बंगलादेशमा नेपाली चेलीको रहस्यमय मृत्यु

माइती आउँछु भनेको दुई दिनमै मृत्युको खबर आयो
काठमाडौंः बंगलादेशी नागरिकसँग बिहे गरेर गएकी एक नेपाली चेलीको शुक्रबार रहस्यमय मृत्यु भएको छ। बंगलादेशको ढाका निवासी मिलन डि प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाहीको लालबन्दीकी कमलाकुमारी विकले बुधबारमात्रै माइती घर आउने खबर सुनाएकी थिइन्।


फोटो: कमला कुमारी उनका पति मिलन डि प्युरिफिकेसनसँग

बहिनीको नेपाल आउन लागेको खबर सुनेर खुसी भएका उनका दाजु दुई दिनमै शोकमा डुब्न पुगे। शुक्रबार साँझ बहिनीको मृत्यूको खबर सुन्नुपरेपछि विक परिवारमा रुवाबासी भएको छ।

पत्नी कमलालाई बंगलादेशस्थित घरमा आमाबाबुसँग राखेर मिलन गत चैतमा बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए। मिलनले जीवनसंगिनीले आत्महत्या गरेको खबर फेसबुकबाट गरेको कमलाका दाजु भुवन कालिकोटेले बताए।

‘बहिनीले मसँग कुरा हुँदा नेपाल आउन चाहेपनि पतिले पासपोर्ट लुकाइदिएर समस्यामा परेको बताएकी थिइन्’, भुवनले भने, ‘बहिनीलाई उनका सासु ससुरा र देवरले मानसिक यातना दिने गरेका रहेछन्। बहिनीले आउने भनेपछि मैले एकहप्ताभित्र ल्याउँछु भनेको दुई दिन नबित्दै उनले संसार छोडेको खबर सुन्नुपर्यो ।’ अन्नपूर्णपोष्टमा खबर छ।

आफ्नी बहिनीले आत्महत्या नगरेको बताउँदै उनले परिवारको मिलेमतोमा हत्या गरिएकाले न्यायलागि आग्रह गर्ने बताए । भुवनका अनुसार सुरुमा कमलाकुमारी दुर्घटनामा परेकाले बताउँदै अस्पताल भर्ना भएको बताएका मिलनले त्यसपछि आत्महत्या गरेको भनेर कुरा फेरेका थिए।

‘घटनाबारे बंगलादेशको ढाकास्थित कालीगञ्ज नगरी रोडमा रहेको बहिनीको परिवारका कसैले कुरा गर्न चाहिरहेका छैनन्’, उनले भने, ‘हामीले दाहसंस्कार नगर्नुस्, आउँछौं भन्दा भन्दै जवरजस्ती दाहसंस्कार गरिएको छ।’

मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्न सक्छस गर भनेकाले घटनाबारे झन शंका बढेको भुवनले बताए। आफूहरुलाई बहिनीको शवको फोटो समेत नदेखाएको उनले बताए।

घटनाको दश दिन बितिसक्दा पनि मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सूचना पाएका छैनन् । मृत्युको भोलिपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले भुवनका परिवारको फोन उठाएका छैनन्।

बहिनीको अवस्था बुझ्न तथा न्या खोज्दै भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाडौंमा भौतारिइरहेका छन्। ‘अझैपनि तथ्य बुझ्न सकेका छैनौं’, उनले, ‘नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालय, नेपालस्थित बंगलादेश दूतावासमा निवेदन दिएका छौं।’

परराष्ट्र मन्त्रालयका सह–सचिव प्रकाश सुवेदीले भने बंगलादेशस्थित नेपाली दूतावासमार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भइरहेकाले चाडैं तथ्य आउने जानकारी गराएको भुवनले बताए।

कमला यसरी पुगिन् बंगलादेश
सात बहिनी र दुई दाजुभाइ रहेका कमलाको आमाबुबाको १५ वर्षअघि नै मृत्यु भइसकेको थियो।

आर्थिकरुपमा कमजोर कालीकोटे परिवारकी तिक्ष्ण दिमागकी कमला आफैँ केही गर्ने स्वभावकी थिइन्। उनको त्यही भावनाका कारण उनी ०६७ मा वैदेशिक रोजगारीका लागि कुवेत पुगिन्।

पाँच वर्षमा उनी दुई पटक नेपाल आएकी थिइन्। उनले भाइबहिनीको शिक्षादीक्षदेखि घरमा पनि भरथेग गर्थिन्। दाजु भुवनसमेत कुवेतमै रहेकाले दाजुबहिनीको आम्दानीले उनीहरुले लालबन्दीमै घरसमेत बनाएका थिए।

कुवेतमै रहँदा परिचय भएका बंगलादेशी नागरिक मिलनसँग उनको भेट भएको थियो। उनीसँगको सम्बन्ध करिब दुई वर्षपछि बिबाहमा परिणत भएको थियो। कमलाको पुसमा नेपाल फर्किनुपर्ने योजना थियो।

तर मिलनले उनलाई बंगलादेश लगेर ईसाई परम्पराअनुसार पुस १० गते चर्चमा विवाह गरेका थिए। मिलन कमलालाई बंगलादेशमै छाडेर मिलन भने चैत्रमा पुन कुवेत गएका थिए। मिलन कुवेत गएको केही महिनामै कमलाकुमारीले रहस्मय तरिकाले संसार छाडेको खबर आएको हो।
भीमज्वाला राईबाट

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7014