नेपाल विश्व वरियतामा

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ। शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ।

नेपालले शनिबार अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्‍यो। यद्यपि नेपालले शृंखला ३–१ ले गुमायो। नेपाल पहिलो तीन खेलमा क्रमश: १८, १ सय ३ र १८ रनले पराजित भएको थियो।

विश्व वरियतामा प्रवेश पाउन कम्तिमा ८ खेल खेल्नुपर्ने प्रावधान छ। नेपालले गतवर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० मा तीन खेल खेलेको थियो। त्यसमा हङकङ र अफगानिस्तानसँग विजय हात पार्दै जुझारु प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई ट्वान्टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो।

गतवर्षको जुनमा आईसीसीले नेपाललाई सो मान्यता दिए पनि नेपालले पछिल्लो १ वर्षमा श्रीलंका गएर हङकङसँग १ खेलमात्र खेलेको थियो। तर नेदरल्यान्ड्ससँगको ४ खेलपछि नेपालले आईसीसीले तोकेको ८ खेल खेल्दै विश्व वरियतामा छिर्नेछ। नेदरल्यान्ड्स अहिले १२ औं स्थानमा छ। नेपालले आईसीसीको नयाँ वरियतामा १४ औं स्थानमा रहेको जिम्बावेलाई उछिन्ने निश्चित छ। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ८ खेल खेलेको छ र त्यसमा ३ विजय र ५ पराजयको नतिजा निकालेको समाचार कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

7313