हेलिकप्टरमा चढाइएका ५ घाइते कता हराए?

काठमाडौ, जेष्ठ ११ – वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट होलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन्। उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडौंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरू दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको छ।

चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन दुर्घटना भएको अमेरिकी मरिन कप्र्सको यूएच–१ वाई हुवेमा आफन्त परेको हुन सक्ने अनुमान गरेका हुन्। आफन्तजन सुरक्षा निकाय, स्थानीय प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग गुहार्दै हिँडेका छन्। बेपत्ता भएकामा लादुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन्।

उनीहरूका आफन्तले क्षतिग्रस्त सिंगटीमा उक्त दिन दिउँसो २ बजेतिर उद्धार गर्न आएको अमेरिकी हलिकप्टरमा चढाएको तर काठमाडौं र बनेपाका सबै अस्पताल चहार्दा पनि फेला नपरेको बताए। ‘भूकम्पमा परी भाइ घाइते भएपछि केहीबेरमा आएको अमेरिकी हेलिकप्टरभित्र मैले चढाए। अरू ४ घाइते पनि राखियो,’ हराएका घाइते ध्रुवका दाजु पुनम कटवालले भने, ‘मैले भाइलाई अहिलेसम्म भेटेको छैन।’ काठमाडौंका सबै अस्पतालमा हरेक दिन जस्तो खोजी गरिरहेका आफन्त अच्युत्तम कटवालले विरामी नभेट्दा आफूहरू निराश भएको र दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै परेको हो कि भन्ने शंका लागेको बताए।

‘हामी बनेपादेखि थानकोटसम्मका सरकारी, निजी सबै अस्पताल पुगिसक्यौं,’ अच्युत्तमले भने, ‘कुनै अस्पतालको रेकर्डमा ती ५ जना घाइतेको नाम छैन।’ यत्रो दिन बितिसक्दा समेत कुनै घाइतेले सम्पर्क नगरेकोमा उनीहरू आश्चर्यमा परेका हुन्।

अर्का घाइते शिव खत्रीका छोरा विश्वासले हेलिकप्टर चढाएको भोलिपल्टदेखि लगातार खोजी गर्दा फेला नपरेपछि आफू अहिले गाउाँमै फर्किएको प्रतिक्रिया दिए। कान्तिपुर दैनिकमा समाचार छ ‘सबै घाइतेका आफन्त मिलेर हामीले लगातार खोज्यौं। थाकेपछि म अहिले घर फर्केको छु,’ सिंगटी पुगेका विश्वासले भने, ‘उता बुबा भेटिनुभएको छैन। यता गाउँको घर पुरै ध्वस्त छ। टहरो हाली बाँकी परिवार राख्न केही दिनलाई गाउँ आएको छु।’





Comments

comments

Leave a Reply

6687