान भएका थिए। अर्का अभियुक्त प्रमेश चौहानले घटनाको सम्पूर्ण जिम्मेवारी लिएपछि अदालती आदेशमा उनी ०६२ सालमा रहिा भएका थिए । उपत्यकालाई आतंकित बनाएको रानीबारी हत्याकाण्डको ११ महिनापछि गो लढुंगा, काठमाडौँमा गिरीको हत्या भएको थियो । मनराज र प्रमेशले दुई लाख रुपियाँ ‘सुपारी’ लिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । करबि एक वर्षपछि सुपारी दर बढाएर उनले ६ लाख पुर्‍याए । “अनुभव बढेसँगै सुपारी दरसमेत बढाएको देखिन्छ,” डीएसपी दाहाल भन्छन्।

आपराधिक संसारको अनुभवसँगै राजनीतिक, प्रशासनिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूसम्म सञ्जाल विस्तार गरसिकेका कारण डेढ वर्षको कारावासपछि निस्किँदा पुरानै धन्दालाई निरन्तरता दिन उनलाई गाह्रो भएन । बरू उनको मनोबल यतिसम्म बढ्यो कि ०६२ मा दरबारमार्ग प्रहरी चौकी -हाल वृत्त)का घुमुवा टो लीका एक सदस्यको हातै काटिदिएका थिए । उनको टोली अर्को चर्चित आपराधिक समूह काभ्रेली ग्रुपमाथि आक्रमण गर्न जाँदा उक्त घटना भएको थियो । तर, उक्त घटनापछि उनले कानुनी कारबाहीको सामना गर्नुपरेन।

प्रहरी स्रोतका अनुसार तत्कालीन काठमाडौँ प्रहरी प्रमुख उपरीक्षक ढकबहादुर कार्कीले हात काटिएका प्रहरी जवानलाई ८० हजार रुपियाँ उपचार खर्च दिलाएर मुद्दा अघि नबढाउन भूमिका खेलेका कारण मनराजले सहजै उन्मुक्ति पाएका थिए । कार्की नै काठमाडाैँ प्रहरी प्रमुख छँदा सोह्रखुट्टेमा काभ्रेली समूहका उमेश लामामाथि मनराजले आक्रमण गरेका थिए । उमेश गाडीबाट हाम फालेर भागेपछि चालक प्रेम तामाङमाथि आक्रमण गरएिको थियो।

मनराजको समूहले ०६३ मा डाइनास्टिक डिस्कोका बाउन्सर सुरेश लामामाथि डिस्कोमै आक्रमण गर्‍यो । त्यस आक्रमणबाट ज्यान जोगाएर भागेका सुरेशलाई भोलिपल्ट बिहान घरमै पुगेर तरबार प्रहार गरेका थिए । सुरेशका अहिले पनि दुवै खुट्टा चल्दैनन् । प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाए पनि मनराज त्यतिखेर जिल्ला अदालत, काठमाडौँबाट धरौटीमा रहिा भएका थिए।

मनराजले दर्जनौँपटक सार्वजनिक अपराधमा मुद्दा खेपे । पछिल्लो समय ०६८ मा मात्रै दुईपटक हनुमानढोका प्रहरीमा पुगेका थिए । सामाखुसीको एउटा दोहोरी साँझमा काभ्रेली समूहका विष्णु लामामाथि गोली प्रहारको घटना र चक्रपथको कुष्ठरोग निवारण संघको जग्गा किनबेचका क्रममा एक करोड रुपियाँ असुल गरेको घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई पक्रेको थियो । “अधिकांश घटनामा सार्वजनिक अपराधको मुद्दा मात्रै चल्ने हुँदा गुन्डाहरू लामो समय जेलमा बस्दैनन्,” गुन्डागर्दी नियन्त्रणमा काठमाडौँमा अपरेसन चलाएका डीएसपी आभूषण तिम्सिना भन्छन् । त्यसअघि मनराजलाई नै पक्रन ०६७ मा प्रहरीले उनको गोँगबुस्थित सो गर्ल डान्स बारमा छापा मारेको थियो तर पक्राउ भने परेनन्।

