जसले खुसी साट्न पाएनन्

जसले आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै थाहा पाउने छैनन्
कालीदेवी उच्च माध्यमिक विद्यालय गातीबाट यस वर्षको एसएलसी परीक्षामा सिम्बोल नम्बर ०२३३९२३ ‘ए’ भएका समीर श्रेष्ठ प्रथम श्रेणीमा उत्तीर्ण भए। उनी ६३ दशमलव ६ प्रतिशत ल्याएर उत्तीर्ण त भए तर विडम्बना समीरले आफू एसएलसीमा उत्तीर्ण भएको अब कहिल्यै थाहा पाउनेछैनन्।

समीरले साथीहरूसँग भन्ने गर्थे, ‘परीक्षा राम्रो भएको छ, विशिष्ट श्रेणी आउँछ होला ।’ विशिष्ट श्रेणी त उनले ल्याउन सकेनन् तर प्रथम श्रेणीमा उत्तीर्ण भएको खुसी साट्न नपाउँदै समीरले संसार छाडे । १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी उनले ज्यान गुमाए।

गाती–९ का श्रेष्ठ विद्यालयका उत्कृष्ट छात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्पा श्रेष्ठले जानकारी दिए । ‘एसएलसीमा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसी छु । तर पनि एक होनाहार विद्यार्थी गुमाउनुपर्दा खुसीभन्दा बढी पीडा थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने।

कालीदेवीका मात्रै होइन, इन्द्रश्वरे उमाविबाट एसएलसीमा सहभागी दुवाचौर गाविसकी अञ्जना अधिकारीले पनि द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्। राजधानी दैनिकमा खबर छ।

सिम्बोल नं. ०२३११७० ‘डी’ भएकी अधिकारी विद्यालयकी राम्रै छात्रा थिइन् । शुक्रबार एसएलसीको नतिजा आउँदा विद्यालयका शिक्षकहरूलाई अरूको भन्दा अञ्जनाको नै बढी चासो थियो । ‘उनको रिजल्ट के भयो होला भनेर रिजल्ट हेरियो, उनी पास भएकी रहिछन्, त्यसपछि त विद्यालयको वातावरण नै स्तब्ध भयो,’ विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने । विद्यालयबाट एसएलसीमा सहभागी ६२ परीक्षार्थीमध्ये ३३ जना उत्तीर्ण भएका छन्।

अञ्जनाजस्तै सोही विद्यालयकी पूर्णमाया दनुवारको पनि भूकम्पमा परी मृत्यु भएको छ । क्षेत्रपालेश्वरी माविकी रमिता श्रेष्ठ पनि शुक्रबार सार्वजनिक भएको एसएलसीमा उत्तीर्ण त भइन् तर उनले पनि आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै पनि थाहा नपाउने गरी सधैका लागि छाडेर गइन् । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षामा उत्तीर्ण भए पनि भूकम्पमा परी मृत्यु भएपछि विद्यालय र आफन्तहरू मर्माहत भएका थिए।





Comments

comments

Leave a Reply

7080