चरीको इन्काउन्टरपछि खुश्बुको पूर्वप्रेमी अर्पण कोइराला के भन्छन् ?

आठ बर्षसंगै बस्ने ब्यक्तिको सम्बन्ध के हुन्छ ? चरीले खुश्बुलाई भाउजु भन्थ्योे
राजधानीका चर्चित डन दिनेश अधिकारी उर्फ चरीको प्रहरी ईन्काउन्टरमा मृत्यु भएपछि अहिले चरीकी प्रेमिका दाबी गर्ने खुश्बु ओली, ओलीको पूर्ब प्रेमी अर्पण कोईराला र प्रहरी निरक्षक कुमोद ढुंगेल चर्चाको शिखरमा छन् । आफ्नो पे्रमी दिनेशको सुनियोजित हत्या भएको भन्दै प्रेमिका खुश्बुले यस हत्या प्रकरणमा साथी अपर्ण कोईराला र प्रहरी निरक्षक कुमोद ढुंगेलको हात रहेको आरोप लगाइरहेका बेला रोशन पाण्डेले खुश्बुका पूर्ब प्रेमी कोईरालासंग गरेको कुराकानीको सारसंक्षेप।

अर्पण-खुश्बु

० तपाई यतिखेर कहां के गर्दै हुनुहुन्छ ?
– म अहिले ब्यापारको सिलसिलामा भारतमा छु ।

० खुश्बुले चरीको मृत्यु प्रकरणमा तपाईमाथि दोष लगाएकी छन् त ?
– मैले पनि सञ्चारमाध्यमबाट थाहा पाए दिनेशको मृत्यु भएको कुरा । साथीहरुले पनि फोन गरेर दिनेशको मृत्यु भएको बताएका थिए । मैले यो दिन आउंछ भनेर कहिल्यै पनि सोचेको थिइन् । दिनेशको मृत्युमा म दुःखी छु । उसले मलाई मार्छु भन्थ्यो, फोनमा मैलेपनि जे मुखमा आयो त्यो भन्थे, यो दुबैतिरबाट चलिरहेको थियो। राधे भण्डारीको मुद्दामा जेलसम्म हाल्नु पर्छ भनेको चांहि हो । म त्यस्तो खुवी भएको को मान्छे हुं र राज्य लगाएर दिनेशको इन्काउन्टर गराउन सक्ने ? यो खुश्बुजीको आक्रोश मात्र हो।

० तपाई र कुमुद ढुंगेलको प्रेम प्रस्ताबलाई खुश्बुले अस्वीकार गरेका कारण दिनेशको हत्या भएको आरोप लगाएकी छन् नि?
– यो हाँस्यास्पद कुरा हो, यसमा कुनै दम छैन । सारा काठमाडौंलाई थाहा छ खुश्बु मेरो गर्लफ्रेन्ड हो भनेर। गर्लफ्रेन्डलाई प्रस्ताब राख्नुपर्ने कुरा नै आउंदैन् । कुरा आयो कुमुद दाइको, उहाँलाई खुश्बु मेरो गर्लफ्रेन्ड हो भन्ने राम्रोसंग थाहा छ । अनि उहांले कसरी प्रस्ताब राख्नु हुन्छ। नचांहिदो आरोप मात्र हो । यी सबै वकवास मात्र हुन्।

० तपाई खुश्बुको राम्रो साथी र तपार्इंसग पारिवारीक सम्बन्ध मात्र हो भनेर खुश्बुले भनिरहेकी छन्, अलि कन्फ्यूज भयो नि ?
– हो म खुश्बुको राम्रो साथी हो। उहांसंग मैले नेपाल र बेलायतमा गरी ८ वर्ष संगै विताए। उहाँ र मेरो सम्बन्ध के थियो भन्ने कुरा उहाँ र मलाई चिन्ने सबैलाई थाहा छ । मैले भनिरहन जरुरी छ जस्तो लाग्दैन। ६ बर्ष बेलायतमा एउटै घरमा स“गै बस्ने ब्यक्तिको सम्बन्ध के हुन सक्छ सबैले अनुमान गर्ने कुरा हो।

