पोखरामा बोलबम जलयात्रा (फोटो फिचरसहित)

विजय नेपाल / एचकेनेपाल डट कम-
पोखरा।‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम बैदाम, पोखराले आयोजना गरेको बोलबम (शान्तिपद शिव जलयात्रा) कार्यक्रम सोमबार सुरु भएको छ।

हजारौं भक्तजनले बगरस्थित सेतीनदी किनारबाट पवित्र जल उठाइ गाइघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जलार्पण गरेका हुन्। आयोजकका अनुसार यो कार्यक्रम साउनका चार वटै सोमबार चल्नेछ।

बैदामस्थित केदारेश्वर मन्दिरमा जल चढाउन भक्तजनको बिहानैदेखि दिउँसोसम्म घुइँचो लागेको थियो। केदारेश्वर मन्दिरले जल चढाउने कार्यक्रमलाई थप व्यवस्थित गर्दै अघिल्ला वर्षझै यस वर्ष यो कार्यक्रम आयोजना गरेको मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्यले बताए। बोलबम कार्यक्रमलाई व्यवस्थित बनाउन केदारेश्वर मन्दिरका चारवटै द्वार खुला गरी भक्तजनलाई पूजाआजा गरी जल चढाउने व्यवस्था मिलाइएको थियो।

साउन महिनामा भगवान शिवको आराधना गर्दै शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संजोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको बोलबम संयोजक शंकर खरालले बताए। केदारेश्वरमा मुलमन्दिर बाहेक परिसरमा समेत भक्तजनलाई जल चढाउन १०८ वटा शिवलिङ्ग स्थापना गरिएको छ। गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रा गरेर मन्दिरमा पुगेर १०८ शिवलिङ्गमा जल चढाउन पाउँदा आफूलाई निकै सन्तुष्टी मिलेको सहभागी भक्तजनले प्रतिक्रिया दिए।

सोमबार ब्रत बसी बगरस्थित गाईघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने बोबलम कार्यक्रम पछिल्लो वर्ष सँस्कृतिको रुपमा विकास भएको छ। १२ औं संस्करणको बोलबम कार्यक्रममा पनि भक्तजन जल लिन बिहानै गाइघाट पुगेका थिए। भजनकीर्तनसहित पैदलयात्रा गरी बैदामस्थित केदारेश्वर मन्दिर पुगेका थिए। बोलबममा केटाकेटी, युवायुवतीसहित वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता थियो। कतिपय युवतीहरु कलेज ड्रेसमै पनि जल चढाउन मन्दिरमा लामबद्ध देखिन्थे।

बोलबम कार्यक्रममा साँस्कृतिक संयोजकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीको स्वरमा गेरुबस्त्र धारणा गरेका भक्तजन पञ्चेबाजाका साथ भजनकीर्तन सडकमा नाँच्दै हिड्दा पोखरा पूरै बोलबममय बनेको थियो। बिहान गाइघाटबाट निस्केको र्याली विन्ध्यबासिनी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्जनाचोक हुँदै मन्दिरमा पुगेको थियो। र्यालीमा बोलबम भजन समूह, राष्ट्रिय लोकभजन चुड्का सँस्कृति प्रतिष्ठान, दैवीशक्ति ज्योतिष तान्त्रिक समूह, अन्नपूर्ण भजन समूह, महाप्रभुधाम भजन समूह, घार्मी भजन समूह, लाहाचोक भजन समूह, महाकालेश्वर भजन समूह, पञ्चेबाजा मगर समूहलगायत आमा समूह, क्लब, स्काउट, विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।

मन्दिरमा पुग्ने भक्तजनलाई इच्छापूर्ण हनुमान मन्दिर तथा मारबाडी समाजले प्रसाद खुवाउन आर्थिक सहयोग गरेको थियो। र्रयालीमा सहभागी भक्तजनलाई राजभण्डारी ट्रान्सफर्मर, चिप्लेढुंगा सस्तो बजार, सिर्जनाचोकस्थित व्यवसायीलगायतले सर्वतपानी खुवाएर सहयोग गरेका थिए भने नाङ्गो खुट्टामा रहेका भक्तजनलाई सडकमा ट्याङकरले पानी छर्केर हिड्न सहज पारिएको मन्दिरका उपाध्यक्ष दयानन्द पोखरेलले बताए। यस्तै पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचनले गाईघाट जानका लागि भक्तजनलाई आफ्नो बसमा निःशल्क यात्राको व्यवस्था मिलाएका थिए। बोलबम सुरक्षा व्यवस्थामा विजयपुर व्यारेक, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा ट्राफिक प्रहरीले सहयोग पुर्याएका थिए।

साउन महिनामा भगवान शिवको आराधना गरी शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने धार्मिक मान्यता रहेको हुँदा साउन महिना भगवान शिवको महिना भएको भन्दै बोलबम भक्तजन साउनमा शिवको आराधना गर्दछन्।


सबै तस्वीरहरूः विजय नेपाल / एचकेनेपाल डट कम





Comments

comments

571