प्रहरीको गोलीबाट यसरी मारिएका थिए ४ प्रदर्शनकारी

महोत्तरी, सदरमुकाम जलेश्वरमा बुधबार प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी चारैतिरबाट ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताए।

प्रहरीको गोली लागेर महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर–७ का रोहन चौधरी, जलेश्वरकै बखरी घर भएका मुसवा कापर र एकजारा गाविसका शंकर पासवानको मृत्यु भएको छ । प्रहरीकै गोली लागेर घाइते सातमध्ये जलेश्वरका वीरेन्द्र बिठासहित तीनजनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । अन्यको अञ्चल अस्पताल जनकपुर र जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

प्रहरीसँगको झडपमा २० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले हानेको ढुंगा लागेर १५ प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक राणाले जानकारी दिए।

यसरी भयो घटना
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जारी अनिश्चितकालीन आमहडतालले जलेश्वर ठप्प थियो। दैनिकजसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुने गरेको छ । बुधबार भने स्थिति तनावपूर्ण बन्यो। बिहानैदेखि गाउँगाउँबाट प्रदर्शनकारी जलेश्वरमा जम्मा भएका थिए।

दिउँसो २ बजे महेन्द्र चोकबाट जिल्ला प्रहरी कार्यालयतर्फ अघि बढेको जुलुसलाई सुरुमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेर रोक्न खोज्यो। जुलुस ठूलो थियो । दिउँसो १२ बजेदेखि नै हातहातमा लाठी, कुटो, कोदालोजस्ता घरेलु हतियार बोकेका आन्दोलनकारी महेन्द्र चोक, जलेश्वर नगरपालिका जाने सडक र जिल्ला अस्पताल जाने सडकबाट जिल्ला प्रहरी कार्यालयतर्फ अघि बढ्न खोजिरहेका थिए।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर जुलुस रोक्ने प्रयत्न गर्दागर्दै दिउँसो ४ बजे प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालयको गेटसम्म पुगेपछि प्रहरीले गोली चलाएको हो । साँघुरो गल्लीमा चारैतिरबाट आन्दोलनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताए।

प्रदर्शनकारीले महोत्तरी जिल्ला अदालतका एक नं. न्यायाधीश किरण पोखरेलको डेरामा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले बुधबार दिउँसो बलबा प्रहरीचौकीमा पनि आगजनी गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8404