आफ्नो परिवारको शव ५ दिनपछि आफैंले निकाल्दा…

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, वैशाख १८ – शनिबारको दिन। सातामा एक दिन सबै परिवार सँगै बसेर खाना खाने र घरायसी कुराकानी गर्ने दिन। गएको शनिबार प्रजापति परिवारका सबैले बिहानको खाना खाएर हातमात्रै के धोएका थिए, सुरु भयो भूकम्पको ताण्डव। सँगै खाना खाएकामध्ये तीनजनाले त ऐय्या भन्न पनि पाएनन्।

गौतम प्रजापति र उनकी छोरीपट्टिकी पाँच वर्षीया नातिनी सिर्जना कोजुलाई भने भूकम्पले हुत्याएर अर्को घरको छतमा पुर्‍यायो। गौतमकी ७७ वर्षीया आमा छोरीमाया, ५० वर्षीया पत्नी रामेश्वरी र ३० वर्षीया छोरी सजनालाई त्यही भूकम्पले निल्यो, अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।

घरका तीनजना गुमाउँदा गौतमले कति पीडा सहनुपर्यो होला- कल्पना गर्दा पनि कहाली लाग्छ। जीवन जिउन सिकाउने आमा, दु:खसुखमा साथ दिने पत्नी र आफूलाई भन्दा बढी माया गरेर हुर्काएकी छोरी गुमाउँदाको पीडा कमजोर मानवीय हृदयले न मापन गर्न सक्छ, न सहन नै।

यो प्राकृतिक विपत्तिलाई सहनुबाहेक अरू विकल्प के नै थियो र गौतमसँग। त्यही भएर उनले त्यसलाई भित्रभित्रै लुकाएर भग्नावशेषमा पुरिएका उनीहरूको शव निकालेर दाहसंस्कार छिटै गर्न धेरै कोसिस गरे।

जीवनका सबै सहारा गुमाएका गौतमलाई परिवारका सदस्य गुमाउँदा जुन पीडा भयो, त्योभन्दा बढी पीडा उनीहरूको शव निकालेर दाहसंस्कार गर्न भयो। तीनैजनाको शव निकाल्न गौतमले भनसुन नगरेका न कुनै दलका नेता बाँकी छन्, न त प्रहरीका हाकिम नै।

‘यो क्षेत्रका सभासद्देखि प्रहरी अधिकृत कसैलाई फोन गरेर शव निकाल्न सहयोग गर्न नभनेको व्यक्ति छैन’, छिनभरमा भग्नावशेष बनेको घर हेरेर टोलाइरहेका गौतमले बिहीबार अन्नपूर्णसँग भने, ‘सरकार र राज्यका कुनै पनि निकायले शव निकाल्न वास्ता नगरेपछि आफैंले छरछिमेक र नातागोता बोलाएर निकालें। मलाई कस्तो महसुस भएको छ भने हामी राज्यबिनाका नागरिक हौं।’

महाविपत्तिमा परेकाको उद्धारका लागि भारत, चीन, बेलायत, अमेरिकालगायत एक दर्जन देशका उद्धारटोली अहिले नेपालमा खटिएका छन्। कतिपय देशलाई त उद्धार टोली आवश्यक छैन भनेर गृह मन्त्रालयले फिर्तासमेत गरेको छ। तर राजधानीमै घरले थिचिएका शव बिहीबारसम्म पनि निकाल्न सकिएको छैन।

उद्धारका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको भन्छन् गृहमन्त्री वामदेव गौतम दिनदिनै टेलिभिजनबाट। वास्तविक पीडितको हालत कस्तो छ भन्ने बलियो उदाहरण हुन् गौतम प्रजापति।

बालाजु चोकबाट दुई मिटरको दूरीमा थियो गौतमको पुरानो घर। त्यहाँ पुग्न दुई सय मिटरको दूरीमा रहेको प्रहरी र केही किलोमिटरको दूरीमा रहेको सेनालाई केही अवरोध थिएन। ‘फोन ग:यो, पठाउँछु भन्छन् तर बाटो हे:यो, कोही आउँदैनन्’, गौतमले भूकम्पपछिका पाँच दिनसम्मको पीडा सुनाउँदै भने, ‘उद्धारमा कोही नआएपछि आफैंले छरछिमेक र नातागोताको सहयोगमा शव निकालें।’

गौतमका अनुसार उनलले शव निकालिसक्नै लाग्दा टुप्लुक्क उद्धार टोली देखियो। ‘काम सकिएपछि बल्ल सशस्त्र र भारतीय सेनाको टोली आयो तर उनीहरू हेरेर मात्रै फर्किए’, उनले भने।

सम्पत्तिको नाममा भएको एउटा घरले परिवारै लग्यो। अब उनको न बस्ने बास छ, न कसैको आस र भरोसा नै। उनले दैनिकजसो विदेशीले करोडौं रुपैयाँ सहयोग दिएको सुन्दै आएका छन्।

तर उनले अझैसम्म एक चिम्टी नुन पनि सहयोगबापत पाएका छैनन्। ‘हाम्रो यो टोलका लागि मात्रै सय थान टेन्ट आएको सुनेको थिएँ’, गौतमले भने, ‘तर हामी अहिले पनि खुला आकाशमा सुत्न बाध्य छौं।’

सरकारले बालाजु क्षेत्रका लागि मात्रै एक हजार टेन्ट र सोहीअनुसार खाद्यान्न पठाएको जनाएको छ। तर टोलका खुला चौर र स्कुलमा ओत लागेका सर्वसाधारणले प्लास्टिक र बोराले बारेर रात काट्ने बन्दोबस्ती गरेका छन्।

‘यो क्षेत्रका लागि आएको राहत सबै यहाँ बस्ने नेताहरूले आफ्नो गाउँ पठाएको सुनेका छौं’, उनले आक्रोश पोख्दै भने, ‘हामी कसैले अहिलेसम्म सरकारबाट केही पनि पाएका छैनौं।’

टोलका कसैले परिवार गुमाएका छन् त कसैले घर गुमाएका छन्। कोही घाइते छन्। यस्तै यस्तै पीडामा रहेका त्यहाँका स्थानीयले राजनीतिक दलका नेतामार्फत राहत बाँड्न नहुने सुझाव दिए।

‘राजनीतिक दलमार्फत राहत वितरण गर्ने हो भने सबै उनीहरूले घर लैजाने र जिल्ला पठाउने गर्छन्’, स्थानीय शंकर डंगोलले भने।





Comments

comments

Leave a Reply

6239