० तपाई उहांसंग कसरी ८ बर्ष बस्नु भयो त ?
– म खुश्बुको घरमा बसेको होइन। उहाँ र म एउटै घरमा चांहि बसको हो। किन कि हामी एक अर्का बिना एक छिन पनि भिन्न बस्न सक्ने थिएनौं। यसको मतलब म सधै खुश्बुजीकै घरमा बसेको भनेको चांहि होइन। मेरो घरमा पनि खुश्बु र म गएर बस्थ्यौं । मेरो घरमा ड्याडी र ममी मात्र हुनुहुन्छ। बिहे नगरेको केटीलाई सधै उतै राख्दा घरमा अलि अप्ठेरो मान्न थालेका कारण म र खुश्बुजी संगै बसेका हौं । उहांको घरमा दाजु, भाउजु, माता, पिता र दाजुहरुको साथीहरु आइरहने हुंदा एक जना नयां ब्यक्ति बस्दा कसैलाई मतलब नहुने रहेछ, त्यसैले म खुश्बुको घरमा बसेको हो। नेपालमा हुंदा धेरै उहांकै घरमा बसियो।

० तपाई खुश्बुसंग बेलायतमा ६ बर्ष संगै बस्नुको कारण के हो ?
– उहाँलाई बेलायत लगेकै मैले हो। भिषा प्रोसेसिङदेखि सम्पूर्ण काम मैले नै गरेको हुं। बेलायतमा मेरो अपान्र्टमेन्ट थियो, जहाँ हामी संगै बस्यौं। अक्सफोर्ड यूनिभर्सिटीमा उनी पढ्दा लाग्ने खर्चदेखि सम्पूर्ण खर्च नै मैले व्यहोरेको हुं।

० खुश्बुले त घर जग्गा बेचेको डेढ करोड रुपैयाँले अक्सफोर्ड युनिभर्सिटीमा पढेको बताउनु भएको छ त ?
– ल ठिक छ, उहाँले घर बेचेको डेढ करोड रुपैयाँले बेलायतमा पढ्नु भएको रहेछ। उहांको डेढ करोडमध्ये दाजुको विवाहमा ६० देखि ७० लाख खर्च भएको सारा काठमाडौंलाई थाहा छ। ६ बर्षको अबधिमा उहां नेपाल ५० पटक आउने र जाने गर्नु भएको छ, त्यो पनि स्पेशल सिटमा। जसको नेपाली मुल्य एक पटक कै नौं लाख पर्न जान्छ। बेलायतमा काम नगरिकन एक दिनपनि टिक्न सकिदैन। खुश्बुजी छ बर्षसम्म कुनैपनि काम नगरी त्यहां बस्दा उहांको घर बेचेको डेढ करोड रुपैयांले पुग्छ होला त? त्यो पनि हाई प्रोफाईलमा। अनि कलेजको ट्युसन फि, उहाँको माता पितालाई स्वीट्जरल्याण्डलगायत युरोपका ८ मुलक र मलेशिया, सिङ्गापुर, दुवई जस्ता देशहरुमा पनि त्यही घर बेचेको डेढ करोडले घुम्न पुग्यो होला? तपाई आफैं अनुमान लगाउन सक्नु हुन्छ। यी त देखिने खर्चमात्र भए। यस्ता धेरै खर्च छन्, जुन खुश्बुजीको घर जग्गा बेचेको डेढ करोडले पुग्यो होला?

० तपाईको भनाई अनुसार खुश्बुको सम्पूर्ण कलेज खर्चदेखि हाई प्रोफाईल जीवन जीउन तपाईंले नै खर्च गर्नु भयो। कति खर्च गर्नु भयो त अहिलेसम्म ?
– म मायामा विश्वास राख्दछु। जिन्दगी यसरी जीउनु की अरुलाई पनि जीवन दिन सकियोेस भन्दा भन्दै म कहिल्यै पनि थाकिन। त्यो व्यक्ति म नै थिए, मेरो सामाजिक कामबाट धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पाइरहेका छन्। खाएको म भन्दिन, हाम्रो भविष्य राम्रो हुन्छ भनेर मैले उहांलाई खुसी–खुसी खर्च गरको हुं।

