जागिर खोसिएका सञ्चारकर्मी कुटिए

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको गाडिले सडक जाम गरेको तस्विर खिच्दा जागिर खोसिएका इमेज न्युज एफएमका पत्रकार संदीप योगीमाथी कोटेश्वरमा अपरिचित समूहले आक्रमण गरेको छ।


सन्दिप योगी, फाईल फोटोः ट्विटर

आइतबार कोटेश्वरको महादेवस्थानस्थित सनराइज खाजाघरमा खाजा खाइरहेको बेला अपरान्ह ४.३० मा ‘जहाँ भेट्यो त्यही मार्ने’ धम्की दिएको उनले बताए।

उनीद्धारा जारी विज्ञप्तिमा आक्रमणबाट उनको घाँटीमा चोट लागेको र घटनाबारे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएको उल्लेख छ।

यसैविच, योगीको पुनःस्थापना माग गर्दा प्रहरी दमनको तयारी गरेको भन्दै इमेजका सञ्चारकर्मीले विरोध गरेका छन्। योगीको पुनःस्थापनाका लागि सोमबारको भेला भाँड्न व्यवस्थापकले कार्यालय परिसरमा प्रहरी राखेको भन्दै उनीहरुले विरोध गरेका हुन्। नागरिक दैनिकमा समाचार छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको गाडीले जाम गराएको तस्बिर खिचेको भन्दै योगीलाई मौखिक रुपमा बर्खास्त गरेपछि उनको पुनर्बहालीको माग गर्दै इमेजकर्मी अधिकार संरक्षण समिति गठन गरेर आन्दोलनमा उत्रेका छन्।

समितिका अनुसार सोमबारको भेला रोक्न आइतबार बिहानैदेखि व्यवस्थापनले इमेज परिसरमा प्रहरी तैनाथ गरेको छ। सञ्चारकर्मीको भेला भाँड्न नेपाल पत्रकार महासंघका अध्यक्ष तथा इमेज च्यानलका समाचार प्रमुख महेन्द्र बिष्ट आफैं लागेको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘बिष्टले गृहमन्त्री बामदेव गौतम र अख्तियार प्रमुख कार्कीलाई गुहारेर श्रमजीवि पत्रकारको आन्दोलन दबाउन भूमिका खेल्नु सिंगो श्रमजीवि पत्रकारका लागि लज्जाको विषय हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण आन्दोलन दमन गरी श्रमजीविको अधिकार खोस्न उद्यत नहुन बिष्टसँग समिति आग्रह गर्दछ।’

इमेज ग्रुपले शुक्रबार विज्ञप्ति जारी गर्दै योगीलाई निस्कासन नगरेको दाबी गरेको थियो। योगीले भने कार्यालय नआउन व्यवस्थापकले निर्देशन दिएको र त्यसपछि कुनै जानकारी नदिएको बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7753