सडक दुर्घटनाबाट प्रतिदिन ६ जनाको मृत्यु, ३३ घाइते

राजन उपाध्याय / एचकेनेपाल डट कम-
पोखरा, २४ श्रावण। नेपालमा प्रतिदिन ६ जनाको मृत्यु र ३३ जना घाइते हुने गरेको तथ्याङ्क बाहिर आएको छ। प्राथमिक उपचार र सडक सुरक्षाबारे आइतवार पोखरामा शुरु भएको चारदिने तालिममा उक्त जानकारी दिइएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा सडक दुर्घटना मानिसहरुको मृत्युको आठौं मुख्य कारण रहेको छ। साथै २५ देखि २९ वर्षका युवाहरुको मृत्युको मूल कारण पनि सडक दुर्घटना बनेको छ। विश्वमा वर्षेनी सडक दुर्घटनाका कारण १३ लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने नेपालमा प्रतिदिन ६ जनाको मृत्यु र ३३ जना घाइते हुने गरेको तथ्याङ्क छ।

पोखरामा शुरु भएको चारदिने तालिमको शुभारम्भ गर्दैै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डोलराज पाण्डेले प्राथमिक उपचारको महत्व बढ्दै गएको बताउनुभयो। शाखाका मन्त्री एवम् तालिमका कोर्ष कोअर्डिनेटर कृष्ण तिमील्सीनाले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताउनुभयो।

तालिममा लेखनाथ र शिशुवा उपशाखाका २४ जनाको सहभागिता रहेको छ। तालिममा मिना सुवेदी, मोहनसिंह खड्का, रेखा कार्की र मुक्तिराम बराल सहजिकरण गर्नुहुनेछ। सडक सुरक्षा र सडक दुर्घटना, प्राथमिक उपचार, घाइतेको जाँच र वर्गीकरण, बेहोसी, श्वास—प्रश्वास समस्या, रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट, भँचाई, घाउचोट र पट्टी, पोलाई, मनोवैज्ञानिक प्राथमिक उपचार लगायतका विषयमा तालिम प्रदान गरिने छ। तालिम पश्चात उनीहरुले स्वयमसेवीको रुपमा कार्य गर्नेछन्।

प्राथमिक उपचार र सडक सुरक्षा परियोजनाका फिल्ड कोअर्डिनेटर प्रतिभा सापकोटाले कास्कीको कोत्रेदेखि लुम्लेसम्म परियोजना सञ्चालन भइरहेको जानकारी दिदै यस क्षेत्रका स्थानीयलाई सडक सुरक्षाबारे तालिम प्रदान गरिने बताउनुभयो। नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यक्रम भएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7878