उपत्यकाका १० रोचक ठगी यस्ता छन्

१. नक्कली लालपुर्जा ५ करोडमा बिक्री प्रयास
कर्पोरेट इन्टरप्राइजेजका सञ्चालकद्वय रमेश खड्गी र विष्णु राउतलाई उनकै कर्मचारी नवीन घिमिरेसहितका तीनजनाले अर्कोको जग्गा देखाएर पाँच करोड ठग्ने प्रयास गरे। घिमिरेको समूहले नक्कली लालपुर्जा बनाएर अर्काको जग्गालाई खड्गी र राउतलाई बेच्ने योजना बनाएका थिए । तर, समयमै थाहा पाएपछि थोरै रकम मात्रै डुब्यो । ठगीमा घिमिरेसहित रामप्रसाद अधिकारी र लालबहादुर कुसवाहलाई प्रहरीले गत महिना पक्राउ गरेको थियो । खड्गी र राउतले भारतबाट कोइला आयात गरी स्टोरका लागि जग्गा किन्न खोजेका थिए । दुई लाख १० हजार रुपैयाँ उनीहरूले बैना पनि दिइसकेका थिए।

२. पत्रिकामा विज्ञापन छपाउँदै ठगी
पछिल्लो समय दैनिक पत्रिकामै विज्ञापन छपाएर पनि ठगी हुन थालेको छ । वर्किङ भिसामा क्यानडा तथा अस्ट्रेलिया पठाउने भन्दै पत्रिकामा विज्ञापन छपाएर रकम उठाउने सर्लाही लालबन्दीका प्रताप भट्टलाई प्रहरीले बिहीबार मात्रै पक्राउ गरेको थियो । कतिपयलाई त उनले डिपेन्डेन्ट म्यारिज भिसामा पठाउने भन्दै प्रलोभनमा पारेर ठगी गरेका थिए।

धापासीका कृष्ण कुँवरलाई २७ लाखमा अमेरिका पठाइदिने भन्दै भट्टले दुई लाख ७५ हजार अग्रिम लिएका थिए । उनले काभ्रेका ढुप्साङ लामा, पर्साका पर्वत श्रेष्ठ, रामेछापका भरत मगरलाई प्रतिव्यक्ति १२ लाखमा चर्चमार्फत अमेरिका पठाइदिने भन्दै हरेकबाट तीन लाख ६० हजार उठाएका थिए । त्यस्तै, भूकम्पपीडित ११ जना युवालाई क्यानडा पठाउने भन्दै तीन लाखका दरले ठगी गर्ने भारतीय नागरिक पवनकुमार अग्रवाल पनि चार दिनदेखि प्रहरी हिरासतमा छन् । उनले पनि विज्ञापन छपाएरै पैसा उठाएका थिए।

३. नक्कली बिजिनेसले डुबायो
फिक्सन ग्लोबल इन्भेस्टमेन्ट प्रालिका सञ्चालकद्वय सुक्किम लामा र सेरापसिंह लामाले लाखौँ कमाउने सपना देखाएर विभिन्न व्यक्तिलाई लगानी गर्न लगाएर ठगी गरे । वैदेशिक विनिमयसम्बन्धी कारोबार गर्ने भन्दै लगानी गरे आकर्षक प्रतिफल दिने झुटो प्रलोभन दिएर उनीहरूले प्रतिव्यक्ति ५० हजारदेखि ५० लाखसम्म उठाएका थिए । सिआइबीले गत महिना उनीहरूलाई पक्राउ गर्‍यो।

४. हाकिम भेटाउँदै ठग्दै
गृह मन्त्रालयमा खरिदारको जागिर लगाइदिने भन्दै राजकुमार चापागाईंले दुई युवतीबाट चार लाख ठगी गरे । उनको ठग्ने शैली पनि रमाइलो छ । उनी नियमित सिंहदरबार गइरहन्थे । जागिर खान इच्छुक व्यक्तिलाई लगेर मन्त्रालयका हाकिम पनि चिनाउँथे । बहिनी हो, जागिर लगाइदिनुपर्‍यो भन्दै कुरा गर्थे । पछि कुरा मिलिसकेको भन्दै पैसा लिएर ठग्ने गरेको खुलेपछि अपराध महाशाखाले उनलाई गत महिना पक्राउ गर्‍यो।

५. एक रातमै दोब्बर बनाइदिने भन्दै पाँच लाख ठगी
एकै रातमा पैसा दोब्बर बनाइदिने प्रलोभन देखाउँदै एक समूहले कुमारीपाटीकी डिम्पल थापाबाट सजिलै पाँच लाख रुपैयाँ ठग्यो । ललितपुर प्रहरीले ठगीमा संलग्न ज्ञानबहादुर क्षेत्री, रोशन मल्ल भन्ने शिव भुर्लाकोटी र सीतादेवी ढकाललाई पक्राउ गर्‍यो । सक्कली नोटको तल कागज राखेर रसायन प्रयोग गरी पाँच लाखलाई १० लाख बनाइदिने भन्दै उनीहरूले ठगी गरेका थिए । गत १८ पुसमा पैसा लिएर फरार उनीहरूलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको हो।