० तपाईंको पैसामा अक्सफोर्ड यूनिभर्सिटीबाट शिक्षा हांसिल गरेकी शिक्षित खुश्बुले चरी इन्काउन्टर काण्डमा तपाईंलाई नै मुछ्नुको कारण के हो त ?
– मैले अघिपनि भनिसके, यो दिन देख्छु भनेर मलै कहिल्यै सोचेको थिइन। म यो बिषयमा संलग्न छु भन्ने कुराले मलाई नै अचम्ममा पारेको छ। किन र के को लागि खुश्बुजीले मलाई यो आरोप लगाउदै हुनुहुन्छ मैले बुझ्न सकेको छैन्।

० आठ बर्षको सम्बन्धमा कसरी दरार उत्पन्न भयो त ?
– म मेरा परिवार, साथीहरु, एक मायालुसंग आनन्दको जिन्दगी बिताइरहेको थिए। व्यापारको शिलशिलामा भारत गएको थिएं। हामीबीच दुबैजनाको सहमतिमा एक अर्कोको फेसबुक खोल्ने गथ्र्यौं। एक दिन खुश्बुको फेसबुक खोलेर हेर्दा उहांले निकट मित्रलाई लेखेको म्यासेजमा ‘मेरो जीवनको आठ बर्ष मैले डम्ब ब्यक्तिसंग बिताएर खेर फाले, म अहिले दिनेश अधिकारीसँग मनोरञ्जनात्मक जीवन बिताइरहेको छु। उहां एकदम कुल हुनहुन्छ। हाम्रो माया हावाको रुपमा आकाशमा उडीरहेको छ।’ लेख्नुभएको रहेछ। यो पढेपछि मैले खुश्बुजीलाई गाली गरे। जीवनको पहिले गाली थियो मेरो उहाँप्रति । त्यही बेलामा दिनेशले पनि फोन गर्यो मैले त्यसलाई पनि गाली गरे। त्यहाँबाट नै दिनेशले मलाई मार्छु भन्दै हिडेको हो। यही कारणले हामी बीचको सम्बन्धमा दरार उत्पन भएको हो।

० तपाईकी शिक्षित प्रेमिकाले एक डनसग कसरी सम्बन्ध गासिन त ?
– दिनेशले खुश्बुलाई भाउजु भनेर सम्बोधन गर्दथ्यो। हाम्रो समाजमा भाउजु भनेको आमाको दोस्रो रुप हो। मलाई पनि दाजु भनेर माया गथ्र्यो। संसारमा तपाईं जस्तो मान्छे पनि हुंदो रहेछ भनेर पटक–पटक भन्ने गर्दथ्यो। दाई रमाईलो गर्न जाउ भन्थ्यो। उसले मलाई केटी साथीहरुसंग पनि भेटाउने गर्दथ्यो। त्यतिखेर उ एकछिन बाहिर गएर आउंछु भन्दै दाई त बिग्रनु भएछ, फलानो होटलमा केटीसंग छ भन्दै खुश्बुलाई नै पठाउने गर्ने रहेछ। त्यस्तो धेरै पटक गर्यो । जुन कुरा मैले पछि मात्र थाहा पाएं। अनि मसंग कारोबार गरेका व्यक्तिहरुलाई ‘अर्पण चोर हो त्यसले पैसा दिंदैन त्यसको केटीलाई अफिसमा गएर किचकिच गर्यो भने मात्र पैसा आउछ’ भनेर भड्काउदै गुण्डाहरु पठाउने रहेछ। कतिसम्म भने त्यति गरेर पनि नभई आफूपनि कतैबाट पुगेको जस्तो नाटक गरी केटी मान्छेलाई दुःख दिने होे, अर्पणसंगै हिसाब किताब गर भन्दै गाली गरेको नाटक गरेर खुश्बुको मन पगाल्ने रहेछ। अहिले म यो कुरा थाहा पाउंदै छु।

