एनआरएनको टोली बारपाक पुगेपछि …

एचकेनेपाल डट कम संवाददाता –
काठमाण्डौ, मुलुकमा आएको बिनासकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लाहरुमा राहत बितरणका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दुई दिनमा तीन जिल्लाको भ्रमण गरी भूकम्प पिडीतलाई आपतकालिन राहत बितरण गर्नुभएको छ।

दोस्रोपटकको भूकम्पले क्षति पुर्‍याएको सोलुखुम्बु र दोलखाका बिभिन्न गाउँमा पुगेर अध्यक्ष घलेले राहत वितरण गर्नुभएको छ।

जेठ २ गते शनिवार सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष घलेसहितका गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले भूकम्प पिडीतलाई राहत बितरण गर्नुभयो। कार्यक्रममा अध्यक्ष घलेले वास्तविक पिडीतसम्म राहत पुर्‍याउन आफुहरु गाउँगाउँ पुगिरहेको बताउनुभयो।

सो अबसरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले पछिल्लो भूकम्पबाट सोलुखुम्बुमा करिव २ हजार घर भत्किएको र करिव ५० जनाले ज्यान गुमाएको जानकारी दिनुभयो। धेरै क्षति भएपनि संकटग्रस्त घोषणा नहुँदा पर्याप्त राहत आउन नसकेको भन्दै ढकालले यस्तो अबस्थामा पनि गैरआवासीय नेपाली संघले राहत वितरण गरेकोमा आभार प्रकट गर्नुभयो।

३४ गाविस रहेको रहेको सोलुमा नाम्जे,खुम्जुङ, चौंरीखर्क, बासा, काकु, सोताङ, बाकु, लुक्ला सल्लेरी लगायतका ठाउँ धेरै क्षतिग्रस्त भएको ढकालले जानकारी दिनुभयो। उहाँले राहत वितरणमा गैरआवासीय नेपाली संघलाई सक्दो सहयोग गर्ने वाचा गर्नुभयो। सो कार्यक्रममा संघका उपाध्यक्ष टीवी कार्की, एमआईटी ग्रुप फाउण्डेसनकी अध्यक्ष जमुना गुरुङ र एनआरएन आईसीसी सचिव रञ्जु थापा र आईसीसी सदस्य एसी शेर्पालगायतको उपस्थीति थियो।

सल्लेरीबाहेक नाम्चे, लुक्ला र ताप्तिङमा पनि गैरआवासीय नेपाली संघले राहत वितरण गर्दै छ। ती ठाउँमा राहत सामाग्री पुर्‍याउने क्रम जारी छ। उपाध्यक्ष टीवी कार्की र आईसीसी सदस्य एसी शेर्पाले ती ठाउँहरुमा राहत वितरण गर्नुहुने छ।

यसैगरी गैरआवासीय नेपाली संघले दोस्रो भूकम्पबाट ठूलो क्षति भएको दोलखा जिल्लामा पनि राहत वितरण गरेको छ। अध्यक्ष शेष घलेले आइतबार दोलखाको काटाकुटी गाविसमा राहत वितरण गर्नुभयो।

गैरआवासीय नेपाली संघले त्यहाँका एक हजार ३ सय परिवारलाई पुग्ने त्रिपाल, कम्बल तथा खाद्य सामाग्री राहत स्वरुप वितरण गरेको छ।

बारपाकमा पुर्ननिर्माणबारे छलफल
यसैवीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको टोलीले आइतबार पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँ पुगेर पुनःनिर्माणबारे स्थानीयबासीसँग छलफल गरेको छ।

झण्डै १४ सय परिवार रहेको पर्यटकीय बारपाक गाउँ अहिले खण्डहर बनेको छ। अध्यक्ष घलेले त्यहाँका स्थानीयबासीसँग कसरी पुर्ननिर्माण गर्न सकिन्छ, उनीहरुको चाहना कस्तो गाउँ बनाउने छ लगायतका बिषयमा छलफल गर्नुभयो।

स्थानीयबासीले आफुहरु बारपाकलाई पुननिर्माण गरेर नमुना गाउँ बनाउन चाहेकाले त्यहाँबाट बसाई सराई नगर्ने बताए। उनीहरुले भूकम्प प्रतिरोधी तर स्थानीयपन झल्किने घरहरु बनाउन चाहेको बताएका थिए। फेरि पनि बारपाकलाई पर्यटकीय गाउँ बनाउने र होमस्टे लगायतका सम्भावना खोजी गर्ने उनीहरुले बताए। खेतीपाती पर्याप्त नहुने भएकाले पर्यटन लगायतका आयआर्जनको स्रोतको पनि बिकाश गर्नुपर्ने उनीहरुको जोड थियो।

  
भूकम्पले ध्वस्त बारपाक गाउं





Comments

comments

Leave a Reply

6564