बिरामी छाडेर फर्किए डाक्टर

जाजरकोट– बैशाख ७ – प्रभावित क्षेत्रमा खटिएका चिकित्सक महामारी नियन्त्रणमा आइनसक्दै फर्कन थालेका छन्। बढी प्रभावित अर्छानी, टालेगाउँ र पैंकमा अझै थुप्रै बिरामी रहे पनि चिकित्सकहरू सदरमुकाम फर्कन थालेका हुन्।

तीन जनाको मृत्यु भएको अर्छानीमा खटिएका मिसन अस्पताल, चौरजहारीका डा. सुमन राई शुक्रबारै त्यहाँबाट हिँडेका छन् भने छ जनाको मृत्यु भएको टालेगाउँमा खटिएका नेपाली सेनाका डाक्टर प्रणय कार्की बिहीबारै फर्किसकेका छन्। १० जनाको मृत्यु भएको पैंकमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर विभान्त शाह पनि शनिबार सदरमुकाम हिँडिसकेका थिए। तर, ढिमेको घरंगामा एक्कासि बिरामीको चाप बढेपछि उनी त्यहीँ अडिएका छन्।

पर्याप्त औषधि पाउनै मुस्किल भइरहेका बेला बिरामीलाई अलपत्र छाडेर डाक्टर हिँडेपछि स्थानीयमा त्रास बढेको छ। अर्छानीमा खटिएका डा. राईको टोली शुक्रबार दिउँसो साढे २ बजे फर्किएको स्थानीय रणबहादुर शाहीले बताए।

‘बिरामी बाँकी नै छ, डाक्टरहरू हिँडेपछि त्रास झन् बढेको छ,’ उनले भने। मिसन अस्पतालको टोलीले अर्छानीमा तीन सयभन्दा बढीको उपचार गरेको थियो। चिकित्सकले अर्छानीका ९ जनालाई स्वाइनफ्लु हुन सक्ने जनाएपछि स्थानीय थप आतंकित छन्।

बिहीबार फर्किएको नेपाली सेनाको चिकित्साटोलीले टालेगाउँमा दुई दिनसम्म शिविर चलाएर ६ सय १ जनाको उपचार गरे पनि त्यहाँ अझै बिरामी बाँकी छन्, नागरिक दैनिकमा समाचार छ। सेनाका डाक्टर कार्कीले माथिको आदेशअनुसार आफूहरू प्रभावित क्षेत्रबाट हिँडेको बताए। ‘हामीलाई जति दिन शिविर सञ्चालन गर्न आदेश हुन्छ, त्यति मात्रै बस्न मिल्छ,’ उनले भने। गाउँमा महामारी अझ बढ्दो क्रममा रहेको भने उनले स्विकारे।

मिसन अस्पतालका डा. राईले आफूहरूले स्वयंसेवाका रूपमा अर्छानीमा एकदिने शिविर चलाएर सहयोग गरेको बताए। ‘यहाँ पनि केही व्यक्तिमा स्वाइनफ्लु लक्षण देखिएको छ,’ उनले भने। जिल्ला अस्पतालका डाक्टर शाहले प्रकोप नियन्त्रणमा आएकाले आफू सदरमुकाम फर्किएको दाबी गरेका छन्। तर, उनले भनेजस्तो महामारी नियन्त्रणमा आइनसकेको स्थानीय बताउँछन्। गाउँमा अझै बिरामी बाँकी छन्।

स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले सल्यान र काठमाडौंबाट आएका चिकित्सकको टोली उपचारका लागि नायकवाडा र मजकोटतर्फ लागेको जानकारी दिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5859