० चरीका कारण खुश्बुलाई गुमाउनु भयो, खुश्बुको कारण के–के गुमाउनु भयो त ?
– मैले खुश्बुलाई गुमाएको होइन्। खुश्बुसंगको ८ बर्षको यात्रामा धेरै कुरा सिकेको छु। एक दिन जिन्दगी नै गुमाउनु पर्छ। अरु त फिर्ता हुनपनि सक्छ तर जिन्दगी कहिल्यै फिर्ता हुंदैन। गुमाउन त मैले ८ बर्षको अबधिमा मेरो मनपर्ने काम पनि गुमाए, मेरो एनजिओ र मेरो टीम नै दुनियाँ थियो मेरा लागि। मैले जसका लागि काम गरे उनीहरुको लागि खुशी र हांसो मात्र दिई। मैले अर्पणको अर्थ अरुलाई ‘दिनु हो’ भन्ने कुरा सानै देखि बुझेको थिएं। त्यही भएर होला सायद म दिंदा दिंदा कहिल्यै थाकिन। दिएर पाउने खुसीले मलाई यति खुसी बनाउंछ कि त्यो खुसी संसारको सबै सम्पत्तिसंग पनि दाँज्न सक्दिन।

० अर्को कुरा, तपार्ईंलाई त खुश्बुले लागूऔषधको कुलतबाट बचाएर नयाँ जिन्दगी दिएको कुरा सञ्चारमाध्यममा आइरहेका छन्?
– यो सब वकवास हो। खुश्बुजीलाई भेट्दा म कुलतबाट निस्किसकेको थिए। म सन् २००५ देखि २००६ सम्म एक बर्ष भूपू एसएसपी बसन्तराज कुंवरको नार्कोनन नेपालमा बसेर कुलतबाट उन्मुत्ति भई ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिने गरेको थिएं। त्यहि शिलशिलामा राष्ट्रिय सभागृहमा ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिन जाँदा खुश्बुजीसँग भेटघाट र चिनजान भएको हो। उहां त्यतिखेर मिस टिनपनि हुनु भएको थिएन। त्यहां उप्रान्त मेरो शरिरमा लागूऔषधको कुनैपनि नशा परेका छैनन्। यो कुुरा बसन्त सरलाई पनि थाहा छ। खुश्बुजीले बजारमा मलाई सुधारेको हल्ला पिटाई रहनु भएको छ। यो सब झुटको खेती मात्र हो।

० खुश्बुसंगको सम्बन्ध कसरी गहिरिन पुग्यो त ?
– सभागृहमा भेटसंगै उहां र मबीच फोन आदन–प्रदान भयो। खुश्बुजीले मलाई पनि समाजसेवा गर्न मन छ भनेर भन्ने गर्नुहुन्थ्यो। यस्तै गफ हुंदै जांदा सम्बन्ध गहिरो हुंदै गयो।

० सेल्टर नामको सामाजिक संस्था कसको हो त ?
– यो मेरो ड्याडीले सुरु गरेको संस्था हो। ड्याडीको दुर्घटनापछि यसको अध्यक्ष म थिए। पछि खुश्बुजीले काम गर्न मन गरेपछि उहांलाई छोडिदिएको हुं।

० अन्तमा केहि भन्नु हुन्छ ?
– मेरो सोच कहिल्यै उहाँको बदनामी गर्नु थिएन। तर सहन धेरै गाह्रो हुंदो रहेछ। खुश्बुजीलाई आफू सहि भन्न त्यति सजिलो छैन। उहांकै माता पितालाई पनि सायद खुश्बुजीले मप्रति गरेको व्यवहार ठिक लागेको छैन होला। किन कि उहाँहरुको आंखामा सधै मप्रति माया थियो। तर यस्तो बेलामा खुश्बु सहि साबित हुन अर्पण गलत हुनु उचित होला? त्यसैले आठ वर्ष अर्पण कोइराला जुन घरमा भगवान भएर बस्यो आज आठ मिनेटमा नै उसलाई राक्षस भन्दा तल पुर्याइएको छ। यो सब कुरा चरीसंगको मिलेमतोमा भइरहेको थियो। (अपराध खबर डटकम)





Comments

comments

959