फेसबुक र वेबसाइटको दुरूपयोग गरी अफवाह फैलाउनेहरू पक्राउ

अनर्गल समाचार सम्प्रेषण गर्ने ५० वेबसाइट बन्द,
वेबसाइट सञ्चालकहरू प्रहरी हिरासतमा,
फेसबुकमा ‘प्रधानमन्त्री राहत कोषमा पैसा नराख्नू’ भन्दै लेख्नेबिरूद्ध मुद्धा,

काठमाडौं-ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे। भूगर्भविदहरूले नै भूकम्प आउने-नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी गरेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।

वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्‍यायो। चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरूले नै अफवाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएको समाचार नागरिक दैनिकमा छ।

आफ्नो फेसबुक पेजमा भूकम्पबारे भविष्यवाणी गर्ने सुनिल सिटौला प्रहरी फन्दामा परेका छन्। उनले पनि प्रहरी नियन्त्रणमा पुगेपछि आफ्नो दाबी सच्याएका थिए। उनले आफूले भविष्यवाणी नगरी अनुमान मात्र गरेको प्रस्टीकरण दिएपछि प्रहरीले हाजिर जमानीमा छाडेको छ।

महाशाखा प्रमुख पुष्कर कार्कीले एसएमएस, सामाजिक सञ्जाल, अनलाइन, ब्लग र अन्य सञ्चार माध्यममार्फत भूकम्पसम्बन्धी अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेविरुद्ध अनुगमन गरिरहेको बताएका छन्। ‘अफवाह फैलाएर जनतालाई त्रसित बनाउनेहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ,’ उनले बिहीबार भने, ‘आइन्दा यस्तो खालको भविष्यवाणी नगर्ने भन्दै माफी मागेपछि हाजिर जमानीमा छाडेका छौं ।’ यस्तो गतिविधि निगरानीका लागि प्रहरी टोली नै बनेको उनले बताए।

टोलीले हालसम्म लोहनी र सिटौलासहित २३ जनालाई पक्राउ गरिसकेको छ। तीमध्ये १९ जनाले चेतावनीपछि आफ्ना सामग्री सच्याएका छन् । उनीहरूलाई हाजिर जमानीमा छाडिएको छ। चार जना प्रहरी हिरासतमै छन्। यसमा भूकम्पसम्बन्धी भविष्यवाणी गर्ने अनलाइनहरू पनि छन्। ज्वालामुखी आउने भन्दै समाचार सम्प्रेषण गर्ने पोखरापोस्ट डटकमले चेतावनीपछि उक्त सामग्री हटाएको थियो। ठूलो भूकम्प आउनसक्ने भन्दै समाचार प्रसारण गरेको खसोखस डटकमका सञ्चालकले प्रहरीसमक्ष माफी मागेर उक्त सामग्री हटाएका थिए। उनीहरूले समाचार सच्याउने र निराधार सामग्री नराख्ने कबुल गरेपछि हाजिर जमानीमा छाडेको महाशाखाका डिएसपी रमेश थापाले बताए। उनका अनुसार १९९० सालको भन्दा ३० गुणा ठूलो भूकम्प आउने भन्दै समाचार राख्ने एस्सप्रेसन्युजका सञ्चालक गजेन्द्र भट्टराई र सम्पादक चन्द्र सापकोटा प्रहरी हिरासतमै छन्।

त्यस्तै, भूकम्प प्रभावितको सहयोगका लागि सहयोगी मन बढेको मौका छोपेर व्यक्तिगत फाइदा लिन खोज्नेसमेत प्रहरी फन्दामा परेका छन्।
फेसबुकमा ‘प्रधानमन्त्री राहत कोषमा पैसा नराख्नू’ भन्दै लेखेको आरोपमा मोरङ, लेटाङका विवेक राईविरुद्ध प्रहरीले मुद्दा चलाइरहेको छ। महाशाखाका डिएसपी थापाका अनुसार एसएमएस र फेसबुकमा त्रास फैलाउने आधारहिन सामग्री राख्ने १४ जनालाई नियन्त्रणमा लिइसकिएको छ। गम्भीर प्रकृतिका सामग्री राख्ने केहीलाई मुद्दा चलाइएको छ। सच्याएर अब यस्तो नगर्ने कबुल गरेकाहरूलाई भने हाजिर जमानीमा छाडिएको छ।

५० साइट बन्द
ब्लगस्पटडटकम लगायत निःशुल्क प्रयोग गर्न सकिने अनलाइन प्लेटफर्ममा साइट खोलेर अफवाह र त्रास फैलाउने सामग्री राख्ने ५० वटा साइट प्रहरीले नेपाल दूरसञ्चार प्राविधकरणको सहयोगमा बन्द गरेको छ। प्रहरी प्रधान कार्यालयमा रहेको सामाजिक सञ्जाल समन्वय समूहबाट आएको सूचनाका आधारका अफवाह फैलाउने यस्ता साइटको सूची तयार भएको थियो। त्यसै आधारमा ती साइट तत्काल बन्द गर्न प्रहरीले गृह हुँदै प्राधिकरणमा सूची पठाएको थियो।





Comments

comments

Leave a Reply

6636