बालुवाटारमा बनेको थियो घैंटे हत्याको योजना

काठमाडौं। २०७२ साल भदौ ३ गते बिहान ११ बजेतिरसको समयमा काठमाडौंको सामाखुसीमा कुमार श्रेष्ठ उर्फ घैंटे नाम गरेका एक व्यक्तिले प्रहरीको समूहमाथि गोली चलाएपछि त्यसको जवाफी कारबाहीमा प्रहरीबाट भएको फायर (इन्काउन्टर) मा उनी मारिएको भन्ने समाचार बाहिर आयो । तर त्यतिबेला घटनाको विषयमा प्रहरीले जसरी विवरण सार्वजनिक गरेको थियो अहिले सो घटनाको विषयमा थप सत्यतथ्य सार्वजनिक हुन थालेको छ । घैंटे र उनको समूहले गोली चलाएपछि त्यसको जवाफी कारबाही (इन्काउन्टर) मा घैंटेको मृत्यु भएको प्रहरीले बताउँदै आएको भएपनि घटनाको रहस्य प्रतिदिन थप रहस्यमय हुँदै आइ रहेको छ।

यो घटनामा सरकारका प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री तथा सुरक्षा निकायका केही व्यक्ति समेतको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको कुरा विस्तारै सार्वजनिक हुन थालेका छन्। त्यसो त घैंटेको हत्या भएको १२ दिन वितिसक्दा समेत उनको शवको पोस्टमार्टम हिजो भएको थियो। घैंटेको प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गएको भनिएपनि सो घटनामा प्रहरीतर्फ कोही कसैलाई सामान्य चोटपटक पनि नलाग्नु तथा घैंटे र उनलाई जोगाउन पुगेका छिमेक तथा आफन्तका युवाहरुलाई गोली लाग्नुले सो घटनामा घैंटे र उनका साथीहरुले गोली नचलाएको कुरा घाम जत्तिकै छर्लङ्ग छ। जुन कुरा घटनाको प्रत्यक्षदर्शी सामाखुसीका स्थानीय वासिन्दाहरुले पनि बताउँदै आइरहेका छन् । घैटेले आफू असुरक्षित भएको भन्दै सुरक्षाको मागसहित राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको ३५ दिनपछि नै उनको हत्या हुनुले पनि यो घटनाका पछाडि ठूलै खालको साँठगाँठ रहेको अनुमान गर्न सकिन्छ।

ज्यान बचाउन मागगर्दै मानवअधिकार आयोगमा निवेदन गत असार २७ गते कुमार श्रेष्ठ घैंटेले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय मानवअधिकार आयोगमा एउटा उजुरी पत्र दर्ता गराएका थिए। जुन पत्रमा उनले असार २५ गते साँझ साढे ५ बजेतिर काठमाडौंको कपुरधारास्थित तरकारी बजार क्षेत्रमा सादा पोसाकमा आएका करिब आधादर्जन व्यक्तिहरुले आफूलाई पक्राउ गर्न खोजेको उल्लेख गरेका छन् । सो उजुरीमा उनले त्यसरी आएका व्यक्तिहरुले आफूलाई प्रहरी बताएको र आफूलाई अपशब्द बोलेर लागूऔषध, हात हतियार लगायतको केशमा आफूलाई फसाइदिने भनि धम्की दिएको उल्लेख छ । त्यसपछि स्थानीय वासिन्दा र व्यवसायीले त्यसको प्रतिवाद गरेपछि ती सादा पोसाकमा आएकाहरुले एकपटकलाई बाँचिस्, अर्कोपटक तलाई छाड्दैनौं भन्दै त्यहाँबाट चेतावनी दिएर भागेकोले आफ्नो जीवन रक्षाको लागि आयोग समक्ष माग गर्दछु भनि घैंठेले मानवअधिकार आयोगलाई गरेको पत्राचारमा उल्लेख छ ।

आयोगद्वारा प्रहरीसँग घटनाको माग
घैंटेले आयोगलाई उजुरी दिएको दुई दिन वित्न नपाउँदै राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालय, मानवअधिकार इकाई नक्सालको नाममा सो घटनाको वास्तविकता जानकारी गराउन मागगर्दै पत्राचार गरेको देखिन्छ । पत्रमा आयोगले घैंटेले आयोगमा दिएको उजुरी के हो ? घटना कसरी भयो तथा यसको सम्बन्धमा के कसो भएको हो? सो कुराको जानकारी यथाशीघ्र उपलब्ध गरी घटनाको अनुसन्धान कार्यमा सहयोग पुर्याईदिनु हुन आग्रह गर्दछु भन्ने उल्लेख गरिएको छ।

