कलाकारको जम्बो टोलीले यसरी धमाका मच्यायो कतारमा

घनश्याम पराजुली (कृष्ण)/ एचकेनेपाल डट कम –
दोहा । नयाँ बर्ष २०७२ सालको अवसर पारेर शुक्रबारका दिन सनैयाको ग्राण्ड मल नजिकैको वेष्टईन्ड पार्कमा नेपाली नयाँ बर्ष धमाका सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली चलचित्र, लोकगीत, पपगीत, आधुनिक गीत, नृत्य र हांस्यब्यग्यको क्षेत्रमा सुपरिचित डेढ दर्जन नेपाली कलाकारहरुको प्रस्तुती रह्यो। कतारमा पहिलो पटक यती ठुलो कार्यक्रम भएको हो। कतारमा पहिलो पटक ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उल्लेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो।

बक्स अफ ईभेन्ट कम्पनीकोे प्रस्तुतीमा अल जमान एक्सचेन्ज र भिजन गुप्रले कार्यक्रमलाई आयोजना गरेका हुन्। कार्यक्रममा चलचित्र क्षेत्रका महानायक राजेश हमालले साथीहरुको लागि यो हात सलाम हो, शत्रुको लागि यो हात फलाम हो भन्दै नायिका प्रियङ्का कार्कीको साथमा अभिनय तथा नृत्य प्रस्तुत गरेका थिए। उनीहरुले मलाई पनी अंग्रजीमा बोल्न सिकाईदेउन, पिरतीको मिठो तिर्सना र रातो टिका निधारमा टलक्कै टल्कियो बोलको गीतमा नृत्य प्रस्तुत गरे।

स्टेजमा युवाहरु विदेशिनुको पीडासँगै लाहुरे बनेर ३ बर्षपछि आफ्नो घर फर्किदा परिवारलाई मिल्ने खुसी अभिनय मार्फत दर्शकहरु सामु प्रस्तु गरियो। महानायक हमालले स्टेजबाट प्रवासीहरुलाई लक्षित गर्दै हामी विश्वको जुनै कुनामा भएपनि नेपाललाई माया गरौ, नेपाली कला र सँस्कृतिलाई माया गरौ भनेपछि दर्शकहरु हौसिएका थिए। उनले कतारमा यो पाचौं भम्रण रहेको बताए। त्यस्तै कार्यक्रममा नायिका सुस्मा कार्कीसँग उध्रेको चोली छ है त्यही पनि लाईन्छ बोलको गीतमा महानायक हमाल नाचेका थिए।

कार्यक्रममा राई ईज किङ्गले चिनिने गायन क्षेत्रका चर्चित गायक राजेश पायल राईले नयाँ बर्षको शुभकामनाका साथमा दर्शन नमस्ते कतार भन्दै प्रस्तुती शुरु गरेका थिए। उनले नेपाली चलचित्र नाई नभन्नु ल बाट ‘तिमी सँगै जिउने मर्ने चाहाना छ मेरो , म तिमी बिना अधुरो तिमी म बिना अधुरो फेरी फेरी फेरी नाई न भन्नु ल ’ गाएर दर्शकहरुलाई भरपूर मनोरन्जन दिन सफल भए। उनी लोकगीत दिक्तेल बजार गाएर दर्शकहरुलाई नचाउन सफल बने। त्यस्तै बल्ल बल्ल भेट भो दर्शन नमस्ते र मोहनी लाग्ला है राजेशको बोलीले गाएका थिए। उनको प्रस्तुतीमा इन्दिरा जोशी, माल्भिका सुब्बा र तक्मे बुढाले नाचेर साथ दिए। उनले म त मुर्छ कि क्या हो ठूली बोलको गीत गाउदा दर्शकहरुको माया पाए। यस गीतमा गायिका इन्दिरा जोशीले उनलाई साथ दिएकी थिईन्।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी नायिका प्रियङ्का कार्कीले नेपाली पोशाकमा आफ्नो प्रस्तुती गरिन्। उनले मै राम्री हो कि मेरो जवानी, मेरो मन नौनी जस्तो र नाई न भन्नु ल बोलको गीतमा नृत्य गरेकी थिईन्। उनको नृत्यले उपस्थित दर्शकहरुलाई लोभ्यायो।

नेपाली साकिराको रुपमा चिरपरिचित गायिका ईन्दीरा जोशीले कम्मर मर्काउदै आफ्नो प्रस्तुती शुरु गरिन्। उनले ‘सानु माया आउन वर भन्छन् सबै गाउँका मोरा’ र ‘उधे्रको चोली छ है त्यही पनि लाईन्छ’ गीत गाएकी थिईन्। उनको पोसाकले दर्शकहरुलाई लोभ्यायो। त्यस्तै अर्की पप गायिका सिमा संग्रौलाले एक्लो रातलाई सुस्तरी बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेकी थिईन्। उनले यो मन तिमी तिरै सह्रयो बोलको गीत मार्फत दर्शकहरुको मन जित्न सफल भईन्। हास्यकलाकार विल्सम बिक्रम राई (तक्मे बुढा ) ले कतारमा सबै जनासँग लाईट बल्ने मोबाईल रहेछ भन्ने खबर नेपाल पुर्यादिने भन्दै नेपाल बन्दको बारेमा व्यङ्ग्य हाने। आफैसँग आएका कलाकारहरुलाई समेत उनले छाडेनन्।

