तेरिया फौजा मगर दुबई आउने

लालबहादुर ढेंगा/ एचकेनेपाल डट कम –
दुबई, युएई। भारतीय जि टिभी च्यानलद्धारा प्रशारित चर्चित डिआइडी लिट्टिल मास्टर सिजन थ्रीका विजेता तेरिया फौजा मगरसहित गायिका, नायिका र मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमाल दुबईमा आउने भएका छन्।

आगामी २९ अगस्तका दिन दुबईस्थित शेख राशिद अडिटोरियम हलमा ‘२० औं विश्व आदिवासी जनजाति दिवस २०१४’ को अवसरमा हुने भएको “नेपाली कल्चर शो” सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन्।

यो जानकारी नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डिआर गुरुङले दिनु भएको हो। अध्यक्ष डिआर गुरुङको अध्यक्षता र महेश मोक्तानले संचालन गरेको उक्त पत्रकार सम्मेलनको अन्य अतिथिहरुमा जनजाति महासंघसंग आवद्ध रहेका ९ वटा संस्थाका प्रतिनिधहरु र विभिन्न मेडियाहरुसंग आवद्ध रहेका पत्रकारहरु रहेका थिए।

भर्खरै मात्र डिआइडी लिट्टिल मास्टर सिजन थ्रीका विजेता भएपछि बिदेशको भ्रमणमा व्यस्त रहेकी तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै उत्साहितमा छन्। तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ।

सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमालद्धारा बिशेष संवोधन गरिने भएको छ। युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पहिलो पटक एक लाख बीस हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउंछन्।

जि टिभीसंग समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु मात्र नभएर गैरनेपालीहरुको पनि सहभागिता रहने भएको छ। कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई बिशेष छुटका साथ ३५ दिराम र पुरुषहरुका लागि ५० दिराम राखिएको छ भने सिल्भर एडमिशनको लागि १०० दिराम, गोल्ड एडमिशनको लागि १५० दिराम र डाइमण्ड एडमिशनको लागि ५०० दिराम राखिएको छ।

कार्यक्रमका लागि टिकट बिक्री बितरण अन्तर्गत ५ पुरस्कारको व्यवस्था समेत गरिइएको छ। जसमा १५ हजार दिरामको टिकट बिक्री गरेमा पुरस्कारको लागि सहभागी हुन पाउने र सबैभन्दा धेरै टिकट बिक्री गर्नेलाई प्रथम पुरस्कारको रुपमा २,००० दिराम र प्रशंसापत्र, द्धितीय पुरस्कार १,५०० दिराम र प्रशंसापत्र, तृतीय पुरस्कार १,००० दिराम र प्रशंसापत्र, चौथो पुरस्कार ७०० दिराम र प्रशंसापत्र र पाचौं पुरस्कार ५०० दिराम र प्रशंसापत्र रहेको छ।

तेरियाका भिडियोहरु हेर्न यहाँ जानुहोस्





Comments

comments

709