आयोगलाई प्रहरीको जवाफ
राष्ट्रिय मानवअधिकार आयोगले कुमार श्रेष्ठ घैंटेले ज्यानको सुरक्षा गरीपाउँ भनि आयोगमा उजुरी दिएको केही दिनपछि नै प्रहरीलाई घटनाको सत्यतथ्य जनकारी गराउन भनि आयोगले पत्र लेख्यो। त्यसको करिब २० दिनपछि प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगलाई पत्रको जवाफ पठाएको देखिन्छ। सो पत्रमा प्रहरीले ‘कुमार घैटेले आयोगमा दिएको व्यहोरा अनुसारको घटनाका विषयमा घटनास्थलमा पुगेर स्थानीय प्रहरी, तरकारी विक्रेता, स्थानीय वासिन्दालगायसँग बुझ्दा यस्तो प्रकृतिको घटना नै नभएको पाइएको उल्लेख छ। यस्तै सादा पोसाकधारी व्यक्ति प्रहरी नै हुन् भन्ने कुनै आधार नभेटिएको कुरा सम्बन्धित प्रहरी कार्यालयहरुमा पत्राचार गरी बुझ्दा थाहा भएको बताइएको छ । यस्तै आयोगमा उजुरी दिने घैंटेलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै आदेश नदिएको भनि जवाफ पठाइएको उल्लेख गरिएको छ । साउन २७ गते महाराजगञ्ज प्रहरी वृत्तले महानगरीय प्रहरी बृत्त अपराध अनुसन्धान शाखा तथा लौनचौरस्थित प्रहरीको कारबाही शाखालाई पत्राचार गरेको रेकर्ड छ । सोही अनुसार सोह्रखुट्टेले प्रहरीले कपुरधारा प्रहरीलाई पत्र पठाएको र कपुरधाराले उल्लेखित घटनाको विषयमा अनुसन्धान गर्दा यस्तो केही भएको नपाइएको भनी स्पष्टीकरण दिएको भेटिएको छ । यी सबै घटनाक्रमलाई लाई आधार मान्दा, प्रहरी र मानवअधिकार आयोगको पत्राचारलाई हेर्दा पल्छिल्लो समयमा घैंटे प्रहरीको मोस्ट वान्टेड नभएको स्पष्ट देखिन्छ । घैंटेको हत्यापछि राष्ट्रिय मानवअधिकार आयोगकै केही पदाधिकारीले सञ्चारमध्यममा मानवअधिकार आयोगको अुसन्धानमा नै रहेको बेला घैंटेको हत्या हुनु खतराको संकेत भएको प्रतिक्रिया दिएका छन् । यसले पनि घैंटेको हत्याप्रति प्रसस्तै आशंका गर्ने ठाउँ बनाइदिएको छ। घैटेको हत्यामा प्रहरीका दिपेन्द्र चन्दले गोली चलाएको भन्ने कुराहरु बाहिर आएपनि यसको पुष्टि भने हुन सकेको छैन।

घैंटेको हत्यापछि उनका दाजू राजू श्रेष्ठले आयोग समक्ष दिएको उजुरी भदौ ३ गते बिहान काठमाडौंको सामाखुसीमा कुमार घैंटेको हत्यापछि उनका दाजु राजु श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष पुःन पत्र पठाएर घटनाका दोषीलाई कारबाही गरिपाऊँ भनि निवेदन दिएको । सो उजुरी पत्रमा राजुले प्रहरीले इन्काउन्टरमा मारिएको भनिएपनि प्रहरीले कानुन विपरित अत्यन्तै अमानवीय ढंगबाट छाति, तीघ्रालगायत शरीरका अन्य भागमा छानिछानि गोली प्रहार गरिएको उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएर ज्यानको सुरक्षाको माग गरेकै अवस्थामा प्रहरीले एक्कासी गोली प्रहार गरेर व्यक्तिको ज्यान लिनुले राष्ट्रिय मानवअधिकार आयोगको कार्यमाथि नै प्रहरीले चुनौती दिएको आभास हुने सो उजुरी पत्रमा जनाइएको छ । सो घटनाको बारेमा सत्यतथ्य छानबिन गरी घटनामा संलग्न प्रहरीसहित घटना गराउन आदेश दिने सबैलाई कारबाही गर्न माग गर्दै घैटेका दाजुले प्रहरीमा उजुरी दिएका हुन्।

