उत्तरतर्फका सबै नाका खोल्ने तयारीः रावल

उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतबाट इन्धनलगायत अत्यावश्यक बस्तु आयात हुन नसकेको अवस्थामा सरकार उत्तरतर्फ चीनसँग जोडिएका सबै नाका खोल्ने तयारीमा लागेको बताएका छन्।

उनले सुदूरक्षेत्रका दार्चुला र हुम्लाका सिमानाका नाकासमेत खोल्न गृहकार्य भइरहेको जानकारी दिए।

‘जहाँबाट ल्याएर जसरी भए पनि इन्धन र अत्यावश्यक बस्तु आपुर्ति गर्ने सरकारको तयारी छ, महेन्द्रनगरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘त्यसका लागि उत्तरतिरका नाका खोल्ने र चीनसँग इन्धन मात्र होइन अन्य बस्तुको व्यापार सम्झौता गर्न सरकारले तयारी गरिरहेकोछ।’

उनले केही दिनभित्रै विभिन्न माध्यमबाट नेपाल भित्रिने इन्धनको वितरण र मौज्दातबारे सार्वजनिक रुपमा जानकारी दिने व्यवस्था लागु हुन लागेको बताए।

भूपरिवेष्ठित राष्ट्रको नाताले नेपालले भारतको सीमाबाट निर्वाध आयात–निर्यात सुविधा पाउनुपर्ने कुरामा संयुक्त राष्ट्रसंघका महासचिवसमेतको धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै रावलले भारतले यसतर्फ विचार पुर्‍याउनु पर्ने बताए। ‘नेपाल पञ्चशीलको आधारमा सबै मुलुकसँग सम्बन्ध कायम गर्न चाहन्छ,’ उनले भने, ‘हामी भारतसँग समधुर सम्बन्ध चाहन्छौं, सार्वभौमसत्ता सम्पन्न देशको हैसियतमा द्विपक्षीय सम्बन्ध सुदृढ होस् भन्ने चाहन्छौं।’ आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9726