यसरी पारित भयो नयाँ संबिधान

काठमाडौं, ३० भदौ। नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट नयाँ संविधान बनेको छ। संविधानसभाको बुधबारको बैठकले दुईतिहाइ मतका आधारमा नेपालको संविधानको विधेयक, २०७२ पारित गरेको हो।

सभामुख सुवास नेम्वाङले बुधबार राति ८ बजेर ५८ मिनेटमा नेपालको संविधानको विधेयक, २०७२ पारित भएको घोषणा गरेका थिए।

संविधानको विधेयकमाथि मतदान प्रक्रिया ८:१३ बजे सुरु भएको थियो। २४ मिनेटपछि ८:३७ बजे सकिएको मतदान २१ मिनेट लगाएर गणना गरिएको थियो।

सभामुखले विधेयक पारितको घोषणा गरेपछि सभासद्हरूले झन्डै आधा मिनेट ताली बजाएर र टेबुल ठोकेर स्वागत गरेका थिए। यो घोषणासँगै संविधानसभाबाट संविधान बनाउने ००७ देखि उठेको विषयले करिब सात दशकपछि मूर्त रूप लिएको छ।

संविधानको विधेयक लिखित मतदान प्रक्रियाबाट बहुमतका आधारमा पारित गरिएको हो। संविधानसभामा कुल पाँच सय ९८ सभासद् रहेकामा बुधबारको बैठकमा पाँच सय ३२ सभासद् उपस्थित थिए। तीमध्ये पाँच सय सात सभासद्ले विधेयकको पक्षमा मतदान गरे। पक्षमा मतदान गर्नेमा ठूला कांग्रेस, एमाले, एमाओवादीलगायत साना दल छन्।

राप्रपा नेपालका २५ सभासद्ले भने विधेयकको विपक्षमा मतदान गरे। राजतन्त्रात्मक शासन व्यवस्था, हिन्दूराज्य, एकात्मक शासन प्रणाली हुनुपर्ने माग गरेको राप्रपा नेपालले संविधानको आधारभूत विषयमा नै असहमति जनाउँदै विपक्षमा मतदान गरेको हो।

पाँच सय ९८ सभासद्मध्ये सभामुख सुवास नेम्वाङले मतदान गरेनन्। मतदानका क्रममा दुई पक्षको बराबर मत भए मात्रै सभामुखले मतदान गर्न पाउने व्यवस्था छ। एमाओवादी सभासद् प्रभु साह भने लिखत पत्र बुझाएर प्रक्रियाबाट बाहिरिएका छन्।

आन्दोलनरत समाजवादी फोरमका १४, तमलोपाका ११, फोरम लोकतान्त्रिकका १०, सद्भावना पार्टीका ६, तराई मधेस सद्भावना पार्टीका तीन, राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन, फोरम गणतान्त्रिकका एक, थरुहट तराई पार्टी नेपालका दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक, संघीय सद्भावनाका एक, स्वतन्त्र सभासद् चन्द्रेश्वर झा मतदानमा सहभागी भएनन्। क्यान्सरका कारण अस्पतालमा उपचाररत मधेस समता पार्टीका सभासद् मेघराज नेपाली निसाद पनि मतदानमा उपस्थित भएनन्।

संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरू र समग्र विधेयकलाई चार दिन लगाएर मतदान प्रक्रिया सम्पन्न गरिएको हो। धारा र संशोधनहरू ध्वनिमतका आधारमा निर्णयार्थ पेस गरिए पनि संविधानको विधेयक लिखित मतका आधारमा पारित गरिएको थियो।

नेपालको इतिहासमा पहिलोपटक सार्वभौमसत्ता तथा राजकीयसत्ता जनतामा निहित भएको संविधान जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको हो। नयाँ संविधानले लामो इतिहास बोकेको राजतन्त्र अन्त्यका लागि भएका आन्दोलनले राखेको उद्देश्य र उपलब्धिहरू संस्थागत गरेको छ। नयाँपत्रिका दैनिकले लेखेको छ।

६ धारा थपिए
नयाँ संविधानमा ३७ भाग, ३०८ धारा र ९ अनुसूची छन्। यसअघि विधेयकमा ३०२ धारा मात्रै थिए। पछिल्लो राजनीतिक सहमतिका आधारमा प्रमुख तीन दलका तर्फबाट आएको संशोधनलाई संविधानसभाको बहुमतले पारित गरेपछि ६ वटा धारा थपिएका हुन्। देशको राजधानी काठमाडौं हुने, मधेसी, थारू, जनजाति र मुस्लिम आयोग बनाउने र ती आयोगको १० वर्षमा पुन: मूल्यांकन गर्ने गरी ६ वटा धारा संशोधनपछि थपिएका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8622