रामकुमार श्रेष्ठ अचेल रिटायर्ड लाइफ बिताइरहेका छन्। १० वर्ष माविको हेडमास्टर भएका उनी निजामती सेवामा प्रवेश गरेर सचिव पदसम्म मात्रै पुगेनन्, मन्त्री सम्हाले । एमाओवादी अध्यक्ष प्रचण्डसँगको चिनजानले उनलाई त्यति माथिल्लो जिम्मेवारी हासिल गर्न सहज बनाइदिएको थियो।

२०३२ मा जागिर खोजिरहेका प्रचण्डलाई आफू हेडमास्टर भएको गोरखास्थित आरुघाटको स्कुलमा अन द स्पट जागिर दिएका थिए, श्रेष्ठले । ‘थोरै दाह्रीजुँगा भएको, पातलो–पातलो ज्यान भएको, झोला भिरेको एउटा लर्के जवान ‘सर नमस्ते’ भन्दै मेरो कार्यकक्षमा छिरे । ‘सर, मेरो नाम पुष्पकमल दाहाल । घर चितवन हो । बिएस्सी पास गरेको छु । जागिर पाइन्छ कि भनेर आएको,’ हेर्दै जाँगरिला ती युवकले भने र झोलाभित्रबाट झिकेर शैक्षिक योग्यताको प्रमाणपत्र देखाए । तत्काल शिक्षकमा नियुक्ति दिएँ ’, श्रेष्ठले ती पुराना दिन स्मरण गरे।

गाउँको स्कुल (आरुघाट)बाट आठ कक्षा पास गरेपछि थप पढ्न काठमाडौँ आएँ । गाउँमा मावि तहको विद्यालय थिएन । जेपी स्कुलबाट एसएलसी ०२१ मा पास गरेँ । ०२६ मा त्रिचन्द्र क्याम्पसबाट ब्याचलरको अन्तिम परीक्षा दिएर गाउँ फर्किएँ । त्यसवेलासम्म मेरो गाउँबाट कसैले ब्याचलर गरेको थिएन । ब्याचलरको जाँच दिनेमा मसँगै अर्को एकजना पनि थिए । आरुघाटमा भर्खरै अस्थायी हाइस्कुल स्थापना भएको थियो । ब्याचलर पास गरेको व्यक्ति हेडमास्टर भए मात्र स्कुल स्थायी बन्थ्यो । ब्याचलरको जाँच दिएर गाउँ फर्केपछि अगुवाहरूले हामी दुवैजनालाई ‘गाउँमै बस्नुपर्छ’ भन्न थाले । ‘गाउँको विकास गर्ने, स्कुललाई स्थायी गर्नुपर्‍यो’ भन्दै सबैजनाले ‘दुईमध्ये जो बिए पास हुन्छ ऊ हेडमास्टर हुने’ भने । गाउँमा गएर शिक्षक बन्ने मेरो कुनै योजना थिएन । तैपनि सारा गाउँलेले भनेपछि दुवैजनाले ‘हुन्छ’ भन्यौँ । ब्याचलरको रिजल्ट आयो । संयोगले म पास भएँ । ०२६ चैतमा स्वत: माविको हेडमास्टर भएँ । मावि पनि स्थायी भयो । हेडमास्टर नियुक्त हुँदा २१ वर्षे युवा थिएँ । हेडमास्टर त बनँे । विद्यालयको भवन थिएन । भौतिक संरचना निर्माणमा जोड गरेँ । हरिशमशेर राणाको धेरै जग्गा थियो । हरिशमशेरको मृत्यु भएपछि उनकी पत्नीबाट एक सय ५६ रोपनी जग्गा स्कुलको नाममा बकस दिइन् । हरिशमशेरका छोराले अरू कसैलाई दिन खोजेका रहेछन् । मुद्दा पर्‍यो । अन्तत: स्कुलको नाममा जग्गा आयो । त्यसैमा भौतिक पूर्वाधारहरू निर्माण गर्‍यौँ।

