गोर्खा इतिहासको साक्षी बनेर बाँचिरहेका समाधिहरू…(भिडियोसहित)

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, पुर्खाहरूको योगदानको सम्मान र स्मरण गर्दै यहाँका नेपालीहरूले हङकङको सा टिनस्थित गोर्खा समाधि स्थलमा गएर पुर्खा दिवस मनाए। त्यहाँ जाँदा हरेक नेपालको मन ढक्क फुल्छ। र भन्न मन लाग्छ, यि बिरानो भूमिमा गोर्खाहरूले पसीना र रगतमात्र बगाएका छैनन् ज्यान पनि गुमाएका छन्। उनीहरू यहाँ कालान्तरसम्म गोर्खाहरूको इतिहासका साक्षी बनेर बाँचिरहेका छन्।

भिडियोमा हेर्नुहोस्

‘गोरखा समाधि स्थलमा ५८० भन्दा बढी पूर्व गोर्खा सैनिक र तिनका आश्रित परिवारका सदस्यहरूको समाधि छन्।’ आयोजक गोर्खा सिमेट्री ट्रष्टका अध्यक्ष नरहाङ राईले भने। ‘यसभन्दा पर जंगलमा करीब ५०० समाधिहरू छन् जुन व्यवस्थित हुन सकेका छैनन्। हामी दुबैतर्फका समाधि स्थलहरू व्यवस्थित पार्ने प्रयाशमा छौं,’ पूर्व बेलायती गोर्खा सैनिकसमेत रहेका राईले भने।

कार्यक्रमको संयोजक संस्था हङकङ नेपालीज फाउण्डेशनका अध्यक्ष किसन राईले पुर्खाहरूको सम्मानमा हरेक वर्ष पुर्खा दिवस मनाउंदै गरेको बताए। यहाँका मुलधारमा नेपाली समाजलाई पनि समाहित गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको राईले बताए।

पुर्खा दिवसमा सहभागी हुन गोर्खा समाधिस्थलमा पुगेका गैरआवासीय नेपाली संघका सल्लाहकार तथा हङकङका पूर्वअध्यक्ष त्रिलोक (याम) गुरूङ आफूले गुमाएका एक सिनियर सहयोद्धाको समाधि नेर टक्क उभिएर केही बेर भावुक भए। अाफूलगायतले समाधिस्थ गरेका एक गोर्खा सैनिकको समाधि स्पर्श गर्दै भने, ‘उहाँको शवलाई मलगायत साथीहरूले समाधिस्थ गरेका हौं, उहाँ मुटुका रोगी हुनुहुन्थ्यो।’ यसो भनिरहंदा उनी निक्कै भावुक थिए। ‘अहिले श्रद्घाञ्जलि दिन पाउंदा हर्ष लागेको छ र विषाद पनि’, उनले भने। उनले पुराना यादहरू ताजा भएको बताए।

पूर्वबेलायती बेलायती गोर्खा सैनिकसमेत रहेका ट्रष्टका कोषाध्यक्ष रत्न खिम्दिमले सान टिनमा रहेका गोर्खा समाधिहरू गोर्खाहरूले बेलायती सैनिकमा कार्यरत रहेको साक्षी र इतिहासको रूपमा रहेको बताए। बेलायती सैनिकमा गोर्खाहरू २०० वर्षदेखि सेवारत रहेको बताउंदै हङकङमा भने भारत स्वतन्त्र भएपछि १९४८ तिर प्रवेश गरेको बताए।

सन् २००३ देखि मनाउंदै आएको पुर्खा दिवसले २००५ बाट औपचारिकता पाएको छ। त्यसयता हरेक वर्ष अप्रिल ५ मा सा टिनस्थित गोर्खा समाधिमा गएर पुर्खा दिवस मान्ने परम्परा बनि सकेको छ।

पुर्खा दिवस मनाउंन यहाँका नेपाली विद्यार्थी, अभिभावक, शिक्षक, नेपाली संघसंस्थाका प्रतिनिधि, स्थानीय चिनीयाँ तथा नेपाली मनहरूसंग नजिक रहेका विदेशीहरू गोर्खा समाधिमा भेला हुने गर्छन्। धुपबत्ती बाल्ने, पुष्प गुच्छा अर्पण गर्ने, पुर्खाहरूको योगदान र महत्वबारे चर्चा साथै बालबालिकाहरूले श्रद्धाञ्जलि गीत तथा कविता वाचन गर्ने गर्छन्।

बेलायतले सन् १९९७ सालमा हङकङ चीनलाई हस्तान्तरण गरेपछि क्यासिनो लाइन भनेर चिनिने क्याम्पलाई चिनीयाँ सैनिकहरूले संरक्षण दिइरहेका छन्। यी समाधिहरू क्यासिनो लाइनको क्याम्प पछाडि अवस्थित छन्। जहाँ हाम्रा पुर्खाहरू चिर निद्रामा सुतिहरेका छन्। यी समाधिहरू गोर्खा इतिहासको साक्षी बनेर बाँचिरहेका छन् र कालान्तरसम्म बाँचिरहने छन्….।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

5635