बालुवाटारमा बनेको थियो घैटे हत्याको योजना
घैंटेको हत्या गर्नुअघि गृहमन्त्री बामदेव गौतम र अर्थमन्त्री डा. रामशरण महत प्रधानमन्त्री सुशील कोइरालाको निवास बालुवाटारमा पुगेको उच्च स्रोतको दाबी छ। एमालेका तर्फबाट गृहमन्त्री बनेका बामदेव काँग्रेसका कुमार घैंटे (जो विगतमा गुण्डगर्दीमा संलग्न भएपनि पछिल्ला केही वर्ष यता सामान्य जीवन यापन गर्दै आएका छन्) उनीप्रति अत्यन्तै नकारात्मक देखिएका थिए। किन कि उनले विगतमा आफ्नै पार्टीका अध्यक्ष केपी ओलीका दाईने हात मानिने धादिङ्गका दिनेश अधिकारी (चरी) को हत्या गर्न निर्देशन दिइसके पनि त्यो घटनालाई ढाकछोप गर्नका लागि पनि अर्को व्यक्तिको ज्यान लिने योजना बुनिरहेको बताईन्छ। चरीको हत्यापछि उनीले आफूले पुरुषार्थ गरेको भन्दै विभिन्न व्यक्तिहरुसँग भन्ने गरेको चर्चा समेत नचलेको होइन। बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम र अर्थमन्त्री रामशरण महत बीचको घैटेलाई मार्ने सहमति बनेपछि गृहमन्त्रीले आफू निकट मानिने प्रहरीका एसएसपी सर्वेन्द्र खनालाई घैंटे मार्नका लागि निर्देश दिएको बताइएको छ।

महाविधेशनमा पराजय भोग्ने पिरले सुशील र रामशरणबीच घैटे मार्ने योजना
काँग्रेसको पूर्वघोषित महाधिवेशन काठमाडौंमा गर्ने निश्चित भएपछि यसबाट काँग्रेसमा सबैभन्दा चिन्तित कोही बनेका थिए भने रामशरण महत र सुशील कोइराला नै बनेको काँग्रेसीहरु बताउँछन् । विशेष गरी काठमाडौंको युवा तथा संगठनहरुमा घैंटेको राम्रो पकट रहेको कुरा काँग्रेसीहरुले राम्रैसँग थाहा पाएका थिए । सुशील कोइराला र रामशरण महतले स्पष्ट रुपमा के बुझेका थिए भने महाविधेशनका बेला कुमार घैंटेले आफूहरुलाई कुनै हालतमा सहयोग गर्दैन । बरु जतिसक्दो विगार्दछ । नुवाकोटका घैंटेको नुवाकोट का काँग्रेसका नेता एवं सभासद् जगदिश्वरनरसिंह केसीलगायत उनको परिवारसँग राम्रो सम्बन्ध रहेपछि रामशरण महतको निद नै हराउन थालेको उनी निकटवर्तीहरु बताउँछन्। सोही भएर पनि घैंटेलाई सक्न पाएदेखि त केन्द्रदेखि जिल्लासम्म आफ्नो पक्षमा जनमत बढ्ने देखेर महतले कोइरालालाई घैटे मार्नैपर्ने र त्यसका लागि प्रहरीलाई गोप्य निर्देशन दिन आग्रह गरेको बताइएको छ।

खरेललाई एक नम्बरको डिआइजी नबनाउने बामदेवको योजना
स्रोतका अनुसार गृहमन्त्री बामदेव गौतम नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेललाई कुनैहालतमा एक नम्बरको डिआइजी बनाएने सोचमा छैनन् । सोही कारणले उनले सर्वेन्द्र खनाललाई कुनै ‘बहादुरी’ काम गर्न र त्यसपछि स्वत एक नम्बरको डिआइजी बनाईदिने भनि आश्वासन दिने गरेका कारण पनि खनालले यो घटनाको नेतृत्व लिएको बताईन्छ। भलै विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा खनालले आफूलाई यस्तो विषयमा कुनै जानकारी नभएर आफूलाई कुन तहमा कसरी बढुवा गर्ने वा घटुवा गर्ने भन्ने विषय प्रहरी संगठनको विषय भएको प्रतिक्रिया दिएका छन्। यो घटनापछि खनालले ठूलो काम गरेको प्रचार गरेर उनलाई डिआइजी बनाउने खेलमा गृहमन्त्री स्वयं लागेको बताइएको छ। अर्को कुरा आजभन्दा १२ वर्षअघि खनाल डिएसपी हुँदा राजधानीको ठमेलमा घैटेको समूहले वियरको बोत्तल प्रहार गरेको र त्यही रिस साँध्नका लागि खनालले घैटेको हत्या गरी सो घटनको बदला लिएको भन्ने चर्चा पनि सुन्नमा आएको छ।

