कोरियाका नेपालीबाट ‘नमूना गाउँ बनाउ’ अभियान

खेम कार्की –
दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालको भूकम्प पीडितको लागि ठूलो सहयोग गरेका छन्। नेपाली मात्र हैन कोरिया सरकार यहाँका विभिन्न निकाय तथा ठाउंठाउमा स्थानीयले समेत नेपालीहरुलाई खुलेरै सहयोग गरे।

२०७२ साल बैशाख १२ गोरखाको बारपाकलाई मध्यविन्दु बनाएको विनाशकारी भूकम्प होस या २९ बैशाख दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प यसले देशलाई धेरै ठूलो क्षति भएको छ । कोरियामात्र हैन देशमा रहेका विभिन्न निकाय र प्रवासमा रहेका नेपालीहरुले पनि खुलेरै देशलाई सहयोग गरिरहेका छन्। दाताहरुबाट पनि ठूलो सहयोग आइरहेको छ। सहयोगी हातहरु बढिरहेका छन् तर यस संगै प्राप्त भएका सहयोगहरु सम्बन्धित ठाउमा पुग्छ पुग्दैन अनि यसको सही सदुपयोग हुन्छ कि हुदैंन भन्नेमा पनि धेरैको चासो छ।

अब देश र सरकारप्रति नागरिकको विश्वास बढनु पर्छ तत्काल यसको लागि सरकार र राजनीतिक दलहरुले पहल गर्नुपर्छ। मुख्य सचिव लिलामणी पौडेलले कर्मचारी संयन्त्र र राजनीतिक दलहरुलाई बदनाम गरेर बाँकी जम्मै राम्रो भन्ने हो भने भद्रगोल बाहेक केही नहुने भन्दै उनले भनेका छन् “अहिले हामीले खोजेको समन्वय हो,यसमा हात जोडौं। ”अहिलेको समय नराम्रो मात्र भएको छैन धेरै राम्रो भएको छ।

सरकार निकाय सेना, प्रहरी,शसस्त्र प्रहरी ले जनताको विश्वास जित्ने गरी काम गरे। सरकारको भनेर चिनिएको नेपाल टेलिकमले निजी क्षेत्रको संचारभन्दा राम्रो र निशुल्क सेवा दियो, रेडियो नेपालले भूकम्प आएको ३ मिनेटमै हामी तपाईको साथमा छौं भनेर सूचना प्रवाह गर्यो। कतिपय कर्मचारीहरुले पनि राम्रै काम र सहयोग गरेकै छन्। यो कुरालाई हेर्ने हो भने मुख्य सचिव पौडेलको कुरालाई सही मान्न सकिन्छ। नेपाल सरकारले विदेशबाट आएका सहयोगहरुलाई पनि व्यवस्थित गर्न सकेको छैन। यस्तो बेलामा निजी क्षेत्रसंग सहकार्य गर्नु पनि सरकारको लागि बुद्धिमानी हुनेछ।

यस बेलामा नेपालका राजनीतिक नेताहरुले आफ्नो गाँउ र ठाउं स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले पनि आफ्नो जिल्ला मात्र भन्ने प्रवृत्तिले पनि संकट निम्तयाउने संकेत दिएको छ यसमा बेलामा सचेत हुनुपर्छ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुंगसंग यो लेख्दै गर्दा भएको कुराकानीमा रु ८ करोड जति त दुतावासको मार्फतबाट सहयोग संकलन गरेको जानकारी दिनुभयो। कोरिया सरकारले शुरुमै १ लाख डलर त्यसपछि यहाँका विभिन्न निकाय, सेलिब्रेटी, स्थानीय संघ संस्थाले ठूलो रकम सहयोग गरिरहेका छन्।

अब यो सहयोगलाई कसरी परिचालन गर्ने भन्ने कुरा हो। दातालाई पनि आफूले गरेको रकमले के भयो भन्ने चासो त हुन्छ। कोरियाका विभिन्न ठाउका नेपालीहरुले पनि आ–आफ्नै प्रयासमा पीडित नेपालीहरुलाई राहत बाँडने काम गरे। पहिलो चरणमा अत्यावश्यक खान बस्नको प्रवन्ध गर्नु थियो जहाँ जसले जसरी सके चाँडो गरे यसलाई सकारात्मक रुपमा नै लिनु पर्छ।

अब दोश्रो चरणको लागि सबै एक मत भएर नेपालको एक गाउँ जिल्ला बनाउने अभियानमा लाग्दा राम्रो हुन्छ। कोरियामा दर्ता भएर रकम उठाई नेपालमा समेत प्रत्यक्ष सहयोग गरिरहेको सपोर्ट नेपाल फाउन्डेशनले नेपालको एक गाँउ बनाउने अभियान शुरु गर्न लागेको फाउन्डेशनका कार्यालय प्रमुख यज्ञराज सुवेदीले जानकारी दिएका छन्।

