शिशु मारेको अभियोगमा साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

एकजना २ वर्षे शिशुको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ। ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ।

शोभा परियार । तस्वीर सौजन्य: नेपाली दूताबास/साउदी अरब
यी घरेलु कामदार महिला साउदी शिशु ओसामा विन मइद अल एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा दोषी पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तथापि मन्त्तालयले अपराध विस्तृत विवरण नदिएको सरकारी समाचार संसथा एसपीएले जनाएको छ।

यी घरेलु कामदार महिलालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो। साउदीमा इस्लामी सरिया कानुन लागू हुन्छ । यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डैती तथा लागूपदार्थको गैरकानुनी बेचविखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड हुन्छ। आजको राजधानी दैनिकमा समाचार छ।

साउदीमा छोरीको मृत्युदण्डको खवरपछि आमाबाबु मुर्छा
तनहुँ, श्रावण २० – साउदी अरवमा मृत्युदण्ड दिइएकी शोभा परियारको परिवार शोकमा डुबेको छ। ३२ बर्षीया शोभालाई मंगलबार मालिकको नावालक छोरा हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको हो।

तनहुँको भिमाद ३ भावरस्थित माईती घरमा शोभा परियारकी ११ वर्षीय छोरा दिवस (विचमा) सहित आमावावु वुद्धिसरा र भिमवहादुर । तस्विर: पूर्ण विके/ईकान्तिपुर
‘आमाबाबा मलाई यहाँ आरामै छ । मेरो कुनै चिन्ता नलिनु बरु तपाईंहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्नु नातिलाई पढ्न भन्नु,’ जेठी छोरी शोभा परियारले आइतबार यसो भन्दा ५४ वर्षीया बुद्धिसराको मनमा सन्तोष छाएको थियो । तर त्यसको दुई दिन नबित्दै आरामै छु भनेकी छोरीलाई मृत्युदण्ड दिइएको खवर सुनेपछि बुद्धिसरा र उनका ६४ वर्षीय श्रीमान् भीमबहादुर मुर्छा परेका छन्।

जेलमा रहेकी उनले मोबाइलमा सन्चो बिसन्चोको कुराकानी गर्दा चाँडै नै छुटेर घर आउने बताएकी थिइन्। भिमाद ३, भावरका आमाबुबा र २२ वर्षीय बहिनी रेखालाई सम्झाउन छिमेकी र आफन्त आइपुगेका छन् । शोभाकी ११ वर्षीय छोरा दिवस स्थानीय बालज्योति प्राविको कक्षा ५ मा पढ्छन् । विद्यालयमा पढ्न गएकाले मृत्युदण्डको खबरबारे दिवसलाई कुनै जानकारी छैन। जन्मजात ओठ फाटेका दिवसका बाबुले कान्छी श्रीमती ल्याएपछि उनी मामाघर बस्दै आएका थिए।

‘दिदीलाई यस्तो मृत्युदण्ड दिइएला भन्ने कत्ति पनि ठानेका थिएनौं,’ रेखाले रुदै भनिन्, ‘हाम्रो परिवारमा सहनै नसकिने गरी ठूलो बज्र पर्यो । दिवसले ममी कहिले आउनुहुन्छ भनेर सोध्दा के भनेर जवाफ दिने ?’ सार्वजनिक सञ्चार माध्यममा दिदीको मृत्युदण्डको खबर सुनेपछि साउदीका लागि नेपाली राजदूतसँग बुझेर समाचार साँचो भएको खबर पाएपछि घरमा रुवावासी सुरु भएको छ । आमा र बाबु मुर्छा पर्दै बर्बराउने गरेका छन् । ‘हामीलाई खुसी दिने छु भन्दै विदेश गएकी थियौं,’ आमा बुद्धिसराले रुदै भनिन्, ‘यो कस्तो खबर सुन्नुपर्यो । अब हामीलाई सञ्चो बिसञ्चो सोध्दै कसले फोन गर्ला।’

घरेलु कामदारको रुपमा चार वर्षअघि साउदी हिंडेकी शोभाले आफूले यातनाको प्रतिकारका क्रममा घर मालिकका २ वर्षीय छोराको मृत्यु हुन पुगेकाले जेलमा रहेको कुरा २०७० चैत ३१ गते बताएकी थिइन् । मालिकले आफूलाई जेलमुक्त गराउने र स्वदेश फर्काउने बताएको आफूहरूलाई फोनमा भन्ने गरेको रेखाले बताइन् । शोभाले भानुमति ९ स्थित हिमालय उच्चमाविबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान्ले अर्की युवतीसँग विवाह गरेर छुट्टै बस्दै आएपछि छोराको भविष्यका लागि शोभाले विदेशको बाटो रोजेकी थिइन् । उनलाई घरमालिकका दुई वर्षीय छोरालाई घाँटी रेटेर मारेको आरोपमा मंगलबार अरारनगरमा मृत्युदण्ड दिइएको हो।