जता पैसा, उता मनराज
घैँटेसँग नजिक रहेर काम गरे पनि मनराजले गुन्डागर्दीमा संलग्न कोहीसँग पनि दुस्मनी भने नमोलेको उनलाई चिन्नेहरू बताउँछन् । कतिसम्म भने काभ्रेली समूहसँग पटकपटक भिडेका उनी पछिल्लो समय सोही समूहका प्रमुख गणेश लामाका पनि पि्रय बन्न पुगेका थिए।

मनराजले अर्का डन राजु गोर्खालीसँग पनि राम्रो सम्बन्ध कायम गरेका थिए । प्रहरी स्रोतका अनुसार मनराजले प्रहरी प्रशासनकै आडमा अवैध धन्दा फैलाउने कला अर्का डन काजी शेर्पाबाट सिकेका हुन् । शेर्पाको निर्माण व्यवसाय कम्पनीका लागि ठेक्का कब्जा गर्न पनि उनी सक्रिय भए । चक्रे मिलनको समूहसँग समेत मनराजले दोस्ती बनाएका थिए । चक्रेका भाइ तेजेन्द्र गुरुङसँग उनको रसायन खुबै जमेको थियो। “मनराज सबैको मान्छे हो । जता पैसा आउँछ, उसकै मान्छे हुन्छ,” काठमाडौँ प्रहरी परसिरका एक प्रहरी अधिकृत भन्छन्।

सीआईबीका डीआईजी ठकुरी मनराजलाई क्रूर मानसिकतायुक्त जब्बर अपराधीको संज्ञा दिन्छन्। भन्छन्, “आफूले गरेका अपराध सहजै कबुल गर्दैन । मौन बस्ने अधिकारको कुरा गरेर अनुसन्धानलाई कमजोर बनाउन खोज्ने र प्रहरीलाई नै गलाउन खोज्ने रहेछ ।” रानीबारी र गोलढुंगामा भएका दुवै हत्याकाण्डमा धारलिो हतियारले जथाभावी प्रहार गरी क्रूर ढंगले हत्या गरएिको उनको भनाइ छ।

रातारात करोडपति
वैदेशिक रोजगार व्यवसायी र रोजगारका लागि विदेशिनेको फसेको रकम उठाउने कार्यबाट मनराजमा ‘इजी मनी’ कमाउने रस पसेको जानकारहरू बताउँछन् । डान्स बारको बाउन्सर मनराजमा रातारात धनी बन्ने महत्त्वाकांक्षा बढेपछि गुन्डागर्दीमा सक्रिय भए । चलचित्र निर्माता रोज राणासँग मिलेर मनराजले गोँगबु, सामाखुसी, लाजिम्पाटमा नांगो नृत्य देखाउने सो गर्ल डान्सबार खोलेका थिए । पछि उनले ती डान्सबार एकलौटी बनाएको स्रोतको भनाइ छ । काठमाडौँमा पहिलोपटक नग्न नृत्य देखाउने डान्सबार यही समूहले खोलेको प्रहरी अधिकृतहरू बताउँछन् । ती अधिकृतका अनुसार त्यतिबेला यी डान्सबारका टेबुलमा लाइभ से क्स -यौनक्रियाका विभिन्न आसन) देखाउने गरन्िथ्यो । “डान्सबार खचाखच भरएिको हुन्थ्यो,” उक्त डान्सबारमा पुगेका शंकरदेव क्याम्पसका नेपाल विद्यार्थी संघका एक नेता भन्छन्, “बियर खाँदै उभिएर मस्ती हेर्नेको लाम लाग्थ्यो।”

