प्रहरी र गुन्डाले कब्जा गर्छन् ग्यास

भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले ‘हाम्रो भाग’ भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। सर्वसाधारण हेरेको हेर्यैा भए।

‘एक सिलिन्डर ग्यास पाउने आसमा लाम लागेको डेढ महिना भएको थियो, ग्यास पनि आयो, तर हामीले हेर्न मात्र पायौं,’ कौशलटारकी गृहिणी सम्झना प्रधानाङ्गले नागरिकसँग दुखेसो पोखिन्, ‘प्रहरी र गुन्डाले नै आएजति ग्यास कब्जा गरेपछि हामी गरिबको के लाग्छ?’

उनका अनुसार ग्यास वितरण पारदर्शी बनाउने भन्दै खटिएको प्रहरीले ‘हाम्रो भागमा १५ सिलिन्डर’ भन्दै सुरुमै छुट्ट्याएर राखे। त्यसपछि स्थानीय क्लबको हवाला दिँदै स्थानीय गुन्डाले ‘यहाँ आएको ग्यास हाम्रो क्लबले मिलाएर बाँड्छ, तर हामीलाई १० सिलिन्डर चाहिन्छ’ भन्दै ग्यास लिएर गए। प्रहरीले मूकदर्शक बनेर हेरिरह्यो।

त्यतिबेला त्यहाँ दुई सयवटा खाली सिलिन्डर लाइनमा थिए। ‘तपाईंहरू यसरी जबर्जस्ती ग्यास नलानुस्, हामीलाई पनि चाहिन्छ, हाम्रो घरमा पनि बालबच्चा छन्, भात पकाउनुपर्छ भनेर बिन्ती गर्यौंर, तर केही सीप लागेन,’ प्रधानाङ्गले भनिन्, ‘राज्य (प्रहरी) र गुन्डा नै मिलेपछि निमुखा त यसै मर्ने भइहाले।’

त्यस्तै, सल्लाधारीस्थित एक डिपोमा बाँड्न ल्याइएको ७० सिलिन्डर ग्यासमध्ये ३० सिलिन्डर स्थानीय गुन्डा र प्रहरीले जबर्जस्ती लगेका थिए। त्यहाँ चार सयभन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको थियो। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9764