भूकम्पपीडितको दुःख सुन्दै मन्त्री रिजाल…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १५ असार। नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मंगलवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले स्थापना गरेको महाभूकम्प उद्धार, राहत वितरण तथा पूर्नस्थापना केन्द्रको अवलोकन गर्नुभएको छ।

केन्द्र अवलोकनको क्रममा तमु धिं नेपालले एक कार्यक्रम आयोजना गरी मन्त्री डा. रिजाललाई स्वागत तथा तमु जातिको मौलिक पोशाक भाङ्ग्राद्धारा तमु धिं नेपालका अध्यक्ष कर्म तमुले सम्मान गर्नुभएको थियो।

कार्यक्रम बोल्नु हुदै मन्त्री रिजालले महाभूकम्पबाट मुलुक विपत्तिमा परेको बेला तमु धिं नेपालले गरेको परोपकारी कार्यको प्रसंसा गर्नुहुदै मुक्तकण्ठले धन्यवाद व्यक्त गर्नुभयो। विपतको बेलामा नागरिकस्तरबाट संघ संस्थाहरुले सहयोग गर्ने क्रममा तमु धिं नेपालले भूकम्प पीडितका लागि पूर्नस्थापना केन्द्र नै स्थापना गरी अत्यन्तै परोपकारी कार्य गरी असल संस्थाको पहिचान दिएको बताउनुभयो।

मन्तव्य व्यक्त गर्नुहुदै मन्त्री रिजालले भूकम्पबाट निधन भएका परिवार र घरबार विहिन परिवारका लागि पहिलो चरणमा राहतको रकम प्रदान गरेको छ भन्नुहुदै गोर्खाका धेरै बस्तीहरु जोखिममा भएकाले नेपाल सरकार उक्त बस्तीका जनतालाई तत्कालका लागि अस्थायी रुपमा सुरक्षित स्थानमा बसोवास गर्ने पहल गरेको बताउनुभयो । सरकारले जोखिममा रहेका बस्तीका बासिन्दालाई पुनर्वासका लागि पहल भईरहेको जानकारी गराउनुहुदै उक्त कार्यमा भूकम्प पीडितहरुको साथको लागि आग्रह गर्नुभयो । जोखिम बस्तीका बासिन्दाका लागि केही समय भित्रै नेपाल सरकार स्थायी बसोवासको पहल गरिरहेको उहाँले दोहोर्याउनुभयो।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुले नेपाल सरकारले तमु धिं नेपालले स्थापना गरेको पूर्नस्थापना केन्द्रमा रहेका भूकम्प पीडितहरुलाई आफ्नै ठाँउमा पुनर्बासका लागि व्यवस्था गर्न माग गर्नुभयो । उहाँले तमु धिं नेपालको विविध गतिविधीका बारेमा जानकारी गराउनुहुदै पोखराको पर्यटन प्रवद्र्धन, तमु जातिको पहिचानयुक्त तमु तमुस्योको प्रतिमा पोखरा १७ तमु ह्युलचोकमा प्रतिस्थापनका लागि नेपाल सरकारको क्याविनेटले समस्या उब्जाएको गुनासो गर्नु हुदा मन्त्री रिजालले आश्चार्य प्रकट गर्नुहुदै नेपाल सरकारको क्याविनेट अवरोध नगरेको बताउनुभयो।

मन्त्री रिजालले पूर्नस्थापना केन्द्रमा रहेका भूकम्पबाट घाइते, प्रभावित, सुत्केरी, गर्भवती, बृद्धबृद्धा, बालबालिकाहरुको समस्याका बारेमा चासो दिएर अवलोकन गर्नुका साथै समस्या समाधानका लागि सरकार जुटिरहेको बताउनुभएको थियो।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका सहकोषाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती तमुले स्वागत मन्तव्य र सचिव गिरीप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

तमु धिं नेपालले स्थापना गरेको भूकम्प पीडित पूर्नस्थापना केन्द्रमा मंगलवार ८ जना सुत्केरी सहित ६९ जना घाइते र प्रभावितहरु रहेको तमु धिं नेपालले जनाएको छ।





Comments

comments

Leave a Reply

7257