कतारमा खसक्षेत्रीको बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम-
दोहा । खस क्षेत्री सेवा समाज कतारद्धारा आयोजित नयाँ बर्ष २०७२ को अवसरमा विभिन्न कारणले जेलमा परेका नेपालीहरुको उद्धार तथा नेपालमा दुर्गम पहाडी भेकका स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

दोहाको नज्मास्थित सालिमार प्यालेसमा सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष रेशम बस्नेतले सभापतित्व गरेका थिए। नेपालबाट आएका राष्ट्रिय कलाकारहरु ख्याति प्राप्त लोकदोहोरी गायक राजन कार्की , गायिका तुलसी जिसी र गायक मेक्सम खातीसहित कतारका स्थानीय कलाकारहरुको कार्यक्रममा बजोड प्रस्तुती रह्यो।

बहु प्रतिभाशाली गायक कार्कीले सबैलाई लोभ्याउने खालका गजल सहित आफ्नो प्रस्तुती शुरु गरेका थिए। उनले नेपालका चर्चित गायकहरु रामजी खाड , पुरुषोत्तम न्यौपाने , पशुपती शर्मा र बिष्णु खत्री लगायतका कलाकरहरुको स्वरमा गीत गाएर उपस्थित दर्शकहरुलाई चकित तुल्याए। उनी आफ्नो स्वरबाट अन्य कलाकारहरु समेत कार्यक्रममा उपस्थित भएको अनुभूति दिलाउन सफल बने। नेपालको पूर्बी र पश्चिम क्षेत्रका लोकभाकाहरुका चर्चित गायक राजन कार्कीले पन्चेवाजा र सालैजोको भाकामा दर्शकहरुलाई नचाए। उनले गाउँको सम्झनामा घर शुन्य भो नामक एल्बमबाट ‘छोरीको बिहे भईहाल्यो , छोरो विदेश गईहाल्यो बुहारीको बाटो खुल्यो बजार तिर गईहाली घर शुन्य भो मलाई गाउँ शुन्य भो ’ गीत गाए।

उनको गीतमार्फत परदेशीहरुले एक्लिएका आफ्ना बाबु आमालाई सम्झे । जो धेरै नाच्छ उ धेरै बाच्छ भन्दै उनले डाडाँवारी पिपलु छ डाडापारी समी छ मलाई त सानु तिम्रै कमी छ गाएर पन्चेबाजाको धुनमा उपस्थित दर्शकहरुलाई नचाए। उनले ‘ बोत्तलको पानीले आखाँ सन्काई नानीले ईज्जत गयो पिउने बानीले’ बोलको गीतले कार्यक्रमको माहोल तताएका थिए।

त्यस्तै अग्रज कलाकारहरुको सम्झनामा सिसै काट्यो गोलीले बोलको गीत मार्फत ‘दशी धारा पो नरोए आमा बाभे पठाउला तस्विरै खिचेर’ गाए । त्यस्तै भावनामा डुब्दै उनले अर्को गीत सबै त्याग्थे पैसाले पाउने भा मेरी आमा र्फकेर आउनी भा गाएका थिए । तान्सेन बजार बोलको सालैजो भाकामा उपस्थित बुढापाका देखी तन्देरी सम्मलाई नचाए।

लोकदोहोरी गायिका तुलसी जिसीले दोहाका नसालु ठिटाहरुको आखा राम्रो भन्दै गजल मार्फत आफ्नो प्रस्तुती शुरु गरेकी थिईन्। उनले कार्यक्रममा गजल ‘ म त गुलाफको फूल हो प्रिया जहाँ पनि फुल्न सक्छु , तिमी कतार आएर मलाई भुलेको हौ भने म पनि भुल्न सक्छु ’ सुनाएर ताली पाएकी थिईन्। उनले लोकदोहोरी गीत माया नदेखिनी घरको धुरी देखेनी सुन्तलाले छेकिनी गाएकी थिईन् । उनको अर्को प्रस्तुती जिम्मुवालको आगनीमा गाएर सबैलाई नचाईन । उक्त गित मार्फत उपस्थित दर्शकहरुलाई लक्षित गर्दै ‘ धेरै पछी घुम्दै र्फिदै कतार तिर आईयो , राम्रा राम्रा मान्छेसँग भेट हुन पाईयो , छोड्नै मन लाछैन ’ गाएकी थिईन । उनले बैस जोवन भोली त भेट्न आउ है सेती दोभान बोलको पन्चेवाजामा दर्शकहरुलाई नचाईन्।