यसै गरी एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरले कोरियाका विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपालमा नमूना गाँउ बनाउन सकिने कुरालाई जोड दिएका छन्।

उनी चाँडै नेपाल जान लागेको र एनआरएन कोरिया, सपोर्ट नेपाल फाउन्डेशन, योंग स्टार फाउन्डेशनलगायत विभिन्न कोरियाका संघ संस्थाहरुसंग सहकार्य गरी ठोस कार्य गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। यसै गरी एनआरएनले शुरु गरेको १००० घर बनाउने अभियानमा समेत कोरियाबाट काम गर्न सकिने कुवँरको भनाई छ।

एनआरएन कोरियाभित्र धेरै प्रतिनिधिहरु छन् जसले नेपालको दिगो विकासमा योगदान गर्न सक्छन्। अर्को तिर विधार्थीहरुको संस्था सोनसिक छ यसले पनि कोरियामा भूकम्प पीडितको लागि ३ करोड वन संकलन गरेको र १ करोड वन प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ। सोनसिकमा रहेका विद्यार्थीहरुको सिप र अनुभव पनि नेपाल विकासमा लगाउन सकिन्छ।

कोरियामा रहेका नेपाली मजदुरसंग पनि सहयोगी मन छ। उनीहरु मजदुर मात्र हैनन् आफ्नो विधाका दक्षहरु पनि छन उनीहरुलाई देश समाज विकासको अभियानमा लगाउन सकिन्छ।

कोरियामा सपोर्ट नेपाल फाउन्डेशन, योंग स्टार ग्रुुप, काभ्रे सम्पर्क समिति,परदेशी लाईफ डट कमलगायत धेरै संघ संस्थाहरुले सहकार्य गरिरहेको सपोर्ट नेपाल फाउन्डेशनले ५ करोड वन बढि सकंलन गरेर नेपालमा प्रत्यक्ष काम गरिरकेको जानकारी दिएको छ।

अहिले कोरियामा भूकम्प पीडितहरुको लागि धेरै संघ संस्थाहरु एकै ठाउमा आएको सपोर्ट नेपाल फाउन्डेशन मार्फतका काम हो। कोरियामा कानुनी रुपमा दर्ता साथै नेपालमा समेत योंग स्टार ,एसियन फोरम,एन आर एन तथा कोरियाबाट फर्केका नेपालीहरुको समितिका अध्यक्षमा एन सि सि कोरियाका पूर्व अध्यक्ष सिद्धि बराललाई राखेर युवाहरुलाई परिचालन गरेको छ । जसमा पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनालीदेखि कोरियाबाट फर्केका नेपालीहरु छन्। अब यो समितिलाई कोरियाबाट फर्केका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु थप गरि नेपालमा काम गर्न सकिन्छ।

यसले कोरिया र नेपाल अनि नेपाली र कोरियन दुवै तर्फ विश्वासको वातावरण सृजना गरेको छ। धेरै स्थानीय संघ संस्थाहरुले आफ्नो नामको पर्वाह नगरी निस्वार्थ रुपमा सपोर्ट नेपाल मार्फत सहयोग गरिरकेका पनि छन्।

एनआरएन, एन सि सि ,पत्रकार महासंघ ,योंग स्टार ग्रुप, लगायत धेरै संघ संस्थाहरुको प्रतिनिधित्व गर्ने यो अभियानलाई कोरियामा रहेका नेपालीहरुले सामुहिक प्रयासमा अझ व्यवस्थित बनाएर लैजान सके यसले कोरियाकै नेपालीबाट विकासको मोडल विकास गर्न सकिन्छ।

आउनुस् यही विपतको बेलामा हामी एक जुट भएर अगाडि बढौं र यस पटक राष्ट्रको लागि सोचेर केही गर्नै पर्छ। आफ्नो जाती,पार्टी, संघ संस्था, जिल्ला भनेर होईन कोरियामा भएका नेपालीहरुले संयुक्त रुपमा “नेपाल विकासको लागि कोरियाबाट नेपाली अभियान ” शुरु गरौं। कम्तीमा यसपटक नेपालमा एक नमूना गाँउ बनाएर देखाऔं।

कोरियाका नेपालीहरुले अलग अलग ढंगले धेरै काम गरेका छन्। यी सहयोगीहातहरुले यस पटक एक जुट भएर एउटा संयुक्त अभियान शुरु गरौं यसमा यहाको नेपाली दूतावासलगायत कोरियाली सरकार र स्थानीय निकायको पनि सहयोग रहोस् भन्ने मेरो चाहना हो।

हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने?

जय नेपाल, जय नेपाली।

(लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा नेपाल योंग स्टार ग्रुप प्रालिका सचिव हुन्) ,

 





Comments

comments

Leave a Reply

6612