कार्यक्रममा नायिकाहरुले नृत्य गर्दा कम्मर मुनि भिडियो तेर्साउने हामी आउदा चाहीँ लुकाउने भन्दै व्यङ्ग्य गरिरहेका उनको प्रस्तुतीले बिदेशी क्यामारामेन आफ्नो क्यामरा नै छोडेर हिड्न बाध्य बनाए। प्रेम गर्नु जाति हो, प्रेम गर्नु दिनमा भन्दा राति हो किनभने तिम्रो बाउ र म सँगै तास खेल्ने साथी हो भन्दै व्यग्यात्मक प्रस्तुती गरेका उनले दर्शकहरुलाई हसाएर भरपूर मनोरन्जन दिन सफल भए।

लोकदोहोरी क्षेत्रमा अति नै नाम कमाउन सफल लोकगायक मिलन लामाले ‘छम छम नाचिदेउ निउरेर, हातमा रुमाल कानमा फुल सिउरेर‘ माझि दाई पोखरा फेवातालको लाउ माया साच्चैको नलाम भो ख्याल ख्यालैको ’ र ‘लालु पाते फुल छैन पात मात्रै , बेसारेको रुप छैन मुख मात्रै’ गाएका थिए। धेरै पटक कतार आईसकेका गायक लामाले स्टेजबाट अरविकमा समेट फ्याट् फुट्न बोलेका थिए। उनले नेपाली नयाँ बर्षको शुभकामना दिदै पानी मिठो कलको प्रदेशमा बसे पनि नेपालकै झल्को भन्दै दर्शकहरुको ध्यान स्टेजतिर केन्द्रित गर्न सफल बने।

हट नायिका सुस्मा कार्कीले को होला मेरी मायालु लै बरी लै बोलको गीतमा नृत्य प्रस्तुत गरिन्। उनले महानायक राजेश हमालसँग समेत नृत्य प्रस्तुत गरेकी थिईन्। उनलाई देखेर रात ढल्दै जादा दर्शकहरुमा समेत उत्ताउलोपन बढिरहेको थियो।

मिस नेपाल माल्भिका सुब्बाले सन्चालन गरेको कार्यक्रममा नृत्य निर्देशक तथा मोडल शंकर बिसी र नृत्याङ्गना रश्मी तामाङ्गले ‘झिम्काईदेउ परेली ’, ‘चाडै आउ भेट्नलाई ’ , ‘तिमी राम्रो हाँसोले’ र ‘तिते करेलीले’ बोलको गीतमा नृत्य प्रस्तुत गरे। फुरफुर गर्ने पुतली र के कुरा गर्ने हो दही छाडेर महीको बोलको गीतमा जोडी नृत्य गरेका थिए। उनीहरुको जोडीलाई कतारका दर्शकहरुले अत्याधिक मन पराए। उनीहरुको कार्यक्रममा लोकदोहोरी गायिका चन्दा अर्यालले ‘उडी हिड्ने चरीलाई बसन्त प्यारो, गरी खाने किसानलाई बर्षभरीको बाली प्यारो अनी मातिएका भेनालाई स्वास्नी भन्दा साली प्यारो ’ गजल सुनाएर आफ्नो प्रस्तुती शुरु गरेकी थिईन। उनले ‘ गाउँ घरमा हुर्किएकी कान्छी म बोल्न डराउछु’ , ‘पहिलो भेटमै अनौठो पाराले नजर जुद्यो यार ’, ‘म भन्छु आई लभ यू ’ ‘खान्न म त पिडालु कोक्कायो’ जस्ता गीत गाएकी थिईन्। गायक मिलन लामा र गायिका अर्यालले कार्यक्रममा दोहोरी समेत खेल्न भ्याए। उनीहरुको माया पिरतीका कुरा र विदेशका कुरालाई जोड्दै लालु पाते नुग्यो भुई तिर बोलको गीतमा दोहोरी घम्साघम्सी भयो।

कार्यक्रममा भोजपुरी नायिका तथा नृत्याङ्गना डली सरकारले ‘झुङ्गी लगा प्यारका ’ र ‘लभ्ली होगया ’ बोलको गीतमा नृत्य प्रस्तुत गरिन्। उनको यो पन्ध्रौं कतार भम्रण हो। अर्का भोजपुरी तथा मैथिली गायक आभाष लाभले सैयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्दै आफ्नो प्रस्तुती शुरु गरे। उनले लाईभ बाजाको साथमा भोजपुरी, मैथिली र हिन्दी गीत प्रस्तुत गाएका थिए। उनी पेसाले डाक्टर हुन्। अर्की गायिका सुनिता शाहले भोजपुरी र मैथिली गीत गाएर दर्शकहरुलाई नचाउन सफल भईन्। नविन लामाको संयोजनमा कार्यक्रम सन्चालन भएको हो।

कार्यक्रममा आयोजक संस्थाहरुले नेपालको बृद्धाश्रम तथा अनाथ बालबालिकाको सहयोगार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। महानायक राजेश हमालको हातबाट उक्त चेक क्रिस्टल युवा क्लव नेपालका उपाध्यक्ष एलडी शेर्पालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा मिस्टर लाईटले आफ्नो नयाँ उत्पादन गायिका इन्दिरा जोशीको हातबाट लोकार्पण गरेको थियो।

लगभग १० हजार नेपाली दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली दूतावास कतारका कार्यवाहक राजदूत गणेश ढकाल, द्वितीय सचिव नितेश सापकोटा, अल जमान एक्सचेन्ज, भिजन गुप्र, सफारी मल, स्टार वल्ड, हिमाल रेमिट, ओरिडुका पदाधिकारीहरु साथै आयोजक तथा प्रायोजक लगायत नेपाली समुदायका अगुवाहरुको समेत उपस्थिती रहेको थियो। कतारमा पहिलो पटक व्यवस्थित तवरले नेपालीहरुले भरपूर मनोरन्जन लिएका छन्। कार्यक्रमलाई बेलुन उडाएर औपचारिक उद्घाटन गरिएको थियो।





Comments

comments

Leave a Reply

5816