प्रायः गुन्डा समूहसँग सुमधुर सम्बन्ध राखेर काम गरेकालेे मनराजको आम्दानी पनि ती सबै समूहबाट भइरहन्थ्यो । त्यो रकम उनले अप्ठ्यारोमा परेका व्यवसायीलाई चर्को ब्याजमा लगानी गर्न थाले । स्रोतका अनुसार मिटर ब्याजसमेत भनिने यस्तो ऋण उनले दरबारमार्गस्थित ल्यान्डमार्क होटलका सञ्चालक रवीन्द्र मल्ललाई समेत दिएका थिए । चर्को ब्याज र ऋण तिर्न नसकेका मल्लबाट मनराजले एक वर्षअघि बीएमडब्लू गाडीसमेत नियन्त्रणमा लिएका थिए।

उनीसँग अहिले रहेका सबै सम्पत्तिको न्यूनतम मूल्यांकन गर्दा करबि १५ करोड रुपियाँ बराबर हुन्छ । प्रहरी अनुसन्धान अनुसार ०६७ सालमा सामाखुसी, महाराजगन्ज, गोँगबुमा गरी मनराज बस्ने फ्ल्याट मात्रै चार ठाउँ भेटिएको थियो । प्रहरीले के पनि फेला पार्‍यो भने यी हरेक फ्ल्याटमा अलगअलग युवती राखेका थिए । “प्रहरीको आँखा छल्न र आफ्नो सोख पूरा गर्न मनराजले धेरै ठाउँमा फ्ल्याट भाडामा लिएको देखिन्थ्यो,” त्यतिबेला अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, “त्यति धेरै फ्ल्याट भाडामा राख्न सक्ने हैसियत कसरी बन्यो ? हामीसमेत चकित परेका थियौँ।”

०६६ देखि करबि २६ लाख रुपियाँ बजार मूल्य रहेको डुकाटी मोटरसाइकल चढ्न थालेका मनराजले त्यसको केही समयपछि रातो रङको ग्रान्ड भिटारा गाडी किने । त्यसपछि बीएमडब्लू कार हात पारे । एक समय उनी हुन्डाईको टक्सन गाडीसमेत चढ्थे । पछिल्लो समय तीनवटा महँगा गाडीमा पालैपालो राजधानीका सडकमा सयर गर्नु मनराजको अर्को सोख बनेको थियो।

निकटका व्यक्तिहरूका अनुसार उनले पछिल्लो १० वर्षमा अपत्यारलिो ढंगले धनमाल जोडेका छन् । उनले चपलीमा झन्डै एक रोपनी जग्गा किनेका छन् भने सामाखुसीमा पाँच आना जग्गा छ । गोँगबुमा समेत उनको केही जमिन छ । संयोग कस्तो भने जुन अभियोगमा उनी प्रहरी हिरासतमा छन्, सोही घटना भएको क्षेत्र रानीबारीमै उनको परविार बसिरहेको छ । सामाखुसीमा उनले दिदीलाई घरसमेत किनिदिएको स्रोतको दाबी छ । स्रोतका अनुसार सम्पत्ति जोड्दा उनले अन्य डनहरूले जस्तै आफ्नो नाममा राखेका छैनन् । घर श्रीमतीका नाममा र जग्गाहरू विवाहिता दिदीका नाममा राखेको स्रोतको भनाइ छ।

मनराजले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ६० लाख रुपियाँको सेयर खरदि गरेका छन् । उक्त आयोजनामा उनले निर्माण सामग्री ढुवानी गर्ने ठेक्का लिने प्रयास पनि गरेका थिए । साथै सामाखुसीमै उनको लगानीमा वैदेशिक रोजगारमा जानेहरूका लागि हुने स्वास्थ्य परीक्षण गर्ने मेडिकल सञ्चालन गरेका छन् । उनले क्यासिनो खेल्नेहरूलाई समेत महँगो ब्याजमा रकम लगानी गर्दै आएको पाइएको छ।

