कतारबाट चार बर्षपछि मृतकका परिवारलाई ४० लाख क्षतिपूर्ति

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम-
कतार –स्याङ्गजा जिल्ला बिचारी चौतारा गाविसका दल बहादुर बि.क. २०१० को जुलाईमा रोजगारको शिलशिलामा कतारमा आएका थिए। कतार आएको तीन महिना नपुग्दै कतारको सनैयास्थित सडक दुर्घटनामा परी उनको मृत्यु भएको थियोे।

परिवारलाई सुखमा राखौला अनि ४ जना नावालक छोराछोरीहरुको लालनपालन र उचित शिक्षा दिन सकिएला भन्ने उद्धेश्यका साथ कतार छिरेका मृतक बिकको सपना परदेशी भूमिमै बिलायो।

कमाउन गएको श्रीमानले तीन महिना लाग्योे अव त घर खर्च पठाउला र घर गुजारा चलाउला भन्दै प्रतिक्षामा बसेकी उनकी श्रीमती दिलकुमारी बिकलाई आफ्ना श्रीमानको मृत्युको खवरले बेहोस बनायो।

श्रीमानको अभाव त हुने नै भयो २ छोरा र २ छोरीको लालनपालन कसरी गर्ने चिन्ता उनका लागि खपि नसक्नु हुन्थ्यो। बि.क कतार गएपछि जन्मेको काखे बालकलाई स्याहार्नु कि मेलापाता गरेर दैनिक गुजारा चलाउनु उनका लागि सहज थिएन। कतारमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन्छ भन्ने सुनेकी उनलाई दैनिक गुजारा चलाउने झिनो आशा थियो।

त्यही आशा श्रीमानको निधन भएको ४ बर्षपछि पुरा भएको छ। ४ बर्षपछि कतारको अदालतले मृतकको पक्षमा सुनुवाई गरेपछि उनका परिवारलाई कतारी रियाल १ लाख ५९ हजार ८ सय ६० क्षतिपूर्ति स्वरुप बिमा कम्पनीले दिएको छ। उक्त रकम मृतकका परिवारले पाईसकेका छन्।

उनको परिवारिक स्थितिलाई मध्यनजर गर्दै स्यासस बिचारी चौतारा ईकाई कतारले तुरुन्तै रु ४ लाख संकलन गरि मृतकका परिवारलाई राहात स्वरुप पठाएको थियो। उक्त रकम संस्थाका उपाध्यक्ष प्रकाश पौडेल नेपाल गएको बेलामा स्यासस अन्तर्राष्ट्रिय समन्वय समितिकी अध्यक्ष अनन्त कुमार श्रेष्ठ, सचिव मेघ प्रनेश लगायतका व्यक्तिहरुको रोहवरमा मृतकका परिवारलाई हस्तान्तरण गरेको स्यासस बिचारी चौतारा ईकाई कतारका अध्यक्ष बम बहादुर कार्कीले बताए।

बिमा कम्पनीबाट क्षतिपूर्ति स्वरुप पाएको रकमले मृतकका परिवारलाई भविष्यमा सहज होस् भन्ने उद्धेश्य अनुरुप रु २० लाख जिल्लास्थित कृषि विकास बैकको मुद्धती खातामा पाच बर्षका लागि जम्मा गरिएको छ भने बाँकी रकम गरिमा विकास बैकमा जम्मा भएको अध्यक्ष कार्कीले बताए।

विभिन्न माध्यमबाट सहयोग गर्ने संस्थाका संरक्षक प्रेम नेपाली, संस्थापक अध्यक्ष खड्का बहादुर नेपाली, नेपाली दुतावास कतारलगायत सम्पूर्णलाई अध्यक्ष कार्कीले धन्यवाद प्रकट गरे।





Comments

comments

818