राज्यले छुटाउनका लागि पहल नगरेकाले आफ्नो दिदीले ज्यान गुमाउनु परेको रेखाले बताइन् । स्थानीय जयनेपाल निमाविका शिक्षक केशवराज कँडेलले शोभाका बाबुआमालगायत छिमेकीहरूलाई समेत ठूलो चोट परेको बताए। शोभा भीमबहादुर दम्पतीका ३ छोरी र ३ छोरामध्ये जेठी हुन्। (कान्तिपुरबाट)

परिवारले माफी नदिएकोले मृत्युदण्ड: राजदूत
होम कार्की दोहा (कतार), श्रावण २१ –
घरेलु महिला कामदार (हाउसमेड) को रुपमा साउदी पुगेकी तनहुँका ३२ वर्षीया शोभा परियारलाई स्थानीय प्रशासनले सोमबार मृत्युदण्ड दिएको छ । साउदी सरकारले नेपालीलाई मृत्युदण्डको फैसाला कार्यन्वयन गरेको यो पहिलो पटक हो।

भिमाद-५, तनहुँकी परियारले आफू काम गर्ने मालिक्नीको २ बर्षे छोरीलाई हत्या गरेको मुद्दामा सुनुवाई गर्दै एक महिनाअघि साउदीको अदातलले मृत्युदण्डको फैसला सुनाएको थियो । नेपाली दुताबासका अनुसार परियारको शब पनि नेपाल नजाने भएको छ।

‘नेपाली महिला शोभा परियारलाई टाउको काटी मृत्युदण्ड दिइएको यहाँको गृहमन्त्रालयले जनाएको छ’, साउदीको लागि नेपाली राजदुत उदयराज पाण्डेले ईकान्तिपुरलाई भने,’उहाँलाई बचाउन दुताबासले धेरै प्रयास गरेका थियौं। मालिक्नीले क्षमा नदिने अडान राखेपछि स्थानीय प्रशासनले मृत्युदण्ड दिने फैसालाको कार्यन्वयन गर्नुपर्‍यो।’

आफुमाथि मालिक्नीबाट यातना भएपछि बच्चाको हत्या गर्न पुगेको बयान परियारले दिएकी थिइन । परियारले नेपाली दुतावाससमक्ष हत्याको अभियोग स्वीकार गर्दै २०१२ नोभेम्मर मा तीन पेजको लिखित बयान दिएकी थिइन । ‘सधै मालिक्नीले यातना दिन्थीन । २०१२ जुलाई २८ मा बिहान सुतिरहेको अबस्थामा मालिक्नीले आएर पिट्दै काममा लगाइन । ‘बिहान साढे ६ बजेतिर दुई बर्षे छोरोलाई नुहाउन बाथरुम लिएर गएँ’, उनले बयानमा लेखेकी छिन्,’निकै तनाबमा थिइन्। आबेगमा आएर बच्चाको हत्या गरिदिए । जुन मैले गर्छु भन्ने सोचेको थिइनँ।’

उनले तीन वटै अदालतमा हत्या स्वीकार गरेकोले निर्णय छिटो भएको राजदुत पाण्डेले भने। ‘सबैभन्दा तल्लो अदालतले मृत्यु दण्डको सजाय सुनाएको थियो। त्यसलाई माथिल्लो दुई अदातलले सदर गर्दै राजाकोमा पेश गरियो’, उनले भने,’राजाले पनि त्यसलाई सदर गरिदियो।’

साउदीको राजधानी रियादबाट १३ सय किलोमिटर टाढा पर्ने अररमा परियार काम गर्थिन। पाण्डेले परिवारलाई माफी दिलाउनको लागि अररका गर्भनरलाई भेट्न समेत गएको बताए। ‘सिरिया कानुन अनुसार पीडित पक्षबाट माफी नदिएसम्म कसैले केही गर्न सक्तैन। त्यसकारण परिवारलाई मनाइदिन भन्दै त्यहाँको प्रशासन प्रमुख -गर्भनर)लाई भेट्न गएँ’, पाण्डेले भने,’गर्भनरले पनि परिवारलाई बोलाएर क्षमा दिन आग्रह गर्नुभयो। जे माग्छ त्यही दिन्छु भन्नुभयो। तर, पीडित परिवारले छोरो नै चाहिने बताएपछि केही हुन सकेन।’

राजदुतका अनुसार गर्भनरबाट पछि पनि पटक पटक पहल भएपनि परिवारले मृत्युदण्ड हुनु नै पर्ने अडान दोहोर्‍याए। ‘सकिन्छ भने छोरो दे । होइन भने मृत्युदण्ड दे’, परिवारले गर्भनरलाई भने,’मृत्युदण्डबाट मात्रै न्याय मिल्छ।’

शोभा २०११ अपि्रल भारतीय बाटो हुदै साउदीमा काम गर्न पुगेकी थिइन। ७ सय साउदी रियालमा काम गर्न पुगेपनि उनले ६ सय मात्रै पाउने गरेकी बताएकी थिइन्। प्लस टु गरेकी उनको १२ बषिर्य एउटा सन्तान भएको जनाएकी थिइन। ‘श्रीमानबाट बिच्छेद भएपछि प्राइभेट कोटामा खादै आएकी जागिर छाडेर साउदी आएँ’, उनले भनेकी थिइन,’यहाँ निकै यातना भोग्नुपर्‍यो।’





Comments

comments

816