भूकम्पपछिको तनावले आत्महत्या गर्ने बढे, सबैभन्दा बढी जनजाति

पारिवारिक कलहले आत्महत्या निम्त्याउँदै
काठमाडौं : विनाशकारी भूकम्पपछि आत्महत्याका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भूकम्प गएको वैशाख, जेठ र त्यसअघिका दुई महिना फागुन र चैतका आत्महत्याको घटना विश्लेषण गर्दा यस्तो तथ्य खुलेको हो।

महानगरीय प्रहरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा डिएसपी बहादुर जंग मल्लले तथ्यांक सार्वजनिक गरेका हुन्। उनका अनुसार फागुनमा २६ वटा र चैतमा २८ वटा आत्महत्याका घटना भएका थिए। त्यसयता बैशाखमा ३६ वटा र जेठमा ३१ वटा आत्महत्याका घटना भएका छन्।

बैशाख र जेठमा ५३ जना पुरुष र १४ जना महिला गरी ६७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ। जसमा झूण्डिएर बढीले आत्महत्या गरेका छन्। ४८ जनाले झुण्डिएर, १७ जनाले विष सेवन गरेर र दुई जनाले हामफालेर आत्महत्या गरेका छन्।

भूकम्पमा मानसिक असन्तुलन भएर मात्रै सात जनाले आत्महत्या गरेको जानकारी डिएसपी मल्लले दिए । उनका अनुसार पारिवारिक कलहका कारण २२ जना, मानसिक तनावले १७ जना, आर्थिक कारणले ६ जना, अभिभावको हप्कीदप्कीले पाँच जना, दीर्घरोगले पाँच जना, प्रेममा धोका पाएपछि दुई जना र एक जनाले इच्छा मृत्युले आत्महत्या रोजेको पाईएको छ। अन्नपूर्णपोष्टमा समाचार छ।

२६ वर्ष उमेरका धेरै
उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दाबढी २६ वर्ष उमेर समूहका सर्वसाधरणले आत्महत्या गरेको तथ्यांकले देखाएको छ।

डिएसपी मल्लका अनुसार यो उमेर समुहभित्रकाले मात्रै बैशाख र जेठमा १७ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी ५१ देखि ६५ वर्ष उमेर समुहका १५ जना, १६ देखि २५ उमेर समुहका १५ जना, ३६ देखि ५० वर्ष उमेर समुहका १४ जना, ६६ वर्षमाथिका ३ जना र १६ वर्ष मूनिका तीन जनाले आत्महत्या गरेका थिए।

शैक्षिक आधारमा यस्तो छ
शैक्षिक चेतनाको आधारमा पनि प्रहरीले आत्महत्याको विश्लेषण गरेको छ । जसअनुसार साधारण लेखपढदेखि स्नातकोत्तसम्म पढेकाले आत्महत्या रोज्ने गरेको तथ्यांकले देखाएको छ।

डिएसपी मल्लका अनुसार बैशाख र जेठमा साधारण लेखपढ गरेका ४३ जना, एसएलसी पढेका आठ जना, आईए पढेका पाचजना, स्नातक पढेका दुईजना, र स्नातकोत्तर पढेका एक जनाले आत्महत्या गरेका थिए । बाँकी तीन जनाको पढाइ नखुलेको प्रहरीले जनाएको छ।

बिबाहितको बढी आत्महत्या
बैबाहिक स्थिति केलाउँदा विवाहितले बढी आत्महत्या गरेको तथ्यांकले देखाएको छ । जसअनुसार ५४ जना विवाहित, ११ जना अविवाहित र दुई जनाको वैवाहिक अवस्था नखुलेको डिएसपी मल्ल बताउँछन्।

प्रहरीले वैशाख र जेठमा भएका आत्महत्याको विश्लेषणका क्रममा जातको आधारमासमेत केलाएको थियो । जसअनुसार सबैभन्दा बढी जनजातिले आत्महत्या गरेको पाइयो।

दुई महिनामा २४ जना जनजाति, १३ जना नेवार, ११ जना क्षेत्री, ६ जना दलित र एकजना मधेशी समुदायका सर्वसाधरणले आत्महत्या गरेको जानकारी डिएसपी मल्लले दिए।

उनका अनुसार यो अवधीमा ब्राम्हण समुहदायका एकजनाले पनि आत्महत्या गरेको पाइएन । दुई जनाको जात नखुलेको र एक जना विदेशीले आत्महत्या गरेका थिए।

पेशाका आधारमा मृत्यु रोज्नेहरु
पेशाको आधारमा २० जना ज्याला मजदुरी गर्ने, १३ जना कृषक, १० जना विद्यार्थी, ६ जना गृहणी, पाँच जना व्यापारी, चार जना जागिरे, तीन जना वैदेशिक रोजगारी, एक जना कानुन व्यवसायी, एकजना शिक्षक र एकजना पूर्व सैनिक रहेका छन् । बाँकी तीनजनाको पेशा खुल्न नसकेको जानकारी डिएसपी मल्लले दिए ।





Comments

comments

Leave a Reply

7338