०००

म हेडमास्टर भएर पढाउन थालेको ६ वर्ष भएको थियो । ०३२ को एक दिन कार्यकक्षमै थिएँ । थोरै दाह्रीजुँगा भएको, पातलो–पातलो ज्यान भएको, झोला भिरेको एउटा लर्के जवान ‘सर नमस्ते’ भन्दै मेरो कार्यकक्षमा छिरे । मैले सोधेँ, ‘के कामले आउनुभयो होला ?’ ‘सर, मेरो नाम पुष्पकमल दाहाल । घर चितवन हो । बिएस्सी पास गरेको छु । जागिर पाइन्छ कि भनेर आएको,’ हेर्दै जाँगरिलो देखिने ती युवकले भने । झोलाभित्रबाट आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र झिकेर मेरो टेबुलमा राखिदिए । उहाँ आर्थिक अवस्था कमजोर भएर जागिर खोज्न आएजस्तो देखेँ । अनुहार जागिर खोज्न भौतारिरहेझैँ देखिन्थ्यो । हाम्रो स्कुलमा गणित र विज्ञान पढाउने शिक्षकको अभाव थियो । मैले सोधेँ, ‘हामीकहाँ विज्ञान र गणित पढाउने शिक्षकको आवश्यकता छ । तपाईं पढाउन सक्नुहुन्छ ?’ उहाँले ‘सक्छु’ भन्नुभयो । मैले ‘त्यसो भए तपाईंलाई शिक्षकमा नियुक्ति दिन्छु’ भनेँ । उहाँको सर्टिफिकेट हेरेँ । भेटेको एक घन्टाजतिमै नियुक्ति दिएँ । हामीलाई पनि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो । खुसी भयौँ । उहाँलाई शिक्षक नियुक्ति गर्दा भर्खरै राष्ट्रिय शिक्षा योजना लागू भएको थियो । मेरो तलब चार सय थियो । उहाँ तीन सय ५० जति तलब पाउने गरी नियुक्त हुनुभयो । अध्यापन सुरु गरेको ६ महिनापछि उहाँ स्वत: स्थायी हुनुभयो । भोलिपल्ट उहाँ विद्यार्थीलाई पढाउन कक्षाकोठा छिर्नुभयो । हेडमास्टर र मास्टरका हिसाबले उहाँ र मेरो सम्बन्ध असाध्यै राम्रो हुँदै गयो । ‘वेब–लेन्थ’, स्वभाव आदि मिलेर पनि यस्तो भएको होला । हेडमास्टरको नाताले मसँग उहाँले सम्बन्ध राख्न चाहेको पनि हुन सक्छ । मैले पनि ‘यो शिक्षक प्रतिभावान् छ, मसँगै स्कुलमा बसोस्’ भन्ने चाहेको थिएँ । उहाँप्रति बढी सद्भाव र माया थियो । उहाँका लागि बजारमै डेरा खोजिदियौँ । उहाँले ‘साँझ–बिहान ट्युसन पढाउनुभयो भने तलब पूरै बच्छ र घर पठाउनुहुन्छ’ भन्ने हाम्रो सोच थियो । उहाँले केही महिनापछि ‘माथि आरुटारमा गएर बस्छु’ भन्नुभयो । मैले ‘किन टाढाको गाउँमा गएर बस्ने । केही असुविधा भएको भए भन्नुस्’ भनेँ । उहाँले ‘असुविधा केही छैन, तैपनि आरुटारमै गएर बस्छु’ भनेर जिद्दी गरेपछि ‘जानुस्’ भनेँ । उहाँ गाउँलेसँग असाध्ये मिल्ने । पूरै गाउँले पाराले बस्नुभयो । बेलुका नाचगान गर्ने, आफ्ना उमेर समूहका साथीसँग हाँसीमजाक गर्ने गर्न थाल्नुभयो । गाउँलेसँग धनी–गरिब, किसान–मजदुर, मानवअधिकारका कुरा गर्न थाल्नुभयो । शोषण भनेको के हो, पुँजीपति भनेको के हो, विभेद के हो भन्ने विषयसँगै सरसफाइ, आधुनिक कृषि र शिक्षाको महत्त्वबारे गाउँलेलाई सिकाउन थाल्नुभयो। आजको नयाँ पत्रिका दैनिकमा यो सामग्री प्रकाशित छ।

