एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झण्डै २ करोड संकलन

मन केसी / एचकेनेपाल डट कम –
मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा कार्यालय भवन निर्माणका लागि अष्ट्रेलियाबाट झण्डै २ करोड रूपैयाँ संकलन भएको छ।

जुलार्इ महिनाभर अष्ट्रेलियाका मुख्य चार शहरमा संचालित अभियानबाट झण्डै २ करोड रूपैयाँ संकलन भएको हो। पछिल्लोपटक गत शनिवार मेलवर्नमा आयोजित गाला डिनर कार्यक्रममा भिक्टोरिया क्षेत्रमा बसोबास गर्ने एनआरएनहरूले करीव ७० लाख रूपैयाँ संकलनको प्रतिबद्दता जनाएका छन्।

यसअघि अष्ट्रेलियाकै सिड्नीबाट करीव १ करोड, क्यानबेराबाट १३ लाख र ब्रिसबेनबाट १५ लाख रुपैयाँको प्रतिबद्धता आइसकेको छ। ‘हाम्रो घर, हाम्रै दायित्व’ भन्ने नाराका साथ सुरु भवन निर्माण अभियान अन्तर्गत शनिवार साँझ मेलबर्नको एस्टोनियन हाउस ब्रंज्विकमा आयोजित गाला डिनर कार्यक्रममा उपस्थित भिक्टोरिया क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरुले स्वतस्फूर्तरुपमा भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट गच्छेअनुसार सहयोग रकम घोषणा गरेका थिए। 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संबिधानसभाका सभासद राजिबबिक्रम शाह, भिक्टोरियाका लागि नेपाल सरकारका मानार्थ कन्सुलर जनरल चन्द्र योञ्जन, एनआरएन केन्द्रिय सचिब रन्जु थापा, प्रबक्ता मन केसी, ओसिनिया क्षेत्रीय संयोजक बिष्णु हमाल, भबन निर्माण समितिका ग्लोबल इभेन्ट्स टिमका गणेश केसी, आइसीसी सदस्य दीपा रार्इ, आइसीसी सदस्य डा. राजु अधिकारी, एनआरएनए एनसिसि अष्ट्रेलिया सचिब भरत पोख्रेल लगाएत बुद्दिजीबी, पत्रकार, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र जन्म दिएर हुर्काउने माटोको लागि केहि गर्नु पर्छ भन्ने भावना बोक्ने नेपालीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आफ्नो मातृसहरमा सबैको हौसलापूर्ण सहयोगमा भएको यो कार्यक्रमले आफूलाई निकै उर्जा मिलेको बताउनुभयो। 

‘अष्ट्रेलियामा रहनुभएका हरेक गैरआवासीय नेपालीको सहभागितामा हामीले यो सफलता हात पारेका छौं, सामूहिक पहल भयो भने हामी जस्तोसूकै काम गर्न पनि सफल हुन्छौं भन्ने उदाहरण हो यो।’ अध्यक्ष घलेले भन्नुभयो-‘अष्ट्रेलियाका एनआरएनहरुले बिश्वभरका एनआरएन अभियन्ताहरुलाई उर्जा थपिदिनुभएको छ, यो अभियानमा खट्ने संयोजकहरु तथा सवै एनआरएनको जति प्रसंसा गरे पनि कम हुन्छ।’ 
आगामी एनआरएन डे अर्थात् अक्टोवर ११ सम्ममा भवनको सिलन्यास गरिसक्ने उहाँले जानकारी दिनुभयो।

‘अष्ट्रेलियाबाट सुरु भएको यो अभियान बिश्वका सबै भागका नेपाली समक्ष पुग्दै काठमान्डुमा भवन निर्माण सम्पन्न गरेर मात्र बिश्राम लिने छ।’ उहाँले भन्नुभयो।
 
मेलबर्नस्थित ब्यबसायी, समाजसेवी टोनु गोथाने प्रमुख आयोजक रहेको यो कार्यक्रममा एनआरएन भिक्टोरिया संयोजक ऋषि कंडेलले स्वागत भाषण गरेका थिए भने समाजसेबी एबम एनआरएन अभियन्ता रंजन बैध्य एबम सुष्मा बस्नेतले कार्यक्रम संचालन गरेका थिए।  

सभासद राजिबबिक्रम शाहले एनआरएन अभियानले एनआरएनहरुलाई देश र देशबासीसंग जोड्दै बिकास निर्माणमा बलियो टेवा पुर्याउने हुनाले आफू आफ्नो तर्फबाट संसदमा सधै एनआरएनहरुको आवाजमा साथ् दिने बताउँदै सबैलाई नेपालको लागि केहि न केहि गर्न आब्हान गर्नु भयो।  

भिक्टोरियाका लागि नेपाल सरकारका मानार्थ कन्सुलर जनरल चन्द्र योञ्जनले प्रबासी नेपालीहरुको नेपाल र नेपाल प्रतिको लगावले आफूलाई भाबनात्मक बनाउने अभिव्यक्ति दिँदै एनआरएन अभियानमार्फत देशको लागि केहि न केहि गर्न आब्हान गर्नुभयो। 

गाला डिनरमा आयोजक एबम उपस्थित महानुभावहरुले गैरआवसीय नेपालीको शान, पहिचान, गौरव र एकताको प्रतिक निर्माण हुन लागेको भवनका लागि शुरु गरीएको अभियानमा सहयोग रकमको प्रतिबद्धता गर्दै यो दौडिन लागेको रेलमा सबै प्रबासी नेपालीहरुलाई प्रवेश गर्न र कम्तीमा एउटा इट्टा बराबरको योगदान गर्न समेत आब्हान गर्नु भएको थियो। कार्यक्रममा एनसीसी सदस्य राजु शाक्यको सहयोगमा नेपाली संस्कृति तथा पहिचान झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए भने एमआईटी, एइसीसी, टीडब्लुजीजी, इभेन्ट केटरर लगायतले कार्यक्रमको प्रायोजन गरेका थिए।

एनआरएन भबन निर्माण सम्बन्धि अभियानको यो कार्यक्रम एनआरएनए ग्लोवल आर्थिक संकलन समिति र एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। अन्तमा सहयोगीहरुलाई प्रमाणपत्र वितरण पश्चात आयोजकका तर्फबाट कार्यक्रमलार्इ सफल पार्न प्रतक्ष्य परोक्ष्य सहयोग गर्ने सबैलाई टोनु गोथानेले धन्यबाद ब्यक्त गरेका थिए। करिव १५ करोड लागतमा निर्माण गर्न लागिएको भवनका लागि बिश्वभर छरिएर रहेका नेपालीहरुले आफ्नोपन महसुस गर्दै आफ्नो सामर्थ्यअनुसार रकम संकलन अभियान चलाइरहेका छन्। अगष्ट महिनाभरि अध्यक्ष घले रकम संकलनका लागि अमेरिका, क्यानडा र युरोपमा आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ।





Comments

comments

729