लगन कुर्दै लोकदोहोरी गायिका मुना थापा मगर

गोर्खा जिल्लाको मनकामनामा जन्मिएकी मुना थापा मगर लोकदोहोरी क्षेत्रको पर्यायवाची नाम हो। २०६० सालमा ”केबलकारमा गेट ” बोलको गीतवाट सांगीतिक यात्रा थालेकी मगरले अहिलेसम्म दुई हजारको हाराहारी गीतमा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन्। ”चिसो चिसो हावा सरर ” , ”तिते करेली” जस्ता लगायतका दर्जनौ गीतहरु पस्कि सकेकी मगर अहिले देश, विदेशमा कन्सर्टमा ब्यस्त हुने गायिका मध्येकी एक हुन्| अहिलेसम्म हङकङ, युके, बेल्जियम, पोर्तुगल, दुबई, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, कतार, अष्ट्रेलिया, जापानलगायत देशहरुमा पुगेर आफ्नो सुरिलो भाका मगरले पस्कि सकेकी छिन्। पछिल्लो समयमा लोक दोहोरी क्षेत्रको अवस्था कस्तो छ र लोकदोहोरी गीतको नाममा छाडा गीतहरु बजारमा आएको गुनासो सुनिने गरेको छ। यसैको सेरोफेरोमा रहेर कोरियाबाट निश्चल काउचाले मगरसंग गरेको कुराकानी-

अहिले केमा ब्यस्त हुनुहुन्छ ?
गत बैशाख १२ मा प्रलयकारी भूकम्प गयो। त्यसपछि पीडितहरुसँग दु:ख साट्न गाउंगाउं पुगे र अझै पनि अस्थायी बासस्थानको लागि जुट्दैछु साथै आफ्नो ज़िन्दगी पनि गुजारा गर्नुपर्यो त्यसको लागि गीत गाउने र रेकर्डिङमा पनि समय दिने गरेकी छु। अचेल यिनै काममा ब्यस्त छु।

अहिले नेपाली संगीतको अवस्था कस्तो छ ?
नेपाली संगीत बजार समग्रमा अहिले राम्रै छ। भूकम्पपछि अलि सुस्ताए पनि अहिले दिन प्रतिदिन सुध्रिदै गईरहेको छ।

अचेल ठेट लोक भाका सुन्न पाइदैन भन्ने सुनिन्छ नि?
सुन्नै पाईदैन भन्ने त होईन समय अनुसार दर्शक तथा स्रोताको माग अनुसार अलिकति प्रस्तुती र मौलिकतामा फरक त पक्कै आएको छ।

गाउनुको अलावा के गर्नु हुन्छ ?
गीत रेकर्डिङमा र स्टेज कार्यक्रमहरुमै सम्पूर्ण समय दिनु पर्ने भएकोले गाउने अलवा अरु खासै केही काममा समय दिन भ्याएकी छैन।

गायनमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भो?
लोकगीतको उर्भरभूमि गण्डकी अञ्चलमा जन्मिएकी मान्छे म सानैदेखि लोकगीतप्रति रुचि थियो। सानैदेखि लोकगीत सुन्ने र गुनगुनाउने मान्छे म अग्रज कलाकारहरुले गीत गाएको देख्दा त्यस्तै कलाकार बन्ने सोच आउथ्यो। आमा, बाबा लगायत घर परिवार र गाउकै गायक भेनाले पनि धेरै सपोर्ट गर्नु भयो। अहिले म सबै सामु मुना थापा मगर बनेर चिनिन सफल छु।

पछिल्लो समय लोक दोहोरीको नाममा छाडा गीत बढ़ी आए भने आरोप पनि लाग्ने गरेको छ नि ?
एक दुई गीत त्यस्तो पनि आएको मैले पनि महसुस गरेकी छु। यसमा सबै कलाकार र सर्जकको मात्र दोष छैन। अहिले बजारमा त्यस्तै गीतलाई बढि प्राथमिकता दिईन्छ। मेरै कुरा गरौ मैले स्टेजमा चिसो चिसो हावा सरर गाउदा निदाउनु हुने दर्शकहरु त्यस्तो खालको गीत गाउदा उफ्रेर स्टेज नै भाच्छन्। अब त्यस्तो गीतलाई छाडा भन्ने कि दर्शकको माग?

अब त घरजम गर्ने बेला भएन र?
बेला त भयो तर घरजमको कुरा आफ्नो हातमा हुन्न जस्तो लाग्यो। त्यसैले यसको लागि लगननै कुर्नु पर्ला जस्तो छ।

संगीतमा लागेर के पाउनु भो ?
संगीतमा लागेर नै लोक गायिका मुना थापा मगर भनेर सम्पूर्ण लोक दोहोरीप्रेमी नेपालीहरु सामु चिनिन पाएकी छु। यो भन्दा ठूलो खुशीको कुरा अरु के हुन् सक्छर?

पछिल्लो समयमा लोक दोहोरीको अवस्था सन्तोषजनक छैन भनिन्छ नि?
समग्रमा भन्नु पर्दा लोकदोहोरीको अवस्था सन्तोषजनक नैं छ। पछिल्लो समयमा एल्वम बिक्रीमा कमि आएको चाहि पक्कै हो।

गायनमा आउन चाहने नयाँ पिढीलाई के भन्नु हुन्छ?
नयाँ पिढीलाई सकेसम्म गीत, संगीत सम्बन्धी बुझेर र सिकेर आउन आग्रह गर्दछु ताकि पछि यसै क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न सकियोस।

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि?
मेरो स्वरलाई मन पराई मलाई यति धेरै माया गर्नु हुने हजुरहरु सम्पूर्ण दर्शक तथा स्रोताहरुप्रति सदा आभारी रहने छु। साथै धेरै धेरै धन्यबाद दिन पनि चाहन्छु। आगामी दिनहरुमा पनि मेरो सृजना र मप्रति यस्तै मायाको अपेक्षा गर्दछु।





Comments

comments

Leave a Reply

6970