मैले उहाँका गतिविधि वाच गरिरहेको थिएँ । ‘यो मान्छेले कहीँ न कहीँ प्रगतिशील विचार प्रवाह गरिरहेको छ’ भन्ने लागेको थियो । तर, स्कुलमा कहिले यसको छनक दिनुभएन । ‘म यो पार्टीको हुँ, मेरो उद्देश्य यो हो’ कहिल्यै भन्नुभएन । यो पार्टी राम्रो, यो व्यवस्था राम्रो भन्ने कुरा पनि कहिल्यै गर्नुभएन । उहाँ जुन विषयमा कुरा राख्नुहुन्थ्यो, त्यसका आधारमा उहाँ के चाहनुहुन्छ भन्ने अनुमान गर्न भने सकिन्थ्यो । तर, असाध्यै चलाखीपूर्ण तरिकाले कुरा राख्नुहुन्थ्यो । उहाँले त भित्र–भित्र जनतालाई आफ्नो मतमा ‘कन्भिन्स’ गरिसक्नुभएको रहेछ । जनता ‘यो सरले भनेको कुरा ठीक हो है’ भन्थे । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सँगै पढाउनुहुन्थ्यो । उहाँ स्कुलमा कांग्रेसकै कुरा गर्नुहुन्थ्यो । पार्टीका बैठकमा जानुहुन्थ्यो । तर, प्रचण्डजी त्यसो गर्नुभएन । म चिनकाजीजीलाई भन्थेँ, ‘बाहिर जे गरे पनि स्कुलमा यो दल ठीक यो दल बेठीक भनेर प्रशिक्षण गर्ने काम नगर्नुहोला ।’ स्कुलमा कांग्रेसको खुला गतिविधि रोक्न खोज्दा कहिलेकाहीँ असहज अवस्था आउँथ्यो । त्यसवेला प्रचण्डले सुझबुझपूर्ण सुझाब दिनुहुन्थ्यो । उहाँ राम्रो पढाउनुहुन्थ्यो । विद्यार्थीहरू उहाँको तारिफ गर्थे । शिक्षक, अभिभावक, गाउँले सबै तारिफ गर्थे । उहाँले पढाएको विषयमा विद्यार्थीले राम्रो मार्क ल्याउन थाले । अघिल्ला वर्षभन्दा गणित र विज्ञानमा विद्यार्थीले राम्रो गर्न थाले । उहाँको लोकप्रियताले अरू शिक्षकलाई गाह्रो पार्‍यो । अरू ‘हामी पनि पुष्पकमलजस्तो लोकप्रिय कसरी बन्ने’ भन्नेमा लागे।

एक वर्षसम्म उहाँ ‘जागिर खान आउनुभएको हो, जागिरमा इमानदारीपूर्वक लागिराख्नुभएको छ’ जस्तो लागिरह्यो । त्यसपछि उहाँको गतिविधिले ‘कुनै मिसन लिएर पो आउनुभएको हो कि’ भन्ने लाग्न थाल्यो । तर, उहाँले आफ्नो काममा गुनासो गर्ने ठाउँ दिनुभएन । चप्पल, पाइन्टमा स्कुल आउनुहुन्थ्यो । चुरोट तान्नुहुन्थ्यो । कपालको स्टाइल अहिलेजस्तो थिएन । दारुपानी खाएको मैले देखिनँ । नेवार समुदायमा धेरै पर्व हुने, हामी भोजमा बोलाउँथ्यौँ । भोजमा ‘रक्सी खाउँ’ भन्दा ‘लिने बानी छैन’ भन्नुहुन्थ्यो । एक दिन ‘सरलाई भेट्नु छ’ भन्दै आउनुभयो । मैले ‘त्यस्तो के पर्‍यो र ?’ भनेँ । उहाँले ‘सर, मैले घरव्यवहार हेर्नुपर्ने भयो, म चितवन जाने भएँ, स्कुलबाट बिदा हुनुपर्ने भयो’ भनेर राजीनामा पो दिनुभयो । मैले ‘होइन, तपाईं यहाँ बस्नुपर्छ । केही समस्या भए हामी सहयोग गर्छौँ’ भनेँ । उहाँले मान्नुभएन । उहाँलाई बिदाइ गर्नुपर्ने भयो । ‘अर्को शिक्षक कसरी पाउने’ भन्ने चिन्ता भयो । बिदाइ गर्दा शिक्षक, विद्यार्थी, अभिभावक, गाउँले सबै दु:खी भए । राजीनामा पत्रमा उहाँले निजी कामले गर्दा जागिर छोड्नुपरेको लेख्नुभएको थियो । राजनीतिको कुनै कुरा थिएन । अढाइ वर्ष पढाएर उहाँ आरुघाटबाट हिँड्नुभयो।



.















Comments

comments