केही अनुत्तरित प्रश्न
नेपाली काँग्रेसका नेता धनराज गुरुङ नेपाली काँग्रेस खेलकुद बिभागको संयोजक बनेका बेला घैंटेलाई सो बिभागको केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी दिइएको थियो । यदि घैंटे दोषी नै थिए पनि यस्तो ठूलो पार्टी पदमा किन उसलाई राखियो ? अर्को कुरा बैशाख १२ गते गएको महाभूकम्पपछि प्रधानमन्त्री राहत र उद्दारका लागि काभ्रे जाने टोलीमा कुमार घैंटे पनि काँग्रेसका तर्फबाट खटिएका थिए । जसलाई प्रधानमन्त्रीले फूलमाला र अवीरसहित विदाई गर्नुभएको थियो । उनी गुण्डा नै थिए र प्रहरीको खोजीमै थिए भने किन उनलाई त्यतिबेला प्रहरीले समात्न सकेन ? त्यतिमात्रै होइन काभ्रेमा भूकम्पप्रभावितको घर भत्काउँदा, सामान निकाल्दा तथा राहत तथा पुर्नस्थापनामा सहयोग पुर्याउँदा उसलाई स्थानीय प्रहरीसँगै मिलेर काम अघि बढाईरहेका थिए । त्यतिबेला प्रहरी प्रशासनले के साँच्चै घैटेलाई देखेन ? वा कारबाही गर्न उपयुक्त
ठानेन ? सरकारकै एक मन्त्री सहभागी कार्यक्रममा घैटेले नै सो कार्यक्रम आयोजना गरेको तथा सरकारका मन्त्रीसँगै कुम जोडर उनी बसेको कुरा सार्वजनिक भै सकेको छ । घैटेलाई किन त्यतिबेला त्यहाँ खटिएका सुरक्षाकर्मीले परिचालन गर्न सकेनन् ? यी र यस्ता कयन् प्रश्न जो घैंटेको हत्या र त्यस अघिका घटनाक्रमसँग जोडिएका छन्, जसको जवाफ अहिले पनि अनुत्तरित् नै छ।

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने तयारी
घैटेले आफूलाई सुधार्ने बताउँदै सामान्य जीवन यापन गरिरहेकै बेला प्रहरीले गोली हानेको घटनाको यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विरोध भै रहेको छ । विदेशमा बसेका कतिपय नेपालीहरुले त्यहाँको अन्तर्राष्ट्रिय मानवअधिकार अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको बताइएको छ । विशेष गरी अमेरिका, लण्डन लगायतका देशमा रहेका अदालतमा मुद्दा दायर गर्ने तयारीमा त्यहाँ रहेका नेपालीहरुले छलफल अघि बढाईसकेका छन् । यदि यो मुद्दा अघि बढ्यो र अहिले बाहिर चर्चा गरिएजस्तै घैटेको हत्यामा सरकारका उच्च तहका पदाधिकारीको प्रत्यक्ष निर्देशन रहेको पुष्टि भएमा त्यसपछि उत्पन्न हुने परिस्थिति थप जटिल बन्ने निश्चित छ।

अन्त्यमा,
जे होस्, कुमार घैटेलाई प्रहरीले अत्यन्तै अमानवीय ढंगले हत्या गरी दोहोरो भिडन्तमा ज्यान गएको भनी प्राचारबाजी गरिरहेको छ। मानवअधिकार आयोगमा उजुरी दिई ज्यानको सुरक्षा माग गरेका व्यक्तिलाई घटनाको छानबिन हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नुले नेपालमा कानुनी राज्य र विधिको शासनको खिल्लि उडिरहेको छ। आयोगले पनि यो घटनलाई गम्भीर रुपमा लिएन वा लिन चाहेन ? यसतर्फ पनि अहिले औंला उठिरहेको छ। त्यसैले सो घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउँदा नै घैंटेको आत्माप्रति सञ्चा श्रद्धाञ्जलि हुनेमा दुई मत छैन।

(Justice For Nepal [email protected] ले पठाएको यो विवरण जस्ताको तस्तै प्रकाशित गरिएको मात्र हो। सं. एचकेनेपाल डट कम)

यो पनि हेर्नुहोस्
१२ दिनपछि घैंटेको पोस्टमार्टम...





Comments

comments

Leave a Reply

8301