६.सस्तोमा डलर साट्ने भन्दै ठगी
सिन्धुपाल्चोकका प्रकाश भन्ने ताराबहादुर तामाङ र सञ्जय तामाङले सस्तोमा डलर साट्ने भन्दै स्वयम्भूस्थित थकाली किचेन एन्ड फास्टफुडका सञ्चालक चित्रबहादुर शेरचनलाई फिल्मी शैलीमा ठगे । स्वयम्भूको जंगलमा हावाहुरी चलेपछि झोला छोडेर ज्यान जोगाउँदै भागेका पर्यटकको झोलामा धेरै डलर फेला परेको र सस्तोमा डलर साटिदिने भन्दै उनीहरूले शेरचनलाई भक्तपुरको जगातीमा बोलाएका थिए । डलर भनेर दिएको बन्डलमा तलमाथि सक्कली डलर र बीचमा नोट आकारको कागज राखेर ठगी गरियो । त्यस्तै प्रकृतिको घटना लैनचौरमा पनि भयो । सिन्धुलीका सागर थापामगर र कृष्णबहादुर तामाङले नवलपरासी डेढगाउँका नीलबहादुर कामुङलाई पाँच लाख रुपैयाँ ठगी गरे । वैदेशिक रोजगारमा कतारबाट गत ६ असारमा फर्किएका नीलबहादुरलाई उनीहरूले रियालको बिटो भन्दै कागजको बन्डल दिएर ठगी गरेका थिए।

७. प्रहरी आफैँ ठगीमा
ठगहरूलाई पक्राउ गर्ने प्रहरी आफैँ पनि गत २५ असारमा पक्राउ परे। महानगरीय प्रहरी कार्यालयमा कार्यरत जवान मेघबहादुर पाण्डेले राष्ट्रिय अनुसन्धान विभागमा असइ बनाइदिने भन्दै चारजनालाई ठगी गरे । आफ्नो एआइजीहरूसँग राम्रो सम्बन्ध रहेको भन्दै विश्वासमा पारी उनले ठगी गरेका थिए । टीकाराम सञ्जेलको उजुरीपछि अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो।

८.गर्लफ्रेन्ड बनाउँदै ठग्दै
आफूसँग बेलायतको ग्रिनकार्ड भएको र बिहे गरेर विदेश लैजाने भन्दै २० भन्दा धेरै युवतीलाई ठगी गर्ने वीरबल तामाङलाई पनि प्रहरीले यही वर्ष पक्राउ गर्‍यो । उनले युवतीलाई यौन शोषणसमेत गरेका थिए । गत फागुनमा सिआइबीले उनलाई पक्राउ गरेको हो । उनका केही पूर्वप्रेमिकाले जबर्जस्ती करणी मुद्दामा समेत प्रहरीमा जाहेरी दिएका थिए । आफूलाई धनाढ्य व्यक्तिका रूपमा प्रस्तुत गरेर युवतीसँग नजिकिएर उनी ठगी गर्थे । ठगी गरिसकेपछि मोबाइल नम्बर परिवर्तन गरी फरार हुने गर्थे। हाल उनी जेलमा छन्।

९. एटिएमको पिन चोर्दै सपिङ गर्दै
एटिएमबाट पैसा निकाल्न नजानेको नाटक गरी एटिएम बुथबाट अरूको पिन नम्बर चोरेर ठगी गर्दै आएका भारत बिहार घर भएका भूषण पाण्डे र दिलीपकुमार यादवलाई प्रहरीले गत शनिबार पक्राउ गर्‍यो । उनीहरूले नबिल बैंकका ग्राहकको खाताबाट गोप्य रूपमा पैसा निकाल्ने तथा अनलाइन पेमेन्टमार्फत सपिङ गर्दै आएका थिए । एटिमएबाट फालिएको स्लिपबाट सूचना लिई उनीहरूले अनलाइन अकाउन्ट ह्याक गर्दै आएका थिए । तर, प्रहरीले समयमै सूचना पाउँदा ठूलो रकम ठगी हुन पाएन।

१०. अमेरिकी दूतावासको कर्मचारी भन्दै ठगी
आफूलाई अमेरिकन दूतावासको कर्मचारी भएको र भिसा लगाइदिने भन्दै सातजनालाई ठगी गर्ने केदार खड्का पनि यतिवेला महाराजगन्ज प्रहरीको हिरासतमा छन् । गत १७ साउनमा पक्राउ परेका उनले अमेरिकी दूतावासको नक्कली परिचयपत्रसमेत बनाएका थिए । आफ्नो नाम दीपक कार्की भएको भन्दै झुक्याएर उनले चार वर्षदेखि धेरै व्यक्तिलाई ठगी गर्दै आएको खुलेको छ । भिसा लगाइदिने मात्र होइन, दूतावासबाट संघसंस्थालाई अनुदान मिलाइदिने भनेरसमेत उनले ठगी गरेका थिए । पैसा लिएपछि उनी मोबाइल नम्बर परिवर्तन गरी भाग्ने गरेका थिए। (नयाँ पत्रिका) दैनिकबाट





Comments

comments

Leave a Reply

7987