आदिवासी जनजाति महासंघ कतार आफ्नै गालामा झापट हान्दै

तिलविक्रम थेवे, दोहा कतार
प्रसंग आदिवासी जनजाति महासंघ कतारको हो। जो घरीघरी एमालेको संगठन प्रवासी नेपाली मञ्च कतारसंग इलौप अर्थात्् पोइल गइरहन्छ। पूर्वीय परम्परामा विहे गरेर गएपछि नागरिकतामा थर समेत श्रीमानको थरसंग कायम गरी श्रीमानको घरको नियम, रित र संस्कारलाई सम्मान र पालना गर्ने गरेकाछन् विवाहित महिलाहरुले।

लेखक

त्यस्तै आदिवासी जनजाती महासंघ कतार एमालेको वैचारिक संगठन प्रवासी नेपाली मञ्च कतारसंग पोइल गइसकेपछि आफ्नो कार्यक्रम, उद्देश्य, र कार्यनितीमाथि स्वतन्त्र तरिकाले काम गर्न नसक्ने, नमिल्ने अनि नसकिरहेको र नगरिरहेकोले महासंघलाई प्रवासी नेपाली मञ्च कतारले आफनो भगिनी संस्था या पोइल आएकी श्रीमतिको उपनाम दिएर घोषणा नै गरिदिए केही फरक पर्लाजस्तो लाग्दैन।

नेकपा एमाले जसले आदिवासी जनजातिका मुद्धाहरुलाई वेवास्ता गर्दै आइरहेको छ, जसले आदिवासी जनजातिहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आइरहेको छ,, जसले तराई, मधेस र मुस्लिम समुदायलाई अर्कै देशका नागरिकको व्यवहार गरिरहेको छ, जातिय पहिचान, स्वायत्तताको विपक्षमा छ, यस्तो विभेदपुर्ण नितीको सख्त विरोध गर्न र आदीवासी जनजातीहरुको मुद्धालाई प्राथमिकतामा उठाउन देशप्रदेशबाट लागिपर्नु पर्नेमा तिनै पार्टीको प्रवास संगठनमा पोइल जाने धृष्टता गरेपछि यस्तो महासंघबाट आदिवासी जनजातिले के अपेक्षा गर्न सकिन्छ त?

आदिवासी जनजाति महासंघलाई एमालेको निर्देशित आदिवासी जनजातिहरुको संस्था बन्नमा हरेक २ वर्षमा सम्पन्न हुने गरेको कथित् एनआरएनए एनसीसी कतारको अधिवेसन कारक रहेको छ । आदिवासी जनजाति महासंघ कतारका भूतपूर्व अध्यक्ष ०११–०१३ सम्मको पदावधिको लागि एनआरएनए एनसीसी कतारको अध्यक्ष रहदा अमृत गुरुङ्ग आफूमात्र एमाले बनेनन् तर ०११–०१३ मा एनआरएनए एनसीसीलाई नै एमालेको प्रवास संगठनको भगिनी संस्था बनाइ दिए र उनैको निती निर्देशन अक्षरस पालन गर्दैै आफ्नो पदावधि सके। उनी एनआरएनए एनसीसी कतारको चुनाव लड्दै गर्दा उनको पछाडी अहिले जस्तै महासंघ र एमालेको प्रवास संगठनका विच लगन गाठो कस्सिएको थियो। त्यो पहिलो चोटी हो या होइन तर एमालेको प्रवास संगठनमा महासंघ पोइल गएको अवस्था थियो।

त्यसवेला तत्कालिन अध्यक्ष मानबहादर सांवाले चाही आदिवासी जनजाति महासंघ कतारलाई एमालेको भगिनी जस्तो संस्था नवनाएपनि पोइल गइसकेको महासंघलाई रुगेरै बसेको थियो । पोइल गइसकेको संस्थामा पर्दा पछाडीबाट सांवा के कति निर्देशित थिए उनैले जानुन्। तर उनले विचमा छोडेर जानुपर्ने अवस्था आएपछि महासंघका अर्का कार्यवाहक चाहि महासंघसंगै पोइल गएको कतिपय स्थितिमा देखिएकै हो।

त्यसपछि अहिले जनजाती महासंघका भूतपूर्व अध्यक्ष विनेस तामाङ्ग एनआरएनए एनसीसी कतारको अध्यक्ष पदमा उम्मेदवार भएकाछन् भने उनलाई प्रवासी नेपाली मञ्चले पिठयुमा बोकेको छ । आदीवासी जनजाती महासंघ कतारका वर्तमान अध्यक्ष सियाराम चौधरी, लगायत महासंघको मातृसंस्थाहरुका केहीआउरेवाउरेहरु खुलेरै प्रवासी नेपाली मञ्चको उम्मेदवारको चुनाव प्रचारप्रसार गरिरहेकाछन् । ति आउरेवाउरेहरुले कतिपय संसघसस्थामा आफु आवद्ध रहेको, आफुले सपथ खाएको र विधानमा स्पष्ट लेखिएको आफनो काम, कर्तव्य र अधिकारलाई चटक्क भुलेर पोइल गएको महासंघ मार्फत् भन्दै दहिचिउरे व्यवहार देखाइरहेकाछन्।

विधीको विडम्बना उनै जनजातिभित्रका एकजना उम्मेदवार बनाइएको छ । उ यसरी बलिको बोको हुन किन उमेदवार भएको होला र उममेदवार बनाउन चाहनेको स्वार्थमा आफू बलि हुन किन रमाएको होला त्यो बडो हाँस उठदो कुरा छ। खसीको टाउको राखेर कुकुरको मासु वेच्न खोज्ने वैचारिक संस्थाहरको स्वार्थपूर्ण रणनीतिमा तिनै जनजाति बत्तिमा पुतली उडेजस्तो उड्न पाउदा किन दङ्ग परेका होलान् ? आखिर पखेटा अवश्य डढ्ने नै हो।

यसमा मञ्चको उमेदवार कोको छन्, कस्ताकस्ता छन् तत्कालका लागि त्यो सरोकारको विषय भएन तर मञ्चले पिठयुमा बोकेका एनआरएनए एनसीसी कतारको अहिलेका उम्मेदवारहरुलाई आदिवासी जनजाति महासंघका अध्यक्ष र केही मातृसंस्थाहरु लगायतले ज्यानफालेर सघाउनाले महासंघ मञ्चमा पोइल गएसकेको हो भन्ने किटानका साथ भन्न सकिन्छ र अहिले भएको पनि त्यही हो।

दशकौंदेखि आदिवासी जनजातिहरुको अनेक मुद्धाहरुका लागि गरिइदै आएको आन्दोलनहरु निर्णायक हुन नसक्नुको कारण आदिवासी जनजाति महासंघ कुनै न कुनै राजनितिक दलको भगिनी संस्थाको रुपमा काम गरिरहेकोले गर्दा हो।

आदिवासी जनजातिका केहीलाई कांग्रेस एमालेले महासंघको पहरेदार र एजेन्टका रुपमा प्रयोग गरिरहेको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटे यी दुईजना लेण्डुपहरु प्रत्यक्ष उदाहरण हुन्। महासंघको पहरेदार र एजेन्ट भएपछि नगेन्द्र कुमालले महासंघलाई कांग्रेसीकरण गर्नु र पेम्बा भोटेले एमालेकरण गर्नु ठूलो कुरै भएन। आदीवासी जनजातिहरुलाई धुव्रिकरण गर्नु कत्रो कुरा भो र?

अहिले प्रवासतिरको महासंघ र मातृसंगठनभित्र समेत यिनै नगेन्द्र कुमाल र पेम्बा भोटे चरित्रकाहरु रहेकाछन् त्यसैले यिनीहरु आफनो जातिय पहिचान,जातिगत समुदायका मुद्धालाई महत्व नदिने तर पाएसम्म निमिटयान्न पार्न खोज्ने राजनीतिक दलका प्रवास संगठनहरुमा लपक्क टासिएर जान्छन्।

जातिगत समुदायका मुद्धाका लागि मरिमेट्ने व्यक्तिहरु यसरी जातिगत समुदायका मुद्धा सुन्न नचाहने संग मिलेपछि महासंघको मुद्धाहरु के कति उठलान्?

भाषा, लिपी, धर्म, संस्कृति, परम्परा र सस्कार कुनैपनि जाति र समुदायहरुलाई अव कसैले सिकाइरहन पर्दैन। यि विषयहरुलाई मुद्धा बनाएर आदिवासी जानजाति, जाति र समुदायहरु शताव्दीयौसम्म लडे तर आज पनि भाषा, लिपी, धर्म, संस्कृति, परम्परा र सस्कारको संरक्षणमै आदिवासी जनजातिहरुलाई अल्मलाइरहेको छ।

यो त सिमसारमात्र हो अव दोयमको हिसावकिताव मुद्धा सरकारसंग गर्नेवेला उनै सरकारमा रहेका आदिवासी जनजातिका दोयमका मुद्धाका विरोधी कांग्रेस र एमालेमा पोइल गएपछि महासंघसंग के कस्तो चाहि मुद्धा बाकी रहन्छ र?

प्रवासी नेपाली मञ्च (एमाले) को पोल्टामा रहेको आदिवासी जनजाति महासंघ कतारले आफनो नीति र महासंघको एजेण्डाहरु बोकेर आदिवासी जनजाति, मधेस तराई मुस्लिम समुदायको प्रतिनिधित्व गर्न सक्दैन र एमालेको भ्रातृसंगठनसंग कुम जोड्ने जातिय संस्थाले एमालेद्धारा कुण्ठित गरिएको आदीवासी जनजातीहरुको अनेक मुद्धाहरुलाई उठाउन नसक्ने या विरोध गर्न नसक्ने ठहर भइ नै सकेको छ।

कथित् एनआरएनए एनसीसीको प्रवासी नेपाली मञ्च (एमाले) को उमेदवारको समर्थनको निहूमा कतारको आदिवासी जनजाति महासंघ र मातृसंगठनका पदाधिकारीहरुले अव वेलैमा प्रवासी नेपाली मञ्च (एमाले) को सदस्यता लिएको पनि देख्न सकिने संभावना छ।

आदिवासी जनजाति महासंघ कतार यसका मातृसंगठनहरुमा रहेका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव लगायत पदाधिकारी र आदिवासी जनजातिहरु सवैको यसैमा भलो छ भने सवैको जयजय होस्। सवैलाई चेतया भया।





Comments

comments

Leave a Reply

7347