लोकदोहोरी गायक मेक्सम खातीको प्रस्तुती धेरै युवा दर्शकहरुले रुचाए। उनले कार्यक्रममा उपस्थित युवतीहरुलाई लक्षित गरेर विच विचमा गजल समेत सुनाए। उनले ‘मलाई पागल पागल भन ठिकै छ तर माया नमार’ बोलको गीत गाए। त्यस्तै लोकदोहोरी क्षेत्रमा उनलाई चिनाएको गीत सानु कहाँ छौ एकै चोटी मुख हेर्ने धोको छ भेट जहाँ छौ गाए। उनले अर्को प्रस्तुती पस्कदै मान्छे राम्री गाजले गाजले बोल्न खोज्छु निउरिन्छु लाजले गाएर कार्यक्रममा उपस्थित जोडी युवा युवतीलाई मख्ख पारेका थिए। उनका सबै प्रस्तुतीहरु युवा युवतीलाई लक्षित थिए। उनले साह्रै राम्री नसालु नसालु कसो गरी दिल भित्र बसालु व्युटी व्युटी छ जता मेरी मायालु उतै डिउटी गाए।

कार्यक्रममा उपस्थित अतिथी कलाकारहरुको दोहोरी घम्साघम्सी भयो। गायक कार्कीले उकाली होस वा ओराली होस्, विचमा एउटा ससुराली होस्, काली होस वा गोरी होस एउटी राम्री साली होस गजल सुनाउदै दोहोरी गाएका थिए। उपस्थित ३ कलाकारहरुको माया जाल बुन्छु म झिमझिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु बोलको गित मार्फत माया पिरतीका कुरालाई तछाड मछाड गर्दै दोहोरी घम्साघम्सी गरे। दोहोरीमा उपस्थित दर्शकहरु स्टेजमा नै नाचेर भरपूर मनोरञ्जन लिए।

कार्यक्रममा गायिका रमा अर्यालले गित मार्फत भुली गयो प्रदेशीले छिट्टै फर्की आउछु भनी, पखाई मै दिन बित्यो माया लाउछु भनी गाएर घर परिवारलाई सम्झन आग्रह गरिन्। त्यस्तै कतारका स्थानीय कलाकरहरु गायक केशव लामाले ‘तुलसी आगनमा रोपौला ’ र , गायक शिव पौडेलले ‘हावा चल्यो सरर डाडैको वर ’ बोलको गित गाएका थिए। एभरेष्ट युनिक गुप्रका कलाकारहरुको नृत्यले दर्शकहरुलाई लोभ्यायो। प्रवासको ठाउमा उनीहरुको नृत्य धेरै दर्शकहरुको मन मुटुमा बस्न सफल बनेको छ। कार्यक्रममा भगवती नेपालीको एकल नृत्य रहेको थियो। कार्यक्रममा भुवन केसी र भुमिराज दाहालले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा भर्खर नेपालबाट आएका बाल नृत्यकार दिवान्त गोदारको नृत्यले कार्यक्रममा रौनक थप्यो। सानो उमेरमा उनी नृत्य गर्न माहिर छन्। उनले ‘जुनको ज्योती ल्याएर दिन्छु पनि भन्दिन म ’ र झमझम इष्टकोट ’ बोलको गीतमा गरेका नृत्य देखेर दर्शकहरु चकित परे। कुनै व्यवासायिक कलाकारको जस्तो प्रस्तुती गरेका गोदार भर्खर १३ बर्ष पुगेका छन्।

कार्यक्रममा जेलमा रहेका पीडित नेपालीहरुको सहयोगार्थ भन्दै प्रवासी लाहाचोक समाज कतारको रोहवरमा नगद रकम हस्तान्तरण गरियो। कार्यक्रमको उद्धेश्य अनुरुप लगभग १० हजार कतारि रियाल सहयोग जुटेको कार्यक्रममा बताईयो। कार्यक्रममा कलाकार तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सम्वन्य समितिका उपाध्यक्ष टिबी कार्कीले कस्ता प्रकृतिका अपराधमा जेल परेका छन् तिनीहरुलाई मध्यनजर गर्दै सहयोग गर्नु पर्ने भन्दै साँस्कृतिक कार्यक्रमले नेपालमा नै रहेको अनुभूति मिलेको बताए।

कार्यक्रमको व्यानर अनावरण,राष्ट्रिय गान , दिप प्रज्वलन र मौन धारण गरी उद्घाटन गरिएको थियो। स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष दोण्र बस्नेतले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पारेका थिए। औपचारिक कार्यक्रमलाई संस्थाका महासचिव खगेन्द्र कार्की र सांगीतिक कार्यक्रमलाई संस्थाका सदस्य श्याम डिसीले सञ्चालन गरेका हुन।

कार्यक्रममा एनआरएनए कतारका उपाध्यक्ष कुमार कार्की, जनसम्पर्क समितिका उपसभापति देवराज अवस्थी , प्रवासी मञ्चका अध्यक्ष, जनप्रगतीशिल मन्चका अध्यक्ष होमनाथ शर्मा, पत्रकार महासंघ कतार शाखाका सचिव मोहम्मद अजिज अली, संस्थाका प्रमुख सल्लाहकार हंशराज ढकाल क्षेत्री, सल्लाहकारहरु सागर नेपाल, गुरुनारायण रानाभाट, समाजसेवी तथा बुद्धिजीवी कमलमणी गुरागाईलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलगायत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

5690