कतार आएको २ महिनामै दुबै किड्नी फेल भएपछि …

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम –
दोहा । रोजगारीको शिलशिलामा डेढ महिना अगाडि कतार आएका भद्रपुर – ६ झापाका १९ बर्षीय उज्जल राजवंशीको दुबै मृगौला खराब भएपछि समस्यामा परेका छन्। उनी गत २५ मेईदेखि हमद हस्पिटलको बेड नं.३५० मा उपचारार्थ छन्।

कतार आएको महिना दिनमा नै मेडिकल पास भएर भिसा लगाईएका उनलाई एक महिनापछि पेट दुख्न थालेको थियो । साधारण होला भनेर सनैयाका क्लिनिकबाट औषधी ल्याएर एक हप्ता सेवन गरेका उनी बिमार निको हुने दिन कुरिरहेका थिए। पेट दुख्ने बिमार निको नभएपछि पुनः हमद हस्पिटलमा पुगेर स्वास्थ्य परिक्षण गरेका थिए । त्यहाँबाट उनले एक्कासी दुबै मृगौला खराब भएको थाहा पाए। त्यो दिन उनलाई ठूलो बज्रपात पर्यो । उनी यतिबेला हप्ताको ३ पटक डायालासिस गरेर जीवन बचाईरहेका छन्।

एसएलसीमा पास हुन नसकेपछि परिवारको खर्च धान्न लायन्स ईन्टरनेश्नल म्यानपावरबाट १ महिना पहिला कतार आएका उनी कतारमा आफन्त कोही नभएको बताउछन्। दुबै मृगौला खराब भएको खबरले उनको आत्मवल कमजोर भएको छ। उनी भन्छन ‘कतार गएर घरको ऋण तिरौला र सानो परिवारलाई खुसीसाथ पालौला भनेको यस्तो समस्या आईलाग्यो अव त बाच्दिन होला ।’ उनको घरमा बुबा मनिस्वर , आमा अन्जली र भर्खर एसएलसी दिएर बसेकी बहिनी शिल्पा छन्। घरको आर्थिक स्थिती अत्यन्तै नाजुक छ , कतार आउने ७० हजार ऋण खोजेर आएको उनी बताउछन। ‘१ महिनाको तलव के बुझेको थिए अस्पताल भर्ना हुनु पर्यो अव ऋण कसरी तिर्ने अनि उपचार गराउने खर्च कहाँबाट जुट्छ खै मरिन्छ होला’ उनले मलिनो हुदै भने। उनलाई बचाउन मृगौला प्रत्यरोपण गर्नुपर्ने डाक्टरले बताएको छ।

अस्पतालको श्ययाबाट उनी भन्छन ‘ कसैलाई पनि यो उमेरमा मलाई जस्तो दुःख नपरोस् , विदेशको ठाउँमा आफन्तविना अस्पतालको बेडमा दिन काट्न साह्रै गाह्रो हुनेरहेछ। ’ कतारको यस्तो गर्मीमा काम गर्ने नेपालीहरुसँग मेरो उपचार गराउनुछ भनेर कसरी सहयोग मागौ उनी भन्छन् । ‘सहयोग गरिदिए त बाँच्ने थिए , समाजका लागि केही गर्ने थिए , ति बुढेसकाल लागेका बा आमा र त्यो सानी बहिनीलाई अव कस्ले हेरिदिन्छ ’ उनी भन्छन्।

कतारको लेण्डमार्क गुप्रमा मार्केटको काममा आएका उनलाई कम्पनीले यो हप्ता नै नेपाल पठाउन लागेको सोही कम्पनीमा कार्यरत राजन चापागाँईले बताए। उनी नयाँ छन त्यसैले कम्पनीले खासै सहयोग गर्ला भन्ने अपेक्षा छैन तर कम्पनीमा कार्यरत कामदारहरुलाई सहयोगका लागि अपिल गरिएको छ उनी भन्छन । अहिलेसम्म हप्ताको ३ पटक डायालासिस गर्ने खर्च ६ सय रियाल कम्पनीले नै बेहोरेको छ तर नेपाल पठाएपछि उपचार गर्ने खर्च छैन। नेपालमा पीडितका बुबासँग फोनमार्फत कुरा गरेका चापागाईले घरको अवस्था बारे बुझेका थिए। उसको घरमा साह्रै नाजुक अवस्था छ , घरमा सम्पत्तीको नाममा १४ धुर जग्गा बाहेक केही छैन, पहिले उँ बिरामी परिरहने रहेछन् त्यही ऋण पनि अझैसम्म तिर्न नसकेको उनका बुबा मनिस्वरले बताएको चापागाईले बताए। एउटा मात्र छोरो उज्जल अव केही गर्ला भन्ने परिवारलाई थियो। त्यसैले कतार पठाए तर कतार पुगेको २ महिना नवित्दै अस्पतालको श्ययामा छटपटाईरहेको खबरले परिवारलाई असह्य भएको छ।

उनको उपचारका लागि चितवन युवा समूह कतारका महासचिव समिर खत्री र राजन चापागाईले सहयोग जुटाउन अभियान शुरु गर्न लागेका छन । कतारमा कार्यरत सम्पूर्ण व्यवसायी तथा नेपाली कामदारहरुलाई सहयोगका लागि अपिल गर्दै कलिला उज्जललाई बचाउन आग्रह गरेका छन्। उनको मृगौला प्रत्यारोपण गर्न ठूलै रकम लाग्छ तर उनको पारिवारिक स्थिती अत्यन्तै नाजुक छ। घरको अन्य आर्थिक स्रोत नभएकाले उनको उपचारका लागि परिवारले खर्च जुटाउन नसक्ने भन्दै कतारमा सहयोगका लागी आग्रह गरिएको छ। १९ बर्षीय उज्जलको जीवन बचाउनका लागि सहयोग गर्न चाहाने सहयोगी मनहरुले समिर ६६६४०२४१ र राजन ७०७४८६३१ लाई सम्पर्क गरेर सहयोग गर्न सकिने छ।





Comments

comments

Leave a Reply

7016