प्रहरीले छातीमा ताकेको ‘निशाना’ छल्दै उपराष्ट्रपति बनेका पासाङ

प्रहरीको पहिलो ‘निशाना’ चुक्यो। छाती ताकेर हानिएको गोली पाखुरामा धसियो। प्रहरीले थप गोली प्रहार गर्‍यो। पैंसेरी नाच्दै गरेका मनबहादुर पुन र लोकबहादुर घर्ती प्रहरीको दोस्रो र तेस्रो निशानामा मारिए। प्रहरीको पहिलो निशाना बनाईएका थिए नन्दबहादुर (नन्दकिशोर) पुन ‘पासाङ’।

२०५१ मा मृत्यूको मुखबाट उम्किएका पासाङ शनिवार राष्ट्रको दोस्रो उच्च पद उपराष्ट्रपति बन्न सफल भएका छन्। उनका छिमेकी तथा पूर्वमाओवादी लडाकुका पूर्व कमिसार सुबास पुन भन्छन् ‘त्यो बेला पासाङ जी ठूलो कालबाट जोगिनु भएको हो, अहिले यति उँचो पदमा पुग्नु भयो।’

रोल्पामा माओवादीको द्वन्दको चर्चा बाक्लिई सकेको थियो । नन्दबहादुर त्यो बेला नेकपा एकता केन्द्र मसालमार्फत सक्रिय राजनीतिमा थिए । २०५१ मंसिर ९ गते रोल्पाको इरिवाङमा मेला लागेको थियो। गाउँका युवाहरुले त्यसअवसरमा ‘पैंसेरी’ नाच निकालेका थिए। युवा भिडको बीचमा थिए पासाङ।

मादल बजाउन खप्पिस उनले युवाहरुलाई नचाइरहेका थिए। पासाङ लगायतका त्यहाँका युवाहरुलाई त्यो बेला विभिन्न मुद्दा लागिसकेको थियो। पासाङलगायतका युवाहरुलाई पछ्याइरहेको प्रहरी त्यही मेलामा पुग्यो र नियन्त्रणको प्रयास थाल्यो। पासाङ त्यहाँबाट उम्किएर भाग्न खोज्दै थिए। प्रहरीले सुरुकै निशाना उनीमाथि लगायो।

पासाङ छलिए। उनको पाखुरामा गोली लाग्यो। उनी घाईते अवस्थामा प्रहरीको निशाना छल्दै भाग्न सफल भएका थिए। ‘त्यही मेलामा भएका दुईजना साथीहरुलाई प्रहरीले मार्यो,’ सुवास भन्छन् ‘उहाँ नभागेको भए जे पनि हुन सक्थ्यो।’ यही घटनालाई माओवादीमाथिको सम्भवतः पहिलो आक्रमण हुन सक्ने बताइएको छ।

पञ्चायतकाल देखिनै कम्युनिष्ट राजनीतिमा होमिएका थिए पासाङ। उनको राजनीति स्कुले विद्यार्थी जीवनबाटै सुरु भएको थियो। रोल्पाको राङ्सीमा कक्षा ७ मा पढ्दा उनी नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियू छैटौंको इकाई अध्यक्ष बनेका थिए। ७ कक्षा पास भएपछि पासाङ ८ कक्षा अध्ययनका लागि लिवाङस्थित बालकल्याण माविमा भर्ना भए। उनका गुरु थिए, एनेकपा माओवादीका वर्तमान महासचवि कृष्णवहादुर महरा।
महराको चेला पासाङलाई लिवाङ बसाइपछि झनै राजनीतिको नशा चढ्यो। संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गरे। यहाँसम्म की उनी पढाइमा भन्दा राजनीतिमा बढी समय दिन्थे।





Comments

comments

Leave a Reply

9197