सुरुमा नेपाली कांग्रेसनिकट रहेका मनराज ०६२/६३ पछि एकीकृत नेकपा माओवादीनिकट पुगे । उनलाई कांग्रेसनिकट पुर्‍याउन घैँटेले सहयोग गरेका थिए । शान्ति प्रक्रियामा आएपछि एमाओवादीले यङ कम्युनिस्ट लिग -वाईसीएल) गठन गरी गुन्डागर्दी नियन्त्रण अभियान चलायो । त्यसबाट जोगिनका लागि उनले हतारहतार वाईसीएलको सदस्यता लिए । त्यसपछि दोलखाकी माओवादी नेतृ देवी खड्कासँग राम्रो सम्बन्ध बनाए । देवीका भाइ विशाल खड्कासँग त जिल्लाको ठेक्कापट्टामा अघोषित साझेदारी नै गरे । विशाललाई दोलखा प्रशासनले ०६४ मा सार्वजनिक मुद्दा चलाएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव थापामाथि कुटपिट भएको थियो, जसको नेतृत्व मनराजले नै गरेका थिए।

वाईसीएलका नाममा थापामाथि आक्रमण गर्ने उनकै नेतृत्वमा राजधानीबाट मोटरसाइकलमा गएको टोली थियो । कुटपिट गर्ने ११ जना पक्राउ परेका थिए । उनीहरूविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा चलाइएको थियो । मनराजसहित तीन जना भने फरार नै रहेपछि अदालतले मुद्दा मुल्तबीमा राखेर पक्रिएकालाई समेत छाडिदियो । सरकारी वकिलको कार्यालयले त्यसविरुद्ध फागुन ०७० मा पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दायर गरे पनि फैसला भएको छैन।

राजनीतिक सम्बन्धकै आधारमा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका सहकर्मी प्रमेशलाई सजाय मिनाहा गराउनसमेत मनराज सफल भए । माओवादी नेतृ खड्काको पहलमा बाबुराम भट्टराई सरकारले ०६९ को दसैँको अवसरमा प्रमेशको मुद्दा मात्र फिर्ता लिएन, नौ वर्ष कैद सजाय बाँकी छँदै सजाय मिनाहासमेत गरििदयो।

दोलखाबाट नेकपा एमालेका सभासद् रहेका पार्वत गुरुङ उनका काका हुन् । सीडीओ कुटपिट प्रकरण र प्रमेशको सजाय मिनाहामा उनले एमाले र नेपाली कांग्रेसको साथसमेत लिएका थिए । एक महिनाअघि मात्रै दोलखा भलिबल संघले आयोजना गरेको कार्यक्रममा गुरुङ प्रमुख अतिथि बनेका थिए। एमाओवादी नेतृ देवी खड्का भने उनलाई कानुनी कारबाहीबाट जोगाउने गरी आफूले कुनै भूमिका नखेलेको बताउँछिन् । भन्छिन्, “मनराज गुरुङजी दोलखाको नागरकि हो । म उहाँलाई त्यही रूपमा चिन्छु । उहाँलाई पक्रिएपछि हामीले सदन अवरुद्ध त गरेका छैनौँ नि ?”

अपराध यात्रा
०५९ रानीबारीमा हेमन्त र अञ्जली श्रेष्ठको हत्या।
०६० गोलढुंगामा लीलामाया गिरीको हत्या।
०६१ गोलढुंगा हत्यामा अदालतद्धारा सामान्य तारिखमा रिहा।
०६२ ज्याठामा काभ्रेली समूहमाथि आक्रमण गर्दा एक जना प्रहरीको हात काटिएको । प्रहरीले मुद्दा चलाएन।
०६३ डाइनेस्टिक डिस्कोका बाउन्सर सुरेश लामालाई घरमै गएर दुइटा खुट्टामा हतियार प्रहार । लामा घाइते । धरौटीमा रिहा।
०६४ दोलखाका तत्कालीन सीडीओ उद्धव थापामाथि कुटपिट । मुद्दा मुल्तवीमा।
०६७ सार्वजनिक अपराध मुद्दामा सामाखुसीबाट पक्राउ । २४ दिनपछि धरौटीमा रिहा।
०६८ सार्वजनिक अपराध मुद्दामै दुईपटक पक्राउ । धरौटीमा रिहा।
०७१ रानीबारी हत्या अभियोगमा पक्राउ । अनुसन्धान जारी।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

5233