अमरसिंह उच्च मावि पोखरामा थप तनाव

सुबास मल्ल / एचकेनेपाल डट कम –
विगत दुई महिनादेखि तनावग्रस्त पोखराको अमरसिंह उच्च माविमा मंगलबार थप तनावको वातवरण उत्पन्न भएको छ। प्रधानाध्यापक नियुक्तिको विवादमा एकीकृत माओवादी शिक्षकहरुले लगाएको ताला सोमबार विद्यार्थीहरुले फोडेपछि मंगलबार यस्तो अवस्था आएको हो।

मंगलबार पुनः शिक्षकहरुले बिहानदेखि तालाबन्दी जारी राखेपछि दिउँसो विद्यार्थीहरुले त्यसलाई पनि फोडिदिएका थिए। उता लामो समयसम्म तनाव उत्पन्न भएपछि पढाईको वातावरण सिर्जना गर्न माग गर्दै मंगलबार नै विद्यार्थीहरुको अर्काे समूहले तालाबन्दी गरेपछि घटनाक्रम थप तनावग्रस्त भएको हो । मंगलबार नै अखिल क्रान्तिकारी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका कास्की जिल्ला समितिले समेत विद्यालयमा तालाबन्दी गरेको छ।

विद्यालयका प्रधानाध्यापक नवराज पौडेलको कार्यकाल सकिए पछि नयाँ प्रधानाध्यापक नियुक्तिको बारेमा नेकपा एमाले र एकीकृत माओवादी शिक्षकहरु बीच विवाद हुँदै आएको छ। जिल्ला शिक्षा कार्यालयले विद्यालयको प्रधानाध्यापकमा केशव आचार्यलाई नियुक्ति गरेपछि एमाओवादी पक्षधर शिक्षकहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरी आचार्यलाई असहयोग गर्दै आइरहेका थिए।

विवाद बढ्दै जाँदा दुई हप्ता अगाडी प्रधानाध्यापक आचार्यमाथि एमाओवादी समर्थित शिक्षकहरुले भौतिक आक्रमण समेत गरेका थिए । सो आक्रमणमा सामेल भएको अभियोगमा एमाओवादी निकट शिक्षक मंगल रोकायालाई प्रहरीले पक्राउ गरी पाँच दिन हिरासतमा समेत राखेको थियो। आक्रमणमा एमाओवादी जिल्ला सदस्य मिन गुरुङ्ग, वाइसिएलका नेता राम थापा र विद्यालयकै शिक्षकहरु तेजस्वी बराल, केशव घिमिरे, मंगल रोकाया लगायतको संलग्नता रहेको मंगलबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यही घटनाको निरन्तरतामा सोमबार विद्यालयमा एमाओवादी समर्थक शिक्षक केशव घिमिरेमाथि हातपात भएपछि मंगलबार विद्यालय क्षेत्र तनावग्रस्त भएको हो। एमाओवादी शिक्षकहरुले एमाले निकट शिक्षक तथा विद्यार्थी संगठनहरुले आफुँहरुले लगाएको ताला फोड्ने क्रममा शिक्षक माथि हमला गरेको आरोप लगाएका छन्। मंगलबारको घटना पछि दुवै पक्ष एक अर्का विरुद्ध लाग्ने अभिव्यक्ति सार्वजनिक भएसँगै बुधबारबाट थप तनावको अवस्था आउने सम्भावना बढेको छ।

पहिले प्रधानाध्यापकमाथि आक्रमण गर्नेलाई कारबाही ः अनेरास्ववियु
अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले दुई हप्ता अगाडी विद्यालयमा प्रधानाध्यापक केशव आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले शिक्षकको मर्यादालाई ख्याल नै नगरी गुण्डा शैलीमा आक्रमण गर्नेलाई कारबाही नगर्ने प्रशासनले विद्यार्थीहरुले सहज रुपमा पढ्न पाउनुपर्ने माग गर्ने विद्यार्थीहरुलाई वारेन्ट जारी गरेको आरोप लगाएका छन् । उनले मंगलबारसम्म विद्यार्थीहरुको वारेन्ट फिर्ता नभए बुधबारदेखि अनेरास्ववियु आन्दोलनमा जाने चेतावनी दिएका छन्।

प्रधानाध्यापक नियुक्ती नै अवैधानिक ः अखिल क्रान्तिकारी
उता अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्णराज दाहालले भने टेलिफोन वार्तामा विद्यालयको प्रधानाध्यापकमा केशव आचार्यलाई गरिएको नियुक्ती नै अवैधानिक भएको बताएका छन् । निवर्तमान प्रधानाध्यापक पौडेलले सहायक प्रधानाध्यापक तेजस्वी बराललाई प्रधानाध्यापकमा नियुक्ती नगरेर अर्काे शिक्षकलाई नियुक्ती गर्नु नै अवैध भएको उनको तर्क छ । उनले यसको बारेमा जिल्ला शिक्षा कार्यालय, क्षेत्रिय शिक्षा निर्देशनालय लगायतमा समेत पुगेको जानकारी दिँदै न्यायको पक्षमा लड्न आफ्नो संगठन लड्न तयार रहेको पनि चेतावनी दिएका छन्।





Comments

